७ वैशाख २०८१ शुक्रबार
अर्थ

इन्दुशंकरद्वारा उखु किसानलाई भुक्तानी सुरु

सर्लाही – जिल्लाको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले उखु किसानको भुक्तानी सुरु गरेको छ। बिहीबारबाट किसानको बैंक खातामा उखुको भुक्तानी सुरु गरिएको इन्दुशंकर चिनी उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए।

‘यसअघि किसान नेतासँग भएको सहमतिअनुसार आजबाट उखुको भुक्तानी सुरु गरेका हौं’, बिहीबार नागरिकसँग नेपालले भने, ‘दिनको दुई करोडका दरले माघ १६ गतेसम्मको भुक्तानी गर्ने तालिका निकालिसकेका छौं।’ पुस १६ गतेसम्मको भुक्तानी यसअघि नै भइसकेको उल्लेख गर्दै नेपालले बिहीबारबाट पुस १७ गतेदेखिको भुक्तानी तालिका प्रकाशित गरिएको जानकारी दिए।

वैशाख ३० गतेसम्म दैनिक दुई करोडका दरले ६० करोड रुपैयाँ भुक्तानीको तालिका प्रकाशित गरी किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइएको र जेठ १ गतेदेखि पुनः अर्को भुक्तानी तालिका प्रकाशित गरिने उद्योगले जनाएको छ। हाल उद्योगले पाँच  ३१ रुपैयाँ २० पैसाका दरले भुक्तानी सुरु गरेको हो। इन्दुशंकरले बिहीबारसम्म ३८ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गरिसकेको छ।

यता जिल्लास्थित अन्नपूर्ण सुगर मिलले भने नयाँ भुक्तानी तालिका प्रकाशन गरेको छैन। उद्योगका उखु प्रबन्धक बिएन गुप्ताले गत चैत २ गते नै पुस मसान्तसम्मको किसानको भुक्तानी बैंक खातामा पठाइसकिएको र नयाँ भुक्तानी तालिका सुरु नभएको जानकारी दिए। उक्त उद्योगले बहीबारसम्म ११ लाख ६० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ।

विगतका वर्षहरुमा इन्दुशंकरले उखु दिएको महिना दिनभित्र बैंक खातामा भुक्तानी गर्ने गथ्र्यो। तर यसवर्ष भने तीन महिनासम्म पनि भुक्तानी नगरेपछि चैत पहिलो साता उद्योगको मुलगेटमा किसानले सुरु गरेको रिले अनसन आमरण अनसनमा परिणत भएको थियो।

तत्काल उखुको भुक्तानी सुरु गर्नुपर्ने लगायत माग राखेर किसान नेताले सुरु गरेको रिले अनसनसहितको आन्दोलनमा हरिवन हरिवन नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष शेष मेहबुब रेजा आमरण अनसन नै बसेका थिए। रेजा आमरण अनसन बसेको चौथो दिन अर्थात चैत १२ गते जनकपुरमा २ नं. प्रदेशका मुख्य मन्त्री मोहम्मद् लालबाबु राउतसहित प्रदेश मन्त्रीहरुको रोहवरमा उद्योगपति, किसान नेताबीच सहमति भएको थियो।

जनकपुरमा चिनी उद्योगी र किसान नेताबीच भएको बैठकमा उद्योगीले आगामी चैत २२ गतेबाट १ महिनाको भुक्तानी पठाउने र चालू सिजनको सम्पूर्ण भुक्तानी साउनभित्र सक्ने लिखित सहमति भएको थियो। त्यस्तै बैठकमा कृषि, वन, सहकारीलगायत विभिन्न मन्त्रीस्तरीय कार्यदलले यसवर्ष प्रतिक्विन्टल पाँच रुपैयाँ ३६ पैसा थपेर उखुको मूल्य पाँच सय ३६ रुपैयाँ ५६ पैसा पु-याउन मन्त्रीपरिषद्मा सिफारिस गर्ने निर्णयसमेत गरेको थियो। त्यस्तै चिनी उद्योगले उडाउने धुलो, धुँवा नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गरी तत्काल काम सुरु गर्ने उद्योगपतिबाट लिखित प्रतिबद्धतासमेत आएको थियो।

सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो। यहाँ यसवर्ष साँढे २१ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको छ।

प्रकाशित: २३ चैत्र २०७४ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App