४ वैशाख २०८१ मंगलबार
समाज

मह शिकार महोत्सव हुँदै

बागलुङ (रासस)- पर्यटकलाई आकर्षित गर्न गलकोट नगरपालिका–४ स्थित निलुवामा ‘मह शिकार (हनी हन्टिङ)’ महोत्सव शनिबारबाट शुरु हुनेभएको छ।

निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन समितिको आयोजनामा हुने सो महोत्सवमा निलुवाका मौरी भिरमा रहेका २० भन्दा बढी मौरीका गोलाबाट मह काढिने समितिका अध्यक्ष ओमकार सुवेदीले बताए।

उनले परम्परागत प्रविधि अपनाएर मात्र महको शिकार गरिने बताउँदै अनुभवी र दक्ष मह शिकारीले मात्र शिकारमा भाग लिनेछन्।

“अग्ला भिरपहरामा चढेर मह काढ्नु साहस र कौशलको काम हो”, अध्यक्ष सुवेदीले भने, “यसले पर्यटकलाई पनि लोभ्याउँछ।”

गलकोटका पहरामा भिर मौरी पाइने भए पनि पहिलो पटक यसरी मह शिकार महोत्सव गर्न लागिएको हो । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महोत्सवले टेवा पुग्ने विश्वास लिइएको छ।

महोत्सवले निलुवा क्षेत्रको पर्यटन प्रवद्र्धन हुने आयोजक समितिका सदस्य ईश्वर सुवेदीले बताए। “विरलै हुने गरेको मह शिकार गलकोटमा गर्दैछौँ”, उहाँले भन्नुभयो, “पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने हाम्रो विश्वास छ।”

महोत्सवका लागि गलकोट नगरपालिका, निलुवा समाज जापान लगायतका संघसंस्था र व्यक्तिले आर्थिक सहयोग गरेका छन्। हालसम्म रु एक लाख ८० हजार संकलन भएको आयोजकले जनाएको छ।

भिर मौरीको मह स्वास्थ्यवद्र्धक मानिने हुँदा यसको व्यावसायिकीकरणको सम्भावना उच्च रहेको वार्ड नं ४ का अध्यक्ष बलबहादुर खत्रीले बताए। “गलकोटको धेरै ठाउँमा भिर मौरी भए पनि मह काढ्ने गरिएको छैन”, उनले भने, “महोत्सवले मह शिकार हेर्ने अवसर पनि जुटाएको छ।”

अग्ला र कहालिलाग्दो भिरमा मह शिकार गरेको दृश्यले सबैलाई आकर्षित गर्ने उनको भनाइ छ। शिकार नगर्दै मह किन्नका लागि माग आइरहेको आयोजकले जनाएको छ।

महोत्सव अवलोकनका लागि पुग्ने पर्यटकलाई महका साथै स्थानीय परिकार खुवाउने तयारीमा आयोजक छ । पछिल्लो समय निलुवा प्राकृतिक सुन्दरतायुक्त पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ। निलुवाको पर्यटन विकासमा स्थानीय आफै जुटेका छन्। वनभोज, दृश्य छायांकन र अवलोकन भ्रमणका लागि निलुवा रोजाइमा पर्ने गरेको छ। लेकाली हावापानीमा अवस्थित निलुवामा पर्यटकीय पूर्वाधारको अभाव छ। बागलुङ सदरमुकामदेखि ४५ किमी गाडीको यात्रापछि निलुवा पुग्न सकिन्छ।
 

 

प्रकाशित: २३ चैत्र २०७४ १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App