coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मनभरी माल्दिभ्स

खगेन्द्रप्रसाद बस्याल

‘धर्तीको स्वर्ग’को रूपमा अथ्र्याइने मुगा टापुहरूको देश माल्दिभ्समा जतिखेर हामी रमाइराखेका थियौं, राष्ट्रपति अब्दुल्ला यामिनले संकटकाल घोषणाको तयारी गर्दै थिए । साथै रहेकी छोरी प्रतिज्ञाले ठट्यौली पारामा गम खाएझैं गर्थिन्, ‘स्वर्गमा पनि संकटकाल लाग्न थाले, अब जाने कहा“ ?’ प्रतिज्ञाको कटाक्ष जताततै भद्रगोल भइराखेको विश्व परिवेशको यथार्थ हो।

खैर, योजना अनुरूप भ्रमण सकेर हामी त राजधानी मालेबाट उड्यौं, थुप्रै देशहरूले भने ‘ट्राभल एड्भाइजरी’ जारी गर्न थालिसकेका थिए । नभन्दै अपेक्षित रूपमै भोलिपल्ट संकटकाल लाग्यो पनि । सरकार र न्यायलयबीचको शक्ति संघर्ष वा प्रजातान्त्रिक अभ्यास संस्थागत हुन नसकेको माल्दिभ्समा अस्थिरता बल्झिराखेको छ । यसबारे कुनै दिन छुट्टै चर्चा गरौंला ।
 
श्रीमती रेनुका र छोरीका साथ मेरो माल्दिभ्स यात्रा भने एउटा बेग्लै सभ्यतासँग साक्षात्कारका लागि थियो । त्यसैले हाम्रो ‘बकेट लिस्ट’ धेरै महŒवकांक्षी थिएन । भुपरिवेष्ठित अझ त्यसमा पहाडि परिवेशमा हुर्केबढेका हामीले तटीय सभ्यताबाट संसार चियाउने प्रयासमा थियौं ।

प्रतिज्ञाकी साथी इसाथ साहुरिनले माले विमानस्थलमा स्वागत गर्दै हामीलाई भनिन्, ‘माल्दिभ्समा घुम्ने कुरा थोरै छन् । तर, तिनै विशेष छन् ।’

विश्वकै बढी जनघनत्व भएको सहरहरूको सूचीमा पर्छ, माले । माल्दिभ्स नपुग्दै त्यसबारे बन्ने एकखाले छापले धक्का पनि दिन्छ । किनकि झन्डै ९ वर्गकिलोमिटरमा फैलिएको सहरमा सार्वजनिक ट्याक्सी, मोटरसाइकल हुन् वा महँगा निजी गाडीहरूले मात्रै बेलाबखत ट्राफिक जाम नै हुने गर्छ ।

साउरिनको घर भिल्लीमालेमा थियो । राजधानी माले भन्नाले मुख्यतः तीन टापुहरू बुझिन्छ । एक, झन्डै डेढ लाख मानिसहरू बस्ने माले । यो यहाँको मुख्य टापु मानिन्छ । दोस्रो, मालेबाट दुई किलोमिटर पश्चिममा पर्ने भिल्लीमाले । र, तेस्रो एयरपोर्ट भएको हुल्हुले । हुल्हुलेसँग जोडिएको एउटा कृत्रिम वा अझ भनौं डुबिसकेको टापुलाई पुर्नउद्दार गरिएको टापु हुल्हुमाले पनि छ । हुल्हुमालेको सतहको धेरै अंश त त्यहाँबाट उत्पन्न हुने फोहोर संकलन गरेर बनाइएको रहेछ।

अहिले हुल्हुमालेमा नयाँ डिजाइनका अग्ला अपार्टमेन्टको व्यवसाय फस्टाएको छ । र, थुप्रै मध्यम तथा उच्च वर्गीय माल्दिभियनका सपनाको ठाउँ बनेको यो कृत्रिम टापु दिनदिनै फैलिराखेको छ । हामीहरू एक दिनभर त्यहाँ टहलियौं । उखरमाउलो गर्मीमा त्यहाँका सुन्दर बगैंचा, मस्जिद र रेष्टुराँमा बस्दै टापुमा हालसालै बनेका र बन्दै गरेका वैभवशाली अग्ला भवनहरू हेरिरह्यौं।

हुल्हुलेबाट हुल्हुमाले पुग्न झन्डै दुई किलोमिटरको बस यात्रा गर्नुपर्छ । त्यति कम दूरीमा पनि बसयात्रामा १५ मिनेट लाग्छ । यो यात्रा स्थानीयका लागि रोमाञ्चक बनेको छ । अन्यथा त्यहाँका टापुहरूमा ओहरदोहोर गर्न डुंगा चढ्नुपर्छ । मालेमा चौबीसैँ घन्टा ती सार्वजनिक डुंगा उपलब्ध छन् । रातमा बिजुलीबत्ती बालेर दिनमा जस्तै बाक्लो संख्यामा चलेका पाइने फेरीबोटहरू त्यहाँको चलायमान अर्थतन्त्र र जीवनशैलीका प्रतिबिम्ब हुन् ।

माहिबदोको दृश्य साच्चै नै लोभलाग्दो थियो । समुद्रको छेउबाट पानी छिचोलेर निस्केजस्तो बिहानीको सूर्योदय र साँझमा पानीको पल्लो छेउमा पसेजस्तो सूर्यास्तको सामुद्रिक मनमोहक दृश्य देख्दा हामी दंग पर्‍यौं । समुद्री  छालहरूबाट बालुवामा बन्दै अनि पटक पटक परिवर्तन हुँदै गरेका कलात्मक आकृतिहरू, कौडा, शंख आकारका विविध वस्तुहरू टिप्दा कालीगन्डकीमा शालिग्राम खोजेजस्तै भयो ।

सन् २०१८ को मध्यसम्ममा माले र हुल्हुलेबीच झन्डै डेढ किलोमिटर लामो चीन–माल्दिभ्स मितेरी पुल निर्माण सम्पन्न हुँदैछ । त्यसले मालेका टापुहरूमा सायद अझ रौनक भर्ने छ ।

मुस्लिम राष्ट्र भईकन पनि माल्दिभ्समा महिला सशक्तीकरण लोभलाग्दो छ । थुप्रै महिलाहरू घरबाहिरका काममा सक्रिय थिए । साउरिनले हामीलाई मालेका उद्यान र तटीय रेष्टुराँमा राती अबेरसम्म ढुक्कले घुमाएकी थिइन् । सार्वजनिक स्थानमा व्यायाम गर्न बनाइएका पूर्वाधारहरू झनै अनुकरणीय लागे ।

सन् २००४ को सुनामी आँधीबाट ज्यान गुमाउनेहरूप्रति स्मारकमा पुगेर श्रद्धाञ्जली दियौं हामीले । त्यो विपद्को सम्झना गरिरहँदा मैले हामीले झेलेको महाभूकम्पको पीडा सम्झिरहेको थिएँ ।

एक साँझ जब प्रतिज्ञा र म घुम्न निस्कियौं, रेनुका साहुरिनकी आमासँगै बसिन् । रेनुका सामान्य हिन्दी बुझ्छिन् । तर, बोल्न खासै भेउ पाउँदिनन् । साहुरिनकी आमालाई पनि टुटफुट हिन्दी आउँदो रहेछ । उपलब्ध हामी सबै दोभासेहरू बाहिर निस्केको तीन घन्टा उनीहरूले दुःख–सुखका थुप्रै बान्की मारेछन् । रेनुकाले नेपालीमै बोलिछन् । र, साहुरिनकी आमा उही टुटफुट हिन्दीमा । तर, उनीहरूको भावना र आत्मियताका लागि भाषा कत्ति बाधक बनेन ।  

माल्दिभ्सको असली रोमान्च त हामीले माले छाडेपछि बल्ल सुरु भयो । झन्डै ७५ किलोमिटर दक्षिणतर्फ रहेको माहिबदो टापुमा हाम्रो दुई दिने बसाई थियो । भिल्लीमालेमा हामी स्पिडबोट भनिने तीव्र गतिको आधुनिक डुंगा चढ्यौं ।

ट्रान्जिटमा परेका दक्षिण भारतको त्रिवेन्द्रम र कोलम्बो एयरपोर्टले नै हामीमा समुद्री जीवनका छाप छाड्न सुरु गरिसकेका थिए । माले विमानस्थलमाथि हाम्रो विमान आधा घन्टाको होल्ड हुँदा देखिएका मुगा टापुहरूको एरियल भ्युले नै पहिलोपटक समुद्र देखेका हामी झन् बढी दंग थियौं । तर, माहिबदोका लागि रवाना भएको क्षणभरमै हाम्रो आँखाले चारैतिर समुद्र मात्र देखे।

डेढ घन्टाको समुद्री यात्रामा तीन साना टापुहरू झुल्किए भने कुनै बेला ठूला–साना पानीजहाजहरू पनि । धेरैजसो त माथि आकाश र तल खुसी हुँदै नाचिरहेको भान हुने समुद्रबाहेक वरपर केही देखिएनन् । हामी तीनै जनाका लागि त्यो क्षण बेग्लै संसारमा पुगेजस्तो थियो । रेनुकाले हर्षका आँशु थाम्नै सकिनन् ।

मालेमा साहुरिनले स्वागत गर्दा भनेकी थिइन्, ‘माल्दिभ्समा अरु खोज्न होइन, आफू भेट्न सहज छ ।’ उनको भनाइको अर्थ मैले त्यतिखेर बल्ल बुझेँ । स्पिड बोटको यात्रामा हामीले समूहमा पानीमा उफ्रिंदै गरेका डल्फिनको झुन्ड देख्यौं । खासमा साँझपख अस्ताउँदो सूर्यबीच डल्फिन हेर्दै डिनर गर्ने छुट्टै प्याकेजहरू माल्दिभ्समा चर्चित छन् । हाम्रा लागि त्यो माहिबदो यात्रामै बोनसका रूपमा जुट्यो ।

माहिबदो यति सानो थियो कि डुंगाबाटै त्यहाँ के–के छ भन्ने छनक परैबाट भेटिन्थ्यो । एउटा मोबाइल टावर, फुटबल मैदान, सानो मस्जिद, स्कुल र अस्पताल माहिबदोमा थिए । यी यहाँका सर्वसाधारण बस्ने टापुका आधारभूत पूर्वाधार रहेछन् ।

स्थानीय जनजीवन बुझ्ने हेतुले हामीले रिसोर्ट टापुको विकल्पको रूपमा स्थानीय जीवनशैली समेत भएको टापु माहिबदो छानेका थियौं । माल्दिभ्सका एक हजार बढी टापुहरूमध्ये एक सयजतिमा सिंगो टापु एउटा रिसोर्टका रूपमा छ । त्यत्तिकै संख्यामा स्थानीयहरू बसोबास गर्ने टापुहरू छन् भने बाँकी कुनै व्यावसायिक प्रायोजन त कुनै त्यत्तिकै छाडिएका छन् ।

हुनलाई माहिबदो अलिफ दाल प्रशासनिक क्षेत्रको राजधानी हो । तर, निकै सानो । क्षेत्रफल नै ०.१८ वर्गकिलोमिटर भने जनसंख्या झन्डै दुई हजार मात्र । आराम गर्नुभन्दा घुमिरहनु नै थकाई मेट्नु हो भन्ने लाग्यो।

तर, एक फन्को लगाउन आधा घन्टा पनि नलाग्ने । चारैतर्फ अनकन्टार समुद्र मात्र देखिने त्यो ठाउँमा त्यति थोरै माटो कसरी बचिराख्यो होला ? त्यहाँ सभ्यता कसरी पुस्तौंपुस्ता कटिरह्यो होला ? नेपालका विकट पहाडमाझैं समुद्रबीचमा पनि त उस्तै संघर्ष होला ? मेरा मनमा जिज्ञासाहरू खेलिरहे, जसको जवाफ मैले आफैभित्र अनुभूत गरिरहें ।

भुमध्यरेखाभन्दा झण्डै चार सय पचास किलोमिटर मात्र उत्तरतर्फ पर्छ, माहिबदो । चरामा काग र जनावरमा बिरालो बाहेक केही देखिएनन् । गाडीका आवाज त सुनिएनन् नै । त्यहाँ पिउने पानी उस्तै महँगो थियो । होटलमा समेत दिनको एक–दुई बोतलभन्दा बढी पानी पिए बिलमा लेखिन्थ्यो । हाम्रा लागि त त्यो नयाँपन थियो । तर, पूरै माल्दिभ्सको जीवनको अविच्छिन्न पाटो ।

तटमै भएकाले हाम्रो कोठाबाटै समुद्र देखिन्थ्यो । माहिबदोको त्यो शान्त वातावरणमा कुनैबेला झ्यालबाटै त कुनैबेला किनारमै गएर छालसँग खेल्दै रमाइयो । त्यहाँ रुखमा बनाइएको झोलुंगेमा सुत्दै पुस्तक पढ्न वा एकैछिन भए पनि निदाउँदाको आनन्द अनुपम थियो ।

एक साँझ होटलका मालिक दम्पतिले हाम्रो लागि समुद्री किनारमै ‘क्यान्डल लाइट डिनर’को व्यवस्था गर्दै थिए, त्यही साँझ समुद्री सतह एक्कासी बढेर आयो । सुनामीजस्ता थुप्रै समुद्री आँधी झेलिसकेको टापुमा कतै त्यस्तै केही हुन लाग्यो कि भनेर हामी त एकछिन आत्तियौं नै । हावाको चापका कारण समुद्रको असामान्य रूप देखिनु सामान्य हो भन्दै होटलका कर्मचारीहरूले सम्झाएपछि बल्ल चैनको सास फे¥यौं र ढुक्कले निदायौं ।
 
माहिबदोको दृष्य साच्चै नै लोभलाग्दो थियो । समुद्रको छेउबाट पानी छिचोलेर निस्केजस्तो बिहानीको सूर्योदय र साँझको समयमा पानीको पल्लो छेउमा पसेजस्तो सूर्यास्तको सामुद्रिक मनमोहक दृश्य देख्दा हामी दंग प¥यौं । समुद्री  छालहरूबाट बालुवामा बन्दै अनि पटक पटक परिवर्तन हुँदै गरेका कलात्मक आकृतिहरू, कौडा, शंख आकारका विविध वस्तुहरू टिप्दा कालीगन्डकीमा शालिग्राम खोजेजस्तै भयो ।

अनेकखाले प्रदूषणको सास्ती खेपिरहेका हामीहरूका लागि तीबाट मुक्त भएर समुद्र किनारमा पढ्न एवं आफ्ना प्रियजनसँग समय बिताउन पाउनु सौभाग्य नै हो । यसैले त विश्वका अधिकांश नवविवाहित जोडीहरूको रोजाई माल्दिभ्स हुँदो रहेछ ।

समुद्रमा नौका विहार मात्र नभई विभिन्न प्रविधिको प्रयोग गरी घन्टौं समुद्रभित्र प्रवेश गरी समुद्रभित्रको संसार हेर्नका लागि पनि माल्दिभ्स प्रख्यात छ । प्रतिज्ञाले २० फिट समुद्रमुनि पुगेर स्कुबा डाइभिङ गरिन् । खासमा हाम्रो होटलका मालिक माल्दिभ्सकै प्रख्यात स्कुबा ड्राइभर तथा प्रशिक्षकमध्ये एक थिए । तर, उनीहरू पानीभित्र छिरेदेखि ननिस्केसम्मको एक घन्टा हामी तटमा बसेर आत्तियौं । प्रतिज्ञा बाहिर निस्केपछि ठूलै काम फत्ते गरेजसरी अँगालिन आइन्, बल्ल हामीले ढुक्कको सास फेर्‍यौं ।
 
माल्दिभ्सको अर्थतन्त्र नै पर्यटन र मत्स्य व्यवसायमा टिकेको छ । राजनीतिक अस्थिरता पछिल्ला वर्षहरूमा त्यहाँ बढी नै देखिन्छ । तर, त्यसले पर्यटन र मत्स्य व्यवसायमा कुनै प्रभाव पार्दो रहेनछ । पयर्टन व्यावसायी हुन् वा सरकारी अधिकारीहरू सबैको पयर्टनप्रतिको संवेदनशीलताबाट त्यो प्रस्टै झल्किन्छ । उनीहरूको प्रतिव्यक्ति आय दक्षिण एसियाकै सबैभन्दा उच्च अर्थात् झन्डै १० हजार अमेरिकी डलर छ । स्कुले शिक्षा निकै बलियो छ । त्यसकारण त्यहाँको साक्षरता दर ९९ प्रतिशत छ ।

उच्च शिक्षाका लागि भने धेरै भारत र अन्य मुलुकहरू पुग्छन् । मलाई लाग्यो, यहाँको व्यवसायका लागि सबैले ठुल्ठूला डिग्रीभन्दा पनि आधारभूत शिक्षासँग पयर्टकीय र मत्स्य व्यवसायको सीप–तालिमको अर्थ धेरै छ । त्यसैले माल्दिभ्सको उच्च शिक्षाका पूर्वाधारमा धेरै लगानी नगरिएको होला ।

पछिल्ला वर्षमा जव जलवायु परिवर्तनका कुराहरू उठ्छन् दुई भिन्न परिवेश तर एउटै मर्मसाथ माल्दिभ्स र नेपाल जोडिन्छन् । समुद्री सतह बढिरहेकाले ‘माल्दिभ्सको आयु धेरै छैन’ भन्ने हल्ला सुन्न थालेको पनि केही वर्ष भइसकेको छ ।

म अझै सम्झन्छु, छोराछोरी सानै छँदा मैले एटलस र सामान्य ज्ञानको सहाराले उनीहरूलाई टापुहरूको देशबारे सुनाएर रोमान्चित पारेका क्षणहरू । सायद यो पटक हामीलाई रोमान्चित पार्न खोजिराखेका उनीहरूले जागिरबाट सेवानिवृत्त हुँदा हाम्रा लागि साँच्चिकै माल्दिभ्सको यात्रा जुराइदिएका थिए ।

उबेला उनीहरूलाई माल्दिभ्सको व्याख्या कसरी गर्थें भन्ने मलाई राम्रोसँग याद छ । जतिखेर इन्टरनेट अहिलेजस्तो सशक्त र सर्वसुलभ थिएन, मैले उनीहरूलाई बुझाउने माल्दिभ्स सिर्फ पुस्तक, नक्सा र मनमा बसेको छापका भरमा हुन्थ्यो । सायद त्यसमा मेरा आफ्नै केही कल्पना र अनुमान मिश्रित हुन्थे । म माल्दिभ्स पुगेरै फर्केजसरी ढुक्कले तिनको व्याख्या गर्थें, छोराछोरीहरू सुनेर मज्जाले दंग पर्थे । यसपटक म साँच्चै माल्दिभ्स पुग्दा भने ममा जिज्ञाशा झन् बढी चुलिएको थियो ।

प्रकाशित: २४ चैत्र २०७४ ००:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App