४ वैशाख २०८१ मंगलबार
समाज

अस्पताललाई करोड दान

चितवन- नारायणगढकी गौरी प्रधानको छालामा ३७ वर्षअघि अनौठो रोग देखियो। त्यो बढ्दै गएर टाउकाको रौंमा पनि असर गर्न थाल्यो। प्रधानलाई उपचारका लागि पैसाको खाँचो थिएन तर जहाँ गएर उपचार गर्दा पनि कम भएन।

चिकित्सकले निको हुने सम्भावना औंल्याए। त्यहीबीच उनले प्राकृतिक उपचार पद्धतिबारे सुनिन् र उपचारका लागि भारत, उत्तरप्रदेशको गोरखपुर पुगिन्।

गोरखपुरको प्राकृतिक उपचार केन्द्र आरोग्य मन्दिरमा उपचार सुरु गर्दा पनि उनले दिक्क नमानेको होइन। तर लगातार दुई वर्ष उपचारपछि उनी पूर्ण स्वस्थ भइन्। त्यसपछि उनको मनमा प्राकृतिक उपचारप्रति निकै श्रद्धा जाग्यो। 'यो उपचार पद्धतिको म जीवनभर ऋणी छु,' उनले भनिन्। सोही ऋण तिर्न होला, उनले नवलपरासीको रजहरमा रहेको प्राकृतिक उपचार केन्द्रलाई एक करोड रुपैयाँ दान दिइन्।

श्यामकृष्ण प्रधान र गौरी प्रधान सम्पत्तिमा मात्र होइन, समाजसेवा र राजनीतिमा पनि कहलिएको नाम हो। श्रीमान श्यामकृष्णको मृत्युपछि श्रीमती गौरी ४५ दिनको काम सकेर रजहरको सो अस्पताल पुगेकी थिइन्।

'यहाँको वातावरण, काम गर्नेको उत्साहले मलाई गोरखपुरकै झल्को दियो। खुसी भएर एक करोड रुपैयाँ सहयोग गर्ने बचन दिएँ,' प्रधानले भनिन्।

अस्पताल सञ्चालकले नै यो तहको सहयोगको आशा गरेका थिएनन्। एकदुई कोठासम्म बनाइदिनू न भन्ने आग्रहसम्म थियो। बिरामी बस्ने सुविधायुक्त कोठा भएको दुईतले भवन निर्माणका लागि सो रकम खर्च गरियो। भवन शिलान्यास ०७० जेठ १५ मा भएको थियो। उद्घाटन ७१ कात्तिक १८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरे।

आफूलाई जीवनभर गुन लगाउने भारतीय उपचार केन्द्रझैं बनाउने आस राखेर सहयोग गरेको रजहरको सो सामुदायिक प्राकृतिक चिकित्सालयले पछिल्लो समय धेरैलाई सेवा दिएको देख्दा प्रधान खुसी छन्।

२०६७ असारबाट सञ्चालन भएको अस्पतालमा सुरुमा ५२ बेड थिए, अहिले ८२ छन्। ३ सय बेड पुर्‍याउने सञ्चालकको लक्ष्य छ।

'अस्पतालको बेड ३ सय पुर्‍याउने र प्राकृतिक चिकित्सा अध्ययन हुने मेडिकल कलेज चलाउने हाम्रो लक्ष्य छ,' अस्पताल व्यवस्थापक हरि सापकोटाले भने। अस्पतालमा उपचारका लागि आउने बिरामीले दुई महिनाअघि नाम लेखाएर पालो कुर्नुपर्छ। खानेबस्नेसमेत गरेर दिनको हजार रुपैयाँसम्म खर्च गरेर उपचार हुन्छ। उपचारका लागि एक सातादेखि महिनादिनसम्म लगातार बस्नुपर्ने हुन्छ।

'हामीले अहिले नेपाल सरकारबाट ६ करोड रुपैयाँ सहयोग पाएका छौं र त्यो पैसाले भवन बनाउँदै छौं। २०७५ सालभित्र मेडिकल कलेज चलाउने लक्ष्य छ,' अस्पताल सञ्चालक समिति अध्यक्ष सन्तबहादुर क्षत्रीले भने। सामुदायिक वनको १० बिघा जग्गामा सरकारबाट भोगाधिकार लिएर अस्पताल चलाइएको छ।

'यहाँको वातावरण पूर्ण प्राकृतिक छ। धेरै ठाउँबाट सहयोग पनि आएको छ। त्यसैले हामीलाई हौसला दिएको हो। नयाँ उपचार पद्दतिको उपचार केन्द्र खोल्दा सफल हुने नहुनेमै शंका थियो तर सफल भयौं। त्यसैले मेडिकल कलेज खोल्ने लक्ष्य राखेका हौं,' अध्यक्ष क्षत्रीले भने।

२०६४ सालमा महायज्ञ लगाएर एक करोड ६३ लाख रुपैयाँ संकलन गरेर अस्पताल निर्माण सुरु भएको थियो।

अस्पतालमा अहिले चार चिकित्सक छन्। प्राकृतिक चिकित्सा अध्ययन हुने कलेज नेपालमा छैन। त्यसैले यो क्षेत्रमा आफूले पाएको ज्ञानले शिक्षालय खोल्ने सोच बनाएको सचिव प्रदीपराज घिमिरेले भने। 'संसारमा अहिले धेरैलाई जीवनशैली सम्बद्ध रोगले सताएको छ। त्यसको उपचारका लागि यो विधि उत्तम हो,' प्राकृतिक चिकित्सक डा. उमेश केसीले भने।

खानपानका कारण धेरै रोगले सताउने गरेको छ। गलत खानपानले पेटमा असर गर्छ। पेट ठिक भए रोग लाग्ने सम्भावना ८० प्रतिशत कम हुन्छ। प्राकृतिक चिकित्साले अन्य शारीरिक समस्यालाई पनि हल गर्छ। पोखराका ६५ वर्षीय नन्दलाल शर्माको खुट्टामा समस्या थियो। पैताला भुइँमा राख्नै नहुने। उनी कि घस्रन्थे कि ह्विलचियरमा हिँड्थे। दुई वर्षअघि रजहरको सो केन्द्रमा आएर एक महिना बसे। उनी पूर्ण निको भए।

यस्तै, धनकुटा परेवादिनका ४७ वर्षीय प्रकाश श्रेष्ठको शरीरको तौल बढेर ११३ किलो पुग्यो। कसरत र उपचारले उनलाई छोएन। असार छ गते उनी सो केन्द्रमा आए। एक महिना बस्दा उनको तौल घटेर ९६ किलो भयो। खानपानको परिकार र पकाउने शैली बदलिएको छ। 'पहिला टेबलमा बसेर खाँदा पनि खाना चुहेर कपडाभरि हुन्थ्यो। अहिले पलेटी कसेर भुइँमै बसेर मज्जाले खान्छु। कति सजिलो भयो,' श्रेष्ठले भने।

उपचार गराउन आएकाले व्यक्त गर्ने सन्तुष्टिले दाता प्रधानको मन निकै प्रफुल्ल हुन्छ। 'छोराबुहारीसँग कुरा नगरी आफ्नै मनले निधो गरेर यति ठूलो सहयोग दिएको थिएँ। अब त सहयोग गर्ने क्षमता पनि रहेन। तर मैले बेलामा गरेको सहयोग निकै उपयुक्त ठाउँमा परेको देखेर एकदम हर्षित छु,' ८२ वर्षीया प्रधानले भनिन्।

प्रधानले जस्तो ठूलो दान गर्न नसके पनि उपचारबाट प्रभावित भएर ससानो सहयोग धेरैले गरेका छन्।

प्रकाशित: ९ भाद्र २०७३ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App