७ वैशाख २०८१ शुक्रबार
अन्य

सबैकाे कथा भुइँखाट

कथा कल्पनाशील हुनुपर्छ वा वास्तविकता ? साहित्यिक क्षेत्रमा यो वर्षौंदेखिको बहस हो ।
कल्पना नगर्ने हो भने त्यो पठनका लागि आकर्षक हुँदैन भन्ने एकथरिको मत रहँदै आएको छ । यदि कथालाई कल्पनाले बुन्ने हो भने त्यो हावाले भरिएको बेलुन जस्तो हुने र जुनसुकै बेला प्याट्ट फुट्न सक्ने ठान्ने पनि धेरै छन्।

जबकि कुनै साहित्यकारले एकपटक कथा लेख्छ भने त्यो तात्कालिक समयका लागि मात्र होइन भन्ने मत पनि चर्को रूपमा उठ्दै आएको पाइन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले वर्षौंअघि लेखेका कृतिको आजपर्यन्त महत्व कायम रहनु त्यत्तिकै होइन होला !

उसो भए कुन शैली प्रयोग गरेर साहित्यको सिर्जना गर्नुपर्छ त ? लेखकले कल्पनामा डुबल्की पार्नु पर्छ या साहित्य लेखनमा वास्तविकतालाई दायाँ–बायाँ गर्न दिनु हुँदैन भन्नेमा मतभेद चुलिँदो रहेका बेला सामाजिक यथार्थतालाई जोड दिँदै आएका महेशविक्रम शाहले ‘भुइँखाट’ कथा संग्रह सार्वजनिक गरेका छन्।

कथा लेखन साहित्यिक विधाको शक्तिशाली माध्यम हो । आमपाठकलाई सशक्त तरिकाले मनोरञ्जन दिन सक्ने भएकाले नै प्राचीन समयदेखि कथाको महत्व र आवश्यकता रहँदै आएको हो । पछिल्लो समय कथाको महत्व चुलिँदा कतै यसले उपन्यासको क्षेत्र कब्जा गर्ने होइन भन्ने कुरासमेत उठ्न थालेको छ।

समाजको गति र समयको आवश्यकता बुझ्न सिपालु शाहले सातौं कृतिको रूपमा ‘भुइँखाट’लाई अघि सारेका छन् । यसअघिका ‘सटाहा’, ‘अफ्रिकन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’, ‘ज्याक्सन हाइट’ र ‘छापामारको छोरो’ कथा संग्रहभन्दा नितान्त फरक छ, उनको पछिल्लो कृति।

सरसर्ती हेर्दा ‘भुइँखाट’को अर्थ कुनै सुत्ने वस्तु जस्तो लाग्छ । तर, कथाकारले भुइँखाटलाई कुनै निर्जीवित वस्तुमा मात्र सीमित रहन दिएका छैनन् । कार्ल माक्र्सको सिद्धान्तमा भनिएझै समाजमा हुने हरेक वस्तुको महत्व लेखकले ‘भुइँखाट’मा देखाएका छन् । द्वन्द्वात्मक भौतिकवादमा उल्लेख गरिएझै हरेक वस्तु र व्यक्तिको महत्व र आवश्यकताविना समाज चल्न नसक्ने भइसकेका बेला शाहले सोही सिद्धान्तलाई टेवा पुग्ने गरी कथा संग्रहमा सबैको महत्वलाई स्वीकारेका छन्।

‘भुइँखाट’ एउटा केवल सुत्ने वस्तुमात्र होइन भनेर उनले जसरी प्रस्तुत गरेका छन् । त्यो नै लेखकको यथार्थपरक सोच हो । उनको त्यो समाजवादी दृष्टिकोण हो । हुन त ‘भुइँखाट’को प्राक्थनमै शाहले हामी सबैसँग कुनै न कुनै कथा भएको भन्दै सबैलाई समान हैसियतमा राखिसकेका छन् । सबैलाई समान हैसियतमा राख्नु नै सच्चा समाजवादी सोच हो ।
त्यसैले ‘भुइँखाट’ एउटा मनोरञ्जनात्मक कथा संग्रह मात्र नभई समाज परिवर्तनका लागि गरिएको एउटा प्रयास हो।

‘भुइँखाट’भित्रको ‘भुइँखाट’ शीर्षकको कथा पढ्दा लाग्छ– मान्छे धन, दौलतले मात्र खुसी हुन सक्दैन । कथाको पात्रमार्फत शाहले उल्लेख गरेका छन्– कोठामा बजारबाट आयातीय महँगो बडेमानको गद्दादार शैय्या हुँदाहुँदै दम्पति भुइँखाट नै प्रयोग गर्छन् । जुन पलङमाथि बसेर एक महिलाले लोग्नेको प्रतीक्षा गरिरहनु कम्ता खुसी होइन । भुइँखाटले नै हरेक व्यक्तिलाई खुसी दिन सक्छन् भन्ने उदाहरण पात्रको जोडी सोही खाटमा निरन्तर मच्चिएबाट थाहा हुन्छ।  

लेखन कलालाई एकपछि अर्को कथा संग्रहमा सुधार गर्दै लिएका शाहले पछिल्लो कथा संग्रहमा पस्किएका सबै १८ कथा पढ्न लायक छन् । कथा पढ्दा पाठकले भरपूर मनोरञ्जन त पाउँछन् नै साथै ती कथाले हरेक व्यक्तिलाई कतै न कतै जोडिरहेको पाइन्छ । ‘भुइँखाट’बाट मिल्ने आनन्द ग्रामीण बस्तीमा बस्ने एक गरिब किसानले आफ्नो जस्तो ठान्छ भने ‘सिंहदरबार’ नवसम्भ्रान्त वर्गले आफ्नो जस्तो ठान्ने कथा हो।

दिनप्रतिदिन समाजमा बढेको स्तरीकरणले विभाजनको रेखा बढाएसँगै शाहको कथा संग्रहमा समाजको स्तरीकरणलाई नियन्त्रण गर्ने कुनै उपाय फेला नपरे पनि एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्छ भन्ने पर्याप्त उदाहरण छन् । हामी सबैलाई थाहा छ– सिंहदरबार नेपालको प्रमुख प्रशासनिक निकाय हो, जहाँ देश हाँक्ने मन्त्री, उच्च पदस्थ कर्मचारी बस्छन् । अझ पछिल्लो समयको कुरा गर्ने हो भने त्यहाँ हिजोका दिनमा देश र समाजको आमुल परिवर्तन गर्ने भन्दै हिँडेका ‘कमरेड’हरूको बोलवाला छ।

ग्रामीण भेगमा कमरेडहरू परिवर्तन भएको कुनै नयाँ र नौलो कुरा नभए पनि सिंहदरबारमा भने भ्रम बाँकी नै देखिन्छ । कथाकारले हिजोका दिन एउटै युद्ध मोर्चामा बिताएका एक कार्यकर्ताले सिंहरबार पुगेको ‘नेता–कमरेड’ले आफूलाई चिन्लान् त भनी गरेको प्रश्न कम्ती मर्मस्पर्शी छैन । हिजोका ‘कमरेड’ बदलिएको भनेर पछिल्लो दिनमा भइरहेको तीव्र बहसमा शाहले घीउ थपेका छन्, ‘भुइँखाट’मार्फत।

पढाइ छाडेर जंगलमा पसेको युवा, जो दुस्मनको गोलीले अपांग भएको छ । युद्ध नै सबथोक ठानेको त्यही युवालाई हिजोका ‘कमरेड’ अचेल नचिन्ने भएका छन् । यता सिंदरबार पसेको ‘कमरेड’को आनीबानी भने पूरै बदलिएको कथामार्फत छर्लङ्ग पारिएको छ । ‘परिवर्तन बन्दुकको नालबाट निस्कन्छ’ भनेर नथाक्ने ‘नेता कमरेड’ अचेल युवतीलाई साथ लिएर हिँड्न नसक्ने भएका छन्।

कथा संग्रहमा बिग्रिएको राजनीति मात्र नभई समाजमा बढिरहेका चरित्रहीनताका कथा पनि उत्तिकै केलाइएको छ । ‘निना’ यसैको उदाहरण हो । कथाकी पात्र निना भन्छे– पुरुषहरू हाम्रा लागि ‘ट्वाय ब्वाय’ थिए । मन लागेसम्म खेल्थ्यौं । कसैलाई स्टोर गरेर पनि राख्थ्यौं त कसैलाई कच्याककचुक पारेर फाल्थ्यौं।

कथा संग्रहमा पस्किएका ‘भुइँखाट’, ‘सिंहदरबार’, ‘निना’, ‘टेपरी गाउँ’, ‘बडा डन’, ‘प्रभुको सालिक’, ‘युरी’ र ‘इन्डियान’ उत्कृष्ट कथा हुन् । फाइन प्रिन्टले प्रकाशित गरेको कथा संग्रहको मूल्य तीन सय आठ रूपैयाँ छ । शाहले आगामी दिनमा पनि यस्तै कथा पस्कन सके पक्कै पनि नेपाली साहित्य र पाठकले लाभ लिन सक्ने छन् ।
कृतिको नामः भुइँखाट
लेखकः महेशविक्रम शाह
विधाः कथा संग्रह
मूल्यः ३०८ रूपैयाँ
प्रकाशकः फाइन प्रिन्ट

प्रकाशित: २४ चैत्र २०७४ ०१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App