८ वैशाख २०८१ शनिबार
समाज

मल्ल राजाका राग जोगाउँदै पाका पुस्ता

राजा सिद्धिनरसिंह मल्लले रचेका गीत गाउँदै ललितपुर, पाटन क्षेत्रका बूढापाका ।

ललितपुर–पाटनस्थित ‘कार्तिक डबली’ मा सोमबार दिनभर स्थानीय बूढापाका राजा सिद्धिनरसिंह मल्लले रचेका गीत गाउन व्यस्त थिए । ७० वर्ष नाघेका उनीहरु डबलीमा तम्तयार देखिन्थे गीतमा स्वर दिन । अनुहार चाउरिएका बूढापाकाको स्वरले युवाको ध्यान तान्दै थियो ।
मल्ल राजाले रचेका ३२  रागमा नेवार समुदायको पाका पुस्ताले दिनभर स्वर भर्यो । स्वर र बाजाको धून सुन्न विदेशी पर्यटक पनि डबलीमा उभिएका देखिन्थे ।

सोमबार मात्र होइन, राजा सिद्धिनरसिंह मल्लको गीत–संगीत जोगाउन र यस क्षेत्रमा उनले दिएका योगदानलाई संरक्षण गर्न यो समुदायका बूढापाका वर्षैभरि सक्रिय रहन्छन् ।
युवा पुस्तामा परम्परा र संस्कृतिप्रतिको झुकाव हट्दै गएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार बताउँछन् । गुरुप्रथाअनुसार पाकाले सिकाउँदै आएकाले अहिलेसम्म यो परम्परा जीवित रहेको र पछिल्लो समय सिक्ने र सिकाउनेको कमीले नाच लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।  राजा सिद्धिनरसिंह मल्लले रचेका गीत र भजनलाई पाटन क्षेत्रमा बूढापाकाले साँझको समयमा गाउने गरेको अध्यक्ष चित्रकार बताउँछन् ।

उनले रचेका रागलाई ललितपुरको मंगलबजारस्थित चारनारायण मन्दिरको प्रांगण कार्तिक डबलीमा प्रत्येक वर्ष मंसिरदेखि ललितपुर तःबहालस्थित रातो मच्छिन्द्र्रनाथ मन्दिरमा मञ्चन गर्ने गरिन्छ । सिद्धिनरसिंह मल्लले रचेका रागमध्ये मेघ, मल्हा, मालोव, जयश्री, धनाश्रीलगायत अन्य राग अहिलेसम्म पनि अत्यन्तै लोकप्रिय छन् ।

जसमध्ये मेघ रात गाउँदाको दिन पानी पर्ने किवंदन्ती रहिआएको छ ।
साथै, राजा सिद्धिनरसिंह मल्लले यस दिनलाई संगीत दिवस भने नेपालसम्वत् ७४० मा सुरु गरेका थिए । आफूले रचेका गीत संगीतलाई संरक्षणका साथै समग्र पुरानो संगीत क्षेत्रलाई नै चिनाउन भनेर उनले यो दिवसको सुरुआत गरेका थिए । उनले रचेका गीत र रागले तत्कालीन नेपाली समाजको यथार्थ बोलेको बताउँछन्, ७५ वर्षीय बाबुराजा श्रेष्ठ ।

सिद्धिनरसिंह मल्लको रचनामा मौलिकता र गीत–संगीतमा हुनुपर्ने राग भएकाले त्यसलाई जोगाउनुपर्ने उनी बताउँछन् । दिवसकै अवसरमा राजा सिद्धिनरसिंह मल्लको राजगद्दीलाई कृष्ण मन्दिरमा राखेर प्रदर्शन गरिने परम्परा रहेकाले सोमबार दिनभर राजाको गद्दीलाई पाटनको कृष्ण मन्दिरछेउ राखिएको थियो । राजा सिद्धिनरसिंहले रचेका गीतमा देशको संस्कृति झल्किने र मल्लकालीन अवस्थालाई रचना भावले बोलेकाले त्यसको प्रवद्र्धन गर्नुपर्ने बताउँछन्, संस्कृतिविद् सत्यमोहन जोशी । आफू सिद्धिनरसिंह मल्लका गीतका पारखी नै भएको उनले बताए । ‘सिद्धिनरसिंह मल्लले रचेका गीत–संगीतले इतिहास बोलेको छ, उनका गीतसंगीतले भावी पुस्तालाई पुरानो संस्कृति र परम्परालाई सिकाउँछ,’ उनले भने ।

यो दिवस ललितपुर जिल्लाको प्राचीन तथा अमूर्त कला संस्कृतिको केन्द्रका रुपमा रहँदै आएको छ । नेपालका कतिपय कलासंस्कृति विलीन भइसकेकाले यस क्षेत्रलाई युगौँ युगान्तरसम्म जोगाइराख्न सबैले ध्यान दिनुपर्ने बताउँछन् रामबधनी श्रेष्ठ । उनी भन्छन्, ‘अहिले जति पाटन क्षेत्रमा लाग्ने नाच आएका छन्, ती सबै नाचमा राजा सिद्धिनरसिंहकै योगदान छ,’ सोमबार कार्तिक डबलीमा सहभागी उनले भने ।
मल्लले रचेका ३२ वटा रागमध्ये १५ वटा राग लोप भइसकेका छन् ।

बाँकी राग संरक्षणका लागि कार्तिक नाच संरक्षण समितिले विभिन्न कार्यक्रम गर्दै आएको छ । नेपाली पात्रोअनुसार जेष्ठ पूर्णिमालाई वर्षकै सबैभन्दा लामो दिनको रुपमा लिने गरिन्छ । यसै विषयलाई मध्यनजर राख्दै राजा सिद्धिनरसिंह मल्लले दिवस सुरु गरेका थिए । यसैबीच संगीत दिवसकै दिनदेखि नेवार समुदायले औपचारिक धान रोपाइँ गर्ने परम्परा रहेको मंगलबजारका स्थानीय वदनलाल न्याछ्योँले बताए । नाच संरक्षण गर्न ललितपुर संरक्षण केन्द्रले पनि समितिसँग सहकार्य गर्दै आएको छ ।

 

प्रकाशित: ८ असार २०७३ ००:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App