८ वैशाख २०८१ शनिबार
समाज

निःशुल्क उपचारका नाममा पीडा मात्रै

धादिङ – निःशुल्क भन्ने साथ मानिसहरू जतिसुकै टाढा र जुनसुकै महत्वपूर्ण काम पन्छाएर सेवा लिन आतुर रहन्छन्। जतिसुकै धन सम्पति होस तर निःशुल्क सेवाको सदुपयोगमा लाग्ने गर्छन्। अहिले विभिन्न संघसंस्था तथा सरकारले पनि निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदानका लागि गाउँगाउँमा शिविरको आयोजना गर्ने गरेका छन्। निशुल्क सेवा लिनका लागि टाढा टाढाबाट धाएर उपचारका लागि आउने गर्छन्। तर त्यही निःशुल्क सेवा लिने नाममा धेरैले पीडा सहनु परेको उदारहणहरू पनि प्रशस्त मात्रामा भेटिन्छन्।  

धादिङमा पनि त्यस्तै उदाहरण भएको छ। निशुल्क रुपमा उपचारको सुविधा पाउने आसाले जिल्ला अस्पताल धादिङबेसीमा पुगेका नीलकण्ठ नगरपालिका ९ काफलपानीका तुलबहादुर परियारलाई उपचार होइन पीडा थपिएको छ। हाइड्रोसीलका रोगी परियारलाई निःशुल्क अप्रेशन हुन्छ भन्ने थाहा पाएपछि खुशीको सिमै रहेन्। गएको चैत १ गते शिविर चलेकै बेला हाइड्रोसीलको निःशुल्क अप्रेशन गरे। अप्रेशनपछि रोग निको होला भनेको त न् घाउ दुख्दै गएको परियारले बताए। ‘निःशुल्क भनेर अप्रेशनका लागि आइयो’, परियारले भने, ‘निःशुल्क उपचारका नाममा झन पीडा थपिएको छ।’ अप्रेशन गरेको ठाउँमा लगाइएको टाँका फाट्ने, घाउ पाक्ने र अत्याधिक दुखाइ हुने भएपछि उनी अस्पतालमै भर्ना भएरै उपचार गराइरहेका छन्।

हाइड्रोसीलको निःशुल्क अप्रेशन हुने भनेपछि जिल्लाका विभिन्न ठाउँबाट १ दर्जनभन्दा बढी बिरामीहरू अस्पतालमा आएका थिए। निशुल्क अप्रेशन पनि गरे तर भोलिपल्टबाट नै झन पीडा थपियो। अहिले परियार लगायत अन्य ८ जना बिरामीहरू जिल्ला अस्पताल धादिङबेसीमा भर्ना भएरै उपचार गराइरहेका छन्। अप्रेशन गरेको घाउको उपचार तथा ड्रेसिङ गराउन १० जना दैनिक अस्पताल आउजाउ गरिरहेका छन्। अप्रेशन गरेको ठाउँमा पाक्न थालेपछि केही अस्पतालमै भर्ना भएर उपचार गराइरहेका छन् भने केही अस्पताल धाएर घाउ सफा गरिरहेका छन्। सामान्यतया हाइड्रोसील अप्रेशन गरेको केही घण्टा पछि घर जान सकिने भएतापनि स्वास्थ्यकर्मीहरूको लापरवाहीले गर्दा जिल्ला अस्पतालमा अप्रेशन गरेका बिरामीहरूको घाउ पाकेको आरोप लगाएका छन्।

हाइड्रोसीलको निःशुल्क अप्रेशन हुने भनेपछि जिल्ला अस्पताल आएका नीलकण्ठ नगरपालिका २, साँखुका खड्कबहादुर थापा मगरको पनि उही समस्या छ। उनी अहिले जिल्ला अस्पतालको बेडमा छन्। अप्रेशन गरेको भोलिपल्ट देखि उनलाई अर्को समस्या आइपरेपछि अस्पतालमै भर्ना हुनुपरेको उनले बताए। ‘काठको काम गर्दा ठक्कर लागेर हाइड्रोसील भएको थियो, निःशुल्क भनेर अप्रेशनका लागि आए’ मगरले भने, ‘अस्पतालमा भर्ना भएकै १२ दिन भइसक्यो तर अहिलेसम्म पनि दुखाई कम भएको छैन।’ हाइड्रोसील हुदाँ खासै दुःख र पीडा नभएपनि अप्रेशनपछि पीडा थपिएको परियारको भनाई छ।

हाइड्रोसीलको रोगबाट पूर्ण रुपमा निको हुने आशा बोकेर स्वास्थ्य शिविरमा धाएका कतिपय अस्पतालको बेडमा छटपटाइरहेका छन्। अस्पतालमा भर्ना भएका बिरामीहरुले चिकित्सकहरूको लापरवाहीले दुख भोग्नु परेको बताएका छन्। अप्रेशन गरेका उपकरणहरू सफा नभएकाले धेरै जनाको घाउ पाकेको बिरामीहरूले आरोप लगाएका छन। यता जिल्ला स्वास्थ्य कार्यलयले भने अप्रेशन र उपचारमा कुनैपनि लापरवाही नभएको तर अप्रेशनपछिको हेरचाहमा हेलचेक्राइ भएकाले समस्या उत्पन्न भएको बताएका छन्।

शरीरको कुनै पनि थैलोमा असामान्य तरिकाले तरल पदार्थ भरिने अवस्था वा अण्डकोषको थैलीमा पानी भरिनुलाई हाइड्रोसिल भन्ने गरिन्छ। कसैकसैलाई यसले लामो समय पिरोल्छ, खास गरेर लुकाएर राख्दा वा उपचार पद्धतिबारे थाहा नहुँदा यस्तो रोगले सताउने गरेको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेण्ड गौरभ महतोले बताए। ‘विशेषतः उमेर ढल्केका र गर्मी ठाउँमा काम गर्ने मानिसमा हाइड्रोसिलको समस्या बढी देखिन्छ’ महतोले भने, ‘भरतपुर सामुदायिक अस्पतालका वरिष्ठ सर्जनहरूको उपस्थितिमा भएको हाइड्रोसिल अप्रेशनमा स्वास्थ्यकर्मीको लापरवाही भएको छैन।’ कहिले काही उमेर र बिरामीको स्वास्थ्यगत अवस्थाका कारणले हाइड्रोसिल अप्रेशन पछि घाउ निको हुन समय लाग्ने गर्दछ तर यो पटक देखिएको समस्या अलि गम्भीर नै भएको महतोले बताए।

जिल्ला स्वास्थ्य कार्यलयले प्रतिव्यक्ति उपचार गरे बापतको पैसा तिर्ने गरि भरतपुरबाट चिकित्सकहरू ल्याएर उपचार गराएका थिए। कार्यलयले यस वर्षको कार्यक्रम अनुसार धादिङ जिल्लाका ३ ठाउँमा निःशुल्क हाइड्रोसिलको उपचार शिविर राखेको थियो। जसमध्ये सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा ५ जना, मैदी स्वास्थ्य चौकीमा २९ जना र जिल्ला अस्पताल धादिङमा ३४ जनाको सफल शल्यक्रिया गरिएको थियो। सल्यानटार र मैदीमा अप्रेशनपछि बिरामीहरू खुसी भएर घर फर्किएका थिए भने जिल्ला अस्पताल धादिङबेसीमा अप्रेशन गरेको बिरामीहरूमा भने समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठले बताए। शिविर चलेको दिनमा पानी परेका कारण अप्रेशन पश्चात बिरामीहरू घर फर्किदा पानीको संक्रमण फैलिएर रोग बल्झिएको श्रेष्ठको भनाई छ।

प्रकाशित: २३ चैत्र २०७४ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App