८ वैशाख २०८१ शनिबार
खेल

थ्री स्टार सेमिफाइनलमा

थ्री स्टारका विमल घर्ती मगर (निलो जर्सी) बल अघि बढाउँदै। तस्बिरः नागरिक

मोरङ – सहिद स्मारक ‘ए’ डिभिजनको प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई अन्तिम समयमा स्तब्ध पार्दै रुस्लान थ्री स्टार क्लबले विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

बिहीबार सहिद रंगशालामा सम्पन्न प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलको मध्यान्तरपछि तीन मिनेटको बीचमा दुई गोल गर्दै थ्री स्टारले चिर प्रतिद्वन्द्वी मनाङमाथि २–१ को विजयी नतिजा निकाल्यो।

विशाल राईले गोल गर्दै मनाङलाई १९औं मिनेटमै अग्रता दिलाएका थिए । तर अन्तिम १८ मिनेट सम्हालिन नसक्दा थ्री स्टार खेलमा सनसनीपूर्ण पुनरागमन जनाउन सफल भयो । थ्री स्टारले शनिबार हुने सेमिफाइनलमा ‘ए’ डिभिजन लिगको अर्को प्रतिद्वन्द्वी सिएमजी क्लब संकटासँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार हुने प्रतियोगिताको पहिलो सेमिफाइनलमा झापा ११ ले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।

थ्री स्टारका लागि ७२औं मिनेटमा राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगरले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसको तीन मिनेट नबित्दै अफ्रिकी खेलाडी मार्टिन्स अजायीले टोलीका लागि विजयी गोल गरे । थ्री स्टारका लागि विजयी गोल गर्ने मार्टिन्स खेलको म्यान अफ दी म्याच घोषित भए । उनले पुरस्कारस्वरुप नगद १० हजार रुपैयाँ पाए।

मनाङमाथिको जितपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले सिजनमा अर्को उपाधि जित्ने आत्मविश्वास बढेको प्रतिक्रिया दिए । ‘सुरुमै गोल खाँदा टोली दबाबमा परे पनि हामीले आत्मविश्वास गुमाएका थिएनौं । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयौं,’ गत हप्तामात्र टोलीलाई बुटवलमा सर्बाधिक पुरस्कार राशीको मदन भण्डारी गोल्डकप च्याम्पियन बनाएका प्रशिक्षक केसीले भने, ‘नेपाली फुटबलमा मनाड र थ्री स्टारबीचको भिडन्तलाई सधै महत्वका साथ हेरिन्छ । महत्वपूर्ण खेलमा हात पारेको यो जितले प्रतियोगिताको उपाधि जित्ने आत्मविश्वास बढाएको छ।’

सोमबार बुटवलमा सम्पन्न मदन भण्डारी गोल्डकपको फाइनलमा पनि थ्री स्टारले मनाङमाथि २–१ कै जित हासिल गरेको थियो ।
मनाङका प्रशिक्षक छिरिङ लोब्साङले बिहीबार उत्कृष्ट प्रदर्शन गर्नाका बावजुद दोस्रो हाफमा रेफ्रीबाट भएको एउटा गलत निर्णयका कारण पराजित हुनुपरेको प्रतिक्रिया दिए । ‘दोस्रो हाफमा दिएको पेनाल्टी दिने गलत निर्णयले नतिजा उल्टायो । उत्कृष्ट प्रदर्शन गरे पनि विजय पाउन सकिएन,’ उनले भने।

प्रकाशित: २३ चैत्र २०७४ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App