८ वैशाख २०८१ शनिबार
समाज

नगरपालिकाले थाल्यो ‘त्रियुगा सभ्यता’बारे बहस

त्रियुगा सभ्यताबारे धारणा राख्दै मेयर बलदेव चौधरी। तस्बिरः नागरिक

उदयपुर – उदयपुरेका लागि अहिलेसम्म ‘अभिशाप’ बन्दै आएको त्रियुगा नदीलाई बहुउपयोगी बनाउन त्रियुगा नगरपालिकाले गुरुयोजना तयार गरेर अघि बढ्ने तयारी गरेको छ। नदीको दीगो व्यवस्थापन गर्दै अभिशापलाई ‘बरदान’ सावित गर्ने उदेश्यले नगरपालिकाले ‘त्रियुगा सभ्यता’ बारे वहस समेत थालेको छ।

वर्षेनी आउने बाढीले खेतीयोग्य जमिन कटान गर्नुका साथै व्यापक जनधनको क्षति गर्दै आएको त्रियुगा नदीको दीगो र भरपर्दो व्यवस्थापन गर्न नगरपालिकाले त्रियुगा सभ्यता नाम दिएर वहसको थाली गरेको हो। नदी व्यवस्थित गरेर स्थानीयबासीको हित अनुकुल बनाउँदै बहुउपयोगी सावित गराउन केन्द्रित भएर यो शीर्षकमा सरोकारवाला र स्थानीयबासीको सहभागितामा प्रत्यक्ष वहस थालनी गरेको मेयर बलदेव चौधरीले बताए।

बुधबार त्रियुगा नगररपालिका ६ र ८ को सीमास्थल साविक देउरी उत्तराहीटोलस्थित सरस्वती खाटमन्दिर परिसरमा सुरु वहसको थालनी गर्दै मेयर चौधरीले स्थानीयबासीको प्रत्यक्ष संलग्नतामा नदीको संरक्षण, कटान रोकथाम, उपयोगिता र यसको सभ्यताबारे सार्वजनिक वहस थालनी गरेको बताए। चौधरीले नदीको ऐतिहासिक पृष्ठभूमि र यसले  गर्ने फाईदा र नोक्शानी विषयमा स्वयं नगरबासीबाट सुझाव र धारणा संकलन गरेर गुरुयोजनाको कार्यान्वयन गराउन वहस थालिएको बताए।

उनले त्रियुगाको शीरदेखि दोभानसम्मको ४२ किलोमिटर दूरीमा दुवैतर्फ जैविक प्रविधिको बाँध बाँध्दै सिंचाई, विद्युत र खानेपानी सुविधाजस्ता बहुउपलब्धी हासिल गर्न गुरुयोजना तयार गरिएको बताए । यसो गर्दा नदी व्यवस्थित हुनुका साथै दीगोरुपमा फाईदा लिन सकिने र नियन्त्रण हुने हुँदा नोक्शानी कसैलाई नहुने गुरुयोजनाले निर्दिष्ट गरेको छ।

त्रियुगा नगरपालिका ७ को कालीखोलादेखि चौदण्डीगढी नगरपालिका २ सुन्दरपुरसम्म ४२ किलोमिटर दूरीमा दायाँबायाँ बाँध बाँधेर चुरेबाट आउने शाखा खोला खहरेको पानी संकलन गर्ने इस्टीमेट पनि गुरुयोजनामा समेटिएको छ। सो दूरीभित्र बाँधसँगै किनारैकिनार सडक बनाउने, सो दूरीभित्र २७ वटा पुल बनाउने उदेश्य गुरुयोजनाभित्र समेटिएको जानकारी मेयर चौधरीले दिए। नदीले वर्षेनी बालुवा ल्याएर थुपार्ने गरेका कारण उजाड देखिएको बगर व्यस्थापन गर्न सके कम्तीमा २ हजार २ सयदेखि बढीमा ५ हजार हेक्टरसम्म नदीउकासबाट खाली जमिन निस्कने मेयर चौधरीको अनुमान छ। नदी उकासबाट निस्कनो जग्गाको भूउपयोग गर्दै त्रियुगा तटलाई कृषि, पर्यटन, आवास र विमानस्थल बनाउन प्रयोग गर्ने योजना पनि अघि बढाइने भएको छ।

उपमेयर देवीकुमारी चौधरीले त्रियुगा नदीको व्यवस्थापन गर्न नगरपालिकालाई सबैको साथ सहयोग चाहिने बताइन्। थारुको जातीय र परम्परागत सम्पदासँग त्रियुगाको भावनात्मक सम्बन्ध रहेको भन्दै उपमेयर चौधरीले नदी व्यवस्थापन गर्दा स्थानीय थारु र दनुवार पहिचानसमेत बचाएर गर्न लागी परेको बताइन्। प्राकृतिक सम्पदाहरू मानव अतिक्रणको चपेटामा परेकै कारण त्रियुगाले वर्षेनी क्षति गर्ने गरेको भन्दै यसको रोकथाम र संरक्षणमा नगरबासीको सहभागिताको खाँचो औंल्याइन्।

देउरीका ८१ वर्षीय स्थानीय बन्हु चौधरीले ६०–७० वर्षअघिको त्रियुगाको स्मरण गर्दै वाहै्रकाल कञ्चन पानी बग्ने, हरियालीले भरिभराउ, चराचुरुङगी र जंगली जनावरको डर हुने त्रियुगा अतिक्रमणमा परी बस्ती विस्तारसँगै सुख्खा बगरमा परिणत भएको बताए। वृद्ध चौधरीले आप्mनो जीवनकालमै त्रियुगा पुनः हरियाली र कलकल पानी बग्ने हेर्न चाहेको बताए। कांग्रेस कार्यकर्ता उद्धव राउतले साविक बाटो मिचेर बाँध बाध्ने गर्दा नदीले नयाँ धार बनाएर बग्ने गरेको भन्दै त्यसले हजारौं घरधुरीलाई सुकुम्बासी बनाइदिएको बताए।

पूर्व उपमेयर रामवती चौधरी, नागरिक समाजका अगुवा भरत खड्का, थारु कल्याणकारीणी सभाका सभापति जयराम पञ्जियार, देउरी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव चौधरी, खेलाडी रमाकान्त चौधरी, थारु अगुवा नित्यानन्द चौधरी, रामफल चौधरी, लगायतले त्रियुगालाई पुरानै अवस्थामा फर्काउन त्रियुगा सभ्यता कार्यक्रमलाई व्यापक बनाउन आग्रह गरे।

कार्यक्रममा नगरपालिकाका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत विश्वजीत राईले सधै नोक्शानी मात्र गरिरहेको देखिएको त्रियुगाबाट कसरी फाईदा लिन सकिन्छ भन्ने विषयमा नगरबासीको सामूहिक धारणा बुभ्mन वहस कार्यक्रम सुरु गरिएको बताए। वहस कार्यक्रमलाई त्रियुगाले छोएका वडाका बस्तीबासीसम्म पुगेर चाँडै उनीहरुको धारणा बुभ्mने कार्यक्रम रहेको उनले बताए।

प्रकाशित: २३ चैत्र २०७४ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App