coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्डिकेट बलमा दोब्बर भाडा

काठमाडौं- सरकारी दरअनुसार काठमाडौंदेखि झापा, बिर्तामोडसम्मको बसभाडा प्रतिव्यक्ति ९ सय ३८ रुपैयाँ हो। तर, मंगलबार बिर्तामोडबाट काठमाडौं आएका सुजन काफ्लेले प्रतिव्यक्ति १ हजार ४ सयका दरले तीन जनाको भाडा ४ हजार २ सय रुपैयाँ तिरे।

साकिरा यातायात प्रालिद्वारा सञ्चालित 'हायस' मा बिहान साढे ६ बजे बिर्तामोडबाट हिँडेका काफ्लेले यातायात व्यवस्था विभागले निर्धारण गरेको दरभन्दा ४ सय ६२ रुपैयाँ बढी भाडा बुझाउनुपर्‍यो। साकिराले काफ्लेलाई उपलब्ध गराएको टिकट नम्बर ४९० मा बस नम्बर ८६४१ मात्र उल्लेख छ।

एक जना यात्रुसँग सरकारी दरभन्दा झन्डै ५ सय रुपैयाँ बढी लिएपछि काफ्लेले भाडादरअनुसार जम्मा रकम ९ सय ३८ हुनुपर्ने विषयमा प्रश्न गरेका थिए तर साकिरा प्रालिले सरकारको भाडादर अहिलेसम्म नआएको र समितिले निर्धारण गरेको भाडादरअनुसार १ हजार ५ सयबाट सय रुपैयाँ छुट दिइएको भन्दै तीन जनाको भाडाबापत ४२ सय रुपैयाँ उठाएको जबाफ दिएको उनले बताए।

साकिरामा यात्रा गर्ने काफ्ले जस्तै सप्तकोसी बस, मिनिबस, माइक्रोबस व्यवसायी संघद्वारा सञ्चालित हायसमा काठमाडौंबाट उर्लाबारीसम्म आइतबार यात्रा गरेकी धनमाया कट्टेलले समेत सरकारी भाडादरभन्दा ४ सय ७० रुपैयाँ बढी तिरिन्। सरकारी भाडादरअनुसार उर्लाबारीसम्मको भाडा ८ सय ३० रुपैयाँ छ। तर उनले १३ सय रुपैयाँ भाडा तिरेको उनलाई उपलब्ध गराइएको टिकट नम्बर २१५९० मा स्पष्ट लेखिएको छ।

यी दुई बस व्यवसायी संघले मात्र होइन, बनेपा–सिन्धुली–बर्दिबास हुँदै काठमाडौंबाट पूर्व जाने सबै बस व्यवसायी संघअन्तर्गत सञ्चालित बसले यात्रुसँग सरकारी भाडादर भन्दा दुई गुणासम्म बढी भाडा असुल्दै आएका छन्।

पूर्वक्षेत्र चल्ने यातायात संघहरुले सिन्डिकेट लाद्न  सबै समितिअन्तर्गत सवारीले भाडामा एकरुपता कायम गर्ने गरी नयाँ भाडादर निर्धारण गरेका छन्।

काठमाडौं बिपी पूर्वाञ्चल यातायात समन्वय समितिमा आबद्ध संस्थाका प्रतिनिधिले सिन्धुली हुँदै पूर्व तर्फ जाने विभिन्न २० स्थानको भाडादर निर्धारण गरेका हुन्। समितिले निर्धारण गरेको भाडादरअनुसार कुनै संस्थाले कम दरमा टिकट काटेमा ५ हजारसम्म जरिवाना गर्ने निर्णय गरेका छन्। समितिले गत साउन १० गतेबाट लागू हुने गरी आफूअन्तर्गतका सबै व्यवसायीलाई भाडा उठाउन निर्देशन दिएको छ।

समितिले निर्धारण गरेको भाडादरमा सबैभन्दा बढी हिलेसम्मका लागि १ हजार ६ सय रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ। तर सरकारले काठमाडौंदेखि हिलेसम्मका लागि एक हजार ८५ रुपैयाँ भाडा निर्धारण गरेको छ। त्यस्तै, पूर्वतर्फ जाने क्रममा यात्रुले बर्दिबाससम्मको २ सय किलोमिटरको यात्राका क्रममा भाडाबापत ५ सय ३३ रुपैयाँ तिर्नुपर्ने भाडादर सरकारले निर्धारण गरेको छ। तर, व्यवसायीले गरेको निर्णयअनुसार बर्दियासम्म यात्रुले ८ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ।

काठमाडौंबाट सिन्धुली हुँदै बर्दीवास, जनकपुर, विराटनगर, धनकुटा, काँकडभिट्टा, हिले, राजविराज, जलेश्वर, इटहरी लगायत क्षेत्रमा  जाने यात्रुसँग सिन्डिकेटवालाले सरकारले निर्धारण गरेको भन्दा झन्डै दोब्बर बढी भाडा असुली गर्न थालेका हुन्। सरकारले निर्धारण गरेको भाडादरभन्दा दोब्बर भाडा कायम गरेको सिन्डिकेटवालाहरुको भाडादर र माइन्युटको कपी नागिरकसँग सुरक्षित छ।

सिन्डिकेटवालाहरुले सामूहिक रुपमा गरेको माइन्युटमा 'साउनबाट भाडामा एकरुपता कायम गरी टिकट काट्ने व्यवस्था गरिएको छ। कुनै संस्थाले कम दरमा टिकट काटेको भेटिए त्यस संघको सम्बन्धित प्रतिनिधिले समितिलाई जरिवानास्वरुप ५ हजार बुझाउनुपर्ने भनी सर्वसम्मतबाट पारित गरियो,' उल्लेख छ।

गत ४ साउनमा बसेको नेपाल दिवा तथा रात्रिबस टिकट बुकिङ सञ्चालक मजदुर संघको बैठकले काठमाडौं बिपी पूर्वाञ्चल यातायात समन्वय समितिमा आबद्ध संस्थाहरूका प्रतिनिधिले समान दरमा भाडा उठाउने निर्णय गरेको हो। उनीहरुले भाडादरमा एसी र मनोरञ्जन शुल्कसमेत जोडेका छन्।

विभागले डिलक्स सुविधा भएका बसले निर्धारित दरमा २० प्रतिशतसम्म बढी रकम लिनसक्ने व्यवस्था गरेको छ। व्यवसायीले सोही बुँदा टेकी सबै बसमा एसी र मनोरञ्जन शुल्क भन्दै रकम थप गरेर भाडा कायम गरेका छन्। नियमअनुसार डिलक्स सुविधा भएको बसका विवरण ब्लुबुकमा नै लेखेको हुनुपर्छ तर पूर्वतर्फ चल्ने गाडीहरुको ब्लुबुकमा त्यस्तो सुविधा नरहेको विभागका कर्मचारी बताउँछन्। व्यवसायीले एसी र मनोरञ्जनका नाममा ४० प्रतिशतभन्दा बढी रकमसमेत असुलिरहेको उनीहरुले नै निर्धारण गरेको भाडादरमा स्पष्ट देखिन्छ।

विभागका प्रवक्ता वसन्त अधिकारीले सरकारी भाडादर भन्दा बढी रकम उठाएको पाइए कानुनअनुसार कारबाही गर्ने बताए। 'यो विषयमा गुनासो आइरहेको छ, अब अनुगमन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनेछौँ,' उनले भने, 'कसैले पनि सरकारले निर्धारण गरेको भाडादरभन्दा बढी रकम उठाउन पाउँदैन।' उनले बढी भाडा असुल्नेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाहीस्वरुप ५ हजार जरिवाना गर्ने बताए। उनले यात्राका क्रममा कुनै सवारीले बढी भाडा असुले तुरुन्तै विभागको फोन नम्बर ४४७९९९४ मा उजुरी गर्न तथा ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गर्नसमेत आग्रह गरे।

प्रकाशित: ९ भाद्र २०७३ ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App