४ वैशाख २०८१ मंगलबार
अर्थ

चालु बजेटभन्दा ६ गुणा बढी खर्च

काठमाडौं – विनियोजित बजेट खर्च नहुने अधिकांश आयोजनाको वर्षौंदेखिको समस्या हो। तर, चालु आर्थिक वर्षमा एउटा त्यस्तो आयोजना देखिएको छ, जसले अहिलेसम्ममा विनियोजित बजेटभन्दा चार गुणा बढी रकम खर्च गरिसकेको छ। आर्थिक वर्षको अन्त्यसम्म ६ गुणा बढी रकम सक्ने गरी धमाधम काम भइरहेको छ। यो वर्ष विनियोजन गरिएको बजेटभन्दा बढी रकम खर्च गर्ने आयोजना भेरी–बबई डाइभर्सन हो।

सिँचाइ र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको उक्त आयोजनामा हालसम्म तीन अर्ब रुपैयाँ खर्च भइसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले बताए। ‘उक्त आयोजनामा चालु आर्थिक वर्षको अन्त्यसम्म चार अर्ब रुपैयाँ खर्च हुने गरी काम भइरहेको छ,’ उनले भने ‘चालु आर्थिक वर्ष यसका लागि ६५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।’ विनियोजित बजेटभन्दा निकै बढी रकम खर्च गर्ने यो आयोजना मुलुकका थोरैमध्ये एक रहेको तिवारीले बताए।

लामो समयदेखि सरकारले विनियोजन गरेको पुँजीगत बजेटमध्ये ७५ प्रतिशत पनि रकम खर्च हुने गरेको छैन। मुलुकको विकास बजेट खर्च नहुने रोगका कारण अर्थतन्त्रको विकासले गति लिन सकेको छैन।

उक्त आयोजना सक्न मन्त्रालयले १६ अर्ब ४३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ, सोमध्ये १२ अर्ब रुपैयाँजति सुरुङ खन्नमै लाग्नेछ

भेरी–बबई डाइभर्सनमा मुलुकमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर सुरुङ खन्ने काम जारी छ । तिवारीले टिबिएमद्वारा दैनिक २०–२५ मिटर सुरुङ खनिरहेको जानकारी दिए। भेरी नदीको पानीलाई सुर्खेतको भेरीगंगा–९, चिप्लेदेखि १२ किलोमिटर सुरुङ खनेर बर्दियाको बबईमा झारेर सिँचाइ र विद्युत् निकाल्ने योजना बनाइएको छ।

यो आयोजनाका लागि अमेरिकन रोबिन्स कम्पनीले निर्माण गरेको टिबिएम चीनबाट ल्याइएको थियो। उक्त आयोजनाको निर्माण जिम्मा चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक) ले पाएको छ। सन् २०२० सम्म काम सक्ने लक्ष्य लिइएको आयोजनाबाट बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पु-याउनुको साथै ४८ मेगावाट विद्युत् निकालिने छ।

तिवारीले हालसम्म तीन किलोमिटर सुरुङ खनेको बताए। उक्त आयोजना सक्न मन्त्रालयले १६ अर्ब ४३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेटमध्ये १२ अर्ब रुपैयाँजति सुरुङ खन्न र बाँकी रकम नहर लगायतका काममा खर्च गर्ने योजना छ। सहसचिव तिवारीले दुई वर्षमा भेरी–बबई डाइभर्सनमा सुरुङ खन्ने काम सकिने बताए।

आयोजनामा कार्यरत एक इन्जिनियरका अनुसार ठेकेदार कम्पनीलाई टिबिएमले जति सुरुङ खन्छ त्यसरी नै नाप गरेर भुक्तानी दिइने व्यवस्था मिलाइएको छ। ठेकेदार कम्पनीले नै ठूलो लगानी गरी टिबिएम भित्र्याएकाले आयोजना निश्चित समयमा सकिने अधिकारीहरूले अपेक्षा गरेका छन्। अनाज उत्पादनका दृष्टिकोणले निकै राम्रो मानिने बर्दिया र बाँकेमा सिँचाइ सुविधा विस्तार हुनेबित्तिकै देशमा कृषि क्रान्ति हुनेमा धेरै आशावादी छन्। बर्सेनि खाद्य संकट भोग्दै आएका मध्य र सुदूर पश्चिमका पहाडी जिल्लामा बसोबास गर्ने सर्वसाधारण समेत उक्त आयोजना सम्पन्न भएपछि लाभान्वित हुने अपेक्षा गरिएको छ। सोही आयोजनाबाट निकालिने बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ।

टिबिएम प्रयोग नगर्दा भेरी बबईमा सुरुङ खन्न वर्षौं लाग्ने थियो। टिबिएम सञ्चालनका लागि ९० जना चिनियाँ प्राविधिक र झन्डै पाँच सय नेपाली कामदार खटिएका छन्। सुरुङको लम्बाइ र चौडाइ ५.६  मिटर रहनेछ। सुरुङ निर्माणपछि भेरी नदीको ४० क्युमेक पानी बबईमा मिसाइने छ। पानी आपूर्तिको दृष्टिकोणले भेरी नदीलाई प्राविधिकहरूले उपयुक्त मान्दै आएका छन्। सिँचाइ मन्त्रालयले ६ वर्षअघि नै भेरी बबई आयोजना सुरु गर्ने प्रयास गरे पनि सुरुङ खन्ने उपाय फेला नपर्दा आयोजना अलपत्र पर्दै आइरहेको थियो। भौगोलिक वनावटको दृष्टिकोणले भेरी बबईमा ड्रिलिङ र ब्लास्टिङ प्रविधिबाट सुरुङ खन्न नसकिने निचोड निकालिएपछि अघिल्लो वर्ष मन्त्रालयले टिबिएम खरिद गर्ने निर्णय गरेको थियो।

मन्त्रालयका इन्जियिनर टिबिएम प्रयोगले नेपालमा अब अरु ठूला आयोजनाका लागि पनि सहज भएको बताउँछन्। अहिले कम्तीमा सात ठूला आयोजना टिबिएमको पर्खाइमा रहेको मन्त्रालयका अधिकारीले बताए। विश्वका विभिन्न देशमा भने ठुल्ठूला विकासे आयोजनाको निर्माणमा टिबिएम प्रयोग गर्ने चलन छ।

भेरी बबईका डाइभर्सनका  लागि सुरुङ खन्नु नै सर्वाधिक कठिन मानिएको छ। नेपालको अहिलेकै प्रविधि प्रयोग गरी उक्त सुरुङ खन्ने हो भने वर्षौं लाग्ने भएकाले अत्याधुनिक मेसिन प्रयोग गर्नुपर्ने आवश्यकता ठानिएको हो। तिवारीले उक्त आयोजना राष्ट्रिय गौरवको भएकाले अर्थ मन्त्रालयले हालसम्म आवश्यकता अनुसार बजेट उपलब्ध गराइरहेको बताए। ‘अहिलेसम्म जसरी अर्थले आवश्यकता अनुसार बजेट उपलब्ध गराइरहेको छ, आगामी दिनमा पनि त्यस्तै अवस्था कायम रहने अपेक्षा गरेका छौं,’ उनले भने। अर्को आर्थिक वर्ष भने सोही आयोजनाका लागि मन्त्रालयले ६–८ अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने तयारी गरेको छ।

प्रकाशित: २३ चैत्र २०७४ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App