८ वैशाख २०८१ शनिबार
अर्थ

जेटले थप ७५ बोइङ जहाज किन्ने

मुम्बई – भारतको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी जेट एयरवेजले एकैपटक थप ७५ थान नयाँ जहाज खरिद अर्डर गरेको छ।

जेटले भारतीय उड्डयन बजारमा आफ्नो हिस्सा वृछि गर्न र कम्पनीलाई थप बलियो बनाउन अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग ‘बि७३७ म्याक्स’ सिरिजका ती जहाज खरिद अर्डर गरेको हो।

‘हाम्रो नयाँ खरिद अर्डरले यात्रुलाई विश्वस्तरको सेवा दिनेमात्र नभई अन्य वायुसेवा कम्पनीभन्दा आफूलाई भिन्नै राख्न पनि उल्लेख्य मद्दत पुग्ने विश्वास छ,’ जेटका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनय दुबेले भने, ‘यसबाट बोइङमाथि हाम्रो विश्वास र भरोसा कायम रहेको प्रष्ट हुन्छ भने सधैं अत्याधुनिक, विश्वसनीय र इन्धन किफायती जहाज सञ्चालन गर्ने हाम्रो उद्देश्य पनि झल्किन्छ।’

जेट एयरवेज र बोइङबीचको सहकार्य २५ वर्ष पूरा भएको छ । जेटले उडान सुरुवात नै बोइङका जहाजबाट गरेको थियो। जेटले भारतीय उड्डयन बजारको वृद्धि र दिगोपनप्रति सधैं प्रतिबद्ध रहेको जनाउँदै आएको छ।

जेटले सन् २०१५ मा पनि ७५ थान बि७३७ म्याक्स सिरिजका जहाज खरिद अर्डर गरेको थियो। त्यसबेला आफ्ना जहाज संख्यामा अत्याधुनिक र वातावरणमैत्री जहाज थप्ने रणनीतिअनुसार उसले अर्डर गरेको थियो। तर, अहिले गरिएको खरिद अर्डर भने कम्पनीको भविष्यको वृद्धिका लागि भएको जेटको भनाइ छ।

‘जेट एयरवेजले फेरि थप ७५ थान जहाज खरिद अर्डर गरेर हामीमाथि विश्वास देखाएकोमा आफूलाई सम्मानित महसुस गरेका छौं,’ बोइङको एसिया प्रशान्त तथा भारत क्षेत्रको बिक्री हेर्ने उपाध्यक्ष दिनेश केसकरले भने, ‘यी थप बि७३७ म्याक्सले जेट एयरवेजलाई निरन्तर भारतीय उड्डयन बजारको अगुवा बन्न उल्लेख्य सहयोग गर्ने छ भने उसका यात्रुलाई विश्वासिलो र उच्च स्तरको सेवा अनुभव प्रदान गर्न पनि सहयोग गर्ने छ।’

जेटले खरिद अर्डर गरेका बि७३७ म्याक्स सिरिजका जहाजमा १ सय ३० देखि २ सय ३० सिट हुन्छन्। यस्ता जहाजले एकतर्फी ७ हजार १ सय ३० किलोमिटर उडान गर्न सक्छन्। यिनमा सिएमएफ इन्टरनेसनल लिप–वानबी इन्जिन जडित हुन्छन्।

बोइङको इतिहासमै बि७३७ म्याक्स सिरिजका जहाज सबैभन्दा धेरै खरिद अर्डर भएको रेकर्ड छ। हालसम्म ९६ ग्राहकले ४ हजार ४ सयथान यस्ता जहाज अर्डर गरेको बोइङले जनाएको छ।

जेट एयरवेजले हाल १ सय २० थान जहाजबाट आन्तरिकदेखि दक्षिणपूर्वी एसिया, दक्षिण एसिया, मध्यपूर्व, युरोप र उत्तर अमेरिकाका गरी ६५ गन्तव्यमा उडान गरिरहेको छ। हाल जेटसँग बि७७७–३०० इआर, बि७३७ नेक्स्ट जेनेरेसन, ए३३०–२००, ए३३०–३००, एटिआर७२–५०० र एटिआर७२–६०० सिरिजका जहाज सञ्चालनमा छन्।

प्रकाशित: २३ चैत्र २०७४ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App