७ वैशाख २०८१ शुक्रबार
समाज

स्वस्थ्यकर मासु बिक्री गर्न पशु बिज्ञको आग्रह

स्वस्थ्य मासु बिक्री र उपभोगका बारेमा सरोकारवालालाई जानकारी दिँदै पशु बिज्ञ डाक्टर गंगाराम यादव। तस्बिरः नागरिक

ताप्लेजुङ – पशु स्वास्थ्यका जानकारहरूले मासुलाई राम्ररी पकाएर मात्र सेवन गर्न उपभोक्तालाई र स्वस्थ्यकर मासु बिक्री गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्।

पशु–पंक्षीबाट मान्छेमा सर्ने रोगको ६० प्रतिशत हिस्सा मासुबाट सर्ने भएकोले स्वस्थ्य मासु मात्र उपभोग गर्न उनीहरूले सुझाएका हुन्। स्वस्थ्य र स्वच्छ मासु उत्पादन र बिक्रीका बारेमा जानकारी दिन बिहीबार फुङलिङ नगरपालिकाले सदरमुकाममा आयोजना गरेको कार्यक्रममा सहजकर्ता पशु बिज्ञ डाक्टर गंगाराम यादवले स्वास्थ्यको हेक्का प्राथमिकतामा राख्न व्यवसायी र उपभोक्ता दुबैलाई आग्रह गरे। उनका अनुसार पशु तथा पंक्षी स्वस्थ्य भएर मात्र मासु स्वस्थ्य हुन सक्दैन। ‘यसका लागि बध गर्ने ठाउँ र मान्छे देखि लिएर फ्रेस हाउस र प्रशोधन केन्द्र सम्म उत्तिकै सफा र स्वच्छ हुन जरुरी छ’यादवले भने।

उनले स्वस्थ्य ढंगले बध गरी बनाएको मासुलाई १२–१३ घण्टा सम्म फ्रिजमा राखेर प्रयोग गर्ने हो भने मात्रै त्यो मासुको रुपमा उपभोग गर्न सकिने जानकारी दिए। उनका अनुसार पशु–पंक्षी बध गरे(काटे)लगत्तै प्रयोग गरिने मासुलाई पनि खानका लागि योग्य मान्न नसकिने बताए। ‘यसको अर्थ दिनभर खुल्ला रुपले बिक्रीका लागि राखिएको मासु कुनै कारण बिक्री नभई पुन फ्रिजमा राखी प्रयोग गर्नुलाई राम्रो भनिएको होइन’यादवले भने‘यसले त झन् बढी हानी निम्याउँछ’। उनले स्वस्थ्य पशु तथा पंक्षीलाई सफा ढंगले बध गरी त्यस्तो मासुलाई राम्रो मनशायले फ्रिजमा राखेर १२–१३ घण्टा पछि प्रयोग गर्नु सबैभन्दा राम्रो हुने समेत जानकारी दिए।

रोगी पशु,प्रदूषित पानी,अस्वच्छ र फोहोर ठाउँमा बध गर्ने प्रवृति र अनियन्त्रित तरिकाले फ्रिजमा राख्दा मासुमा जिवाणुको विकास भइ अझ बढी खरावी आउने तर्फ सचेत बन्न उनले व्यवसायी र उपभोक्ता दुबैलाई सुझाव दिएका छन्। उनले मासु काट्ने र बेच्ने ठाउँमा कुकुरको उपस्थिति हुनै नदिन व्यवसायीलाई सचेत पनि गराए। मासुमा देखिने पानीले भरिएको थैली कुकुरलाई दिने हाम्रो सामाजिक प्रवृति रहेको भन्दै उनले जुका सहितका रोगले भरिएको त्यो थैली खाएको कुकुरले गरेको दिसा कुनै न कुनै माध्यम द्धारा मानिससम्म पुगेमा त्यसले ठूलो स्वास्थ्य खतरा निम्त्याउने बताए।

उनले छाला सहितको मासु नखान,भरसक कुखुराको कलेजो पशुको भुँडी भित्र रहेको भित्र्यास नखान उपभोक्ताको ध्यानाकर्षण गरेका छन्। उनका अनुसार रोगी पशु तथा पंक्षीको यी अंगमा प्रतिग्राम ९ देखि १० वटा सम्म किटाणु हुने गर्छन्। यादवले मासु काट्ने अचानो, औजार, ढक र तराजुका साथै बधका क्रममा प्रयोग गर्ने पानी सम्म सफा स्वस्थ्य हुनुपर्ने कुराको ख्याल गर्न व्यवसायीलाई आग्रह गरेका छन्।

फुङलिङ नगर कार्यपालिकाका पशु स्वास्थ्य संयोजक डाक्टर कमल गिरीले मासुजन्य पर्दाथको उपभोगमा क्रेता र बिक्रेता दुबै सजग र सम्बेदनशील बन्नुपर्ने बताए। उनले स्वस्थ्य पशु तथा पंक्षीको मात्र बध गर्न र बध गर्दा देखि उपभोक्ताले उपभोग गर्दा सम्म बिधी पुर्याएमा मात्र यसले फाइदा दिने बताए। मासुलाई राम्ररी पकाएर मात्र उपभोग गर्नाले पनि जिवाणुको ठूलो अंश नष्ट हुन सक्ने उनले जानकारी दिए।

मासु तथा मासुजन्य पदार्थ दुग्धजन्य पदार्थको उत्पादन र उपभोगमा समेत उपभोक्ता र किसान तथा व्यवसायी दुबै सचेत बन्नुपर्ने उनको सुझाव थियो। उनले दुग्धजन्य पदार्थबाट समेत सरुवा रोगको संक्रमण बढी हुने भएकोले यसबाट बेलैमा सचेत बन्नुपर्ने बताए। पशु बिज्ञ डाक्टर यादवका अनुसार पशुबाट मान्छेमा र मान्छेबाट पशुमा सर्ने रोग अनियन्त्रित हुने हो भने नेपालमा मात्र दैनिक २ लाख मानिस यसबाट प्रभावित हुनेछन्।

यस्तो अवस्थाको सरकारी अनुमान बताउँदै यादवले प्रभावित मध्ये दैनिक ५० देखि ६० हजार मानिस अस्पताल भर्ना हुने अवस्था आउन सक्छ, जुन नेपालका अस्पातालको क्षमता भन्दा कयौं गुणा ठूलो परिवेश हो। यस्तो भएमा मान्छेले उपचारै नपाएर मर्नुपर्ने अवस्था आउन सक्ने भएकोले पशुबाट मान्छेमा र मान्छेबाट पशुमा सर्ने रोग बारे उपभोक्ता र व्यवसायी दुबैले हेक्का राख्नुपर्ने उनले जानकारी दिए। यद्यपी नेपालमा अहिले सम्म त्यस्तो अवस्था भने आएको छैन।

प्रकाशित: २३ चैत्र २०७४ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App