८ वैशाख २०८१ शनिबार
अन्य

लोकप्रिय धराने कालो बंगुर

किराँत समुदायमा सबैभन्दा लोकप्रिय मासु हो, बंगुरको मासु । बंगुरको मासुलाई विभिन्न सांस्कृतिक कार्यमा समेत प्रयोग गरिन्छ। राई तथा लिम्बु जातिमा बंगुरको मासु खान कुनै चाडपर्व वा अवसर पर्खनुपर्ने चलन छैन।

बंगुरको मासुलाई पकाउने विशेष खालको तरिका पनि छ, यो समुदायमा । विशेष गरी पूर्वका राई तथा लिम्बु जातिमा अत्यधिक प्रचलित बंगुरको मासु हिजोआज ब्रान्ड जस्तै बनेको छ, धराने कालो बंगुरको रूपमा।

धराने कालो बंगुरको परिकार काठमाडौंमा पनि निकै लोकप्रिय बन्दै गइरहेको छ । किराँत समुदायको घना बसोबास रहेको ललितपुरको ताल्छीखेल, धोलाहिटी, नख्खिपोटलगायत क्षेत्रमा धराने कालो बंगुरको मासुको व्यावसायिक सफलताको नमुना देख्न सकिन्छ । कालो बंगुरको विभिन्न खालका परिकार बन्न सक्छ । तर, काठमाडौंमा धेरै खाइने परिकारमा पर्छ, पोर्क सेकुवा । धराने कालो बंगुरको नाम सुनेरै धेरै जना सेकुवा खान आउने गरेको ‘सेकुवा मोड’ का सेफ टकबहादुर राना मगर  बताउँछन्।

ललितपुरको धोलाहिटीमा झन्डै डेढ दशकअघि खुलेको हो, सेकुवा मोड । नन्दप्रसाद राईको यो सेकुवा घर पूर्वको कालो बंगुरका लागि प्रख्यात मानिन्छ । बंगुरको सेकुवा खानका लागि टाढाबाट समेत ग्राहक आउने गरेको बताउँछन्, टकबहादुर।

बंगुरको सेकुवा बाह्रै महिना चल्ने उनी बताउँछन् । यद्यपि, गर्मीमा भन्दा जाडो याममा बंगुरको सेकुवा खानेको संख्या धेरै हुने उनले बताए । भन्छन्, ‘जाडो महिनामा धेरै खाइने भए पनि गर्मीमा पनि नखाइने भन्ने हुँदैन । पानी परेको दिन त गर्मीमा पनि बंगुरको सेकुवा खान धेरै आउँछन् ।’ उनका अनुसार सेकुवा मोडमा पूर्वी नेपालका विभिन्न जिल्लाबाट ल्याइने कालो बंगुरको सेकुवा पाक्छ।

धराने कालो बंगुरको लोकप्रियता पहिलेभन्दा बढेको व्यवसायी बताउँछन् । अहिले सबै समुदायका व्यक्तिले बंगुरको मासु खाने चलन बढेको बताउँछन्, धराने सेकुवा कर्नरका सञ्चालक प्रेमबहादुर राई।

राईका अनुसार काठमाडौंमा पूर्वका लाहुरे परिवारले धराने कालो बंगुरलाई चर्चित बनाएका हुन् । पहिले–पहिले आफ्ना इष्टमित्र मिलेर धरानतिरबाट कालो बंगुर ल्याएर खान्थे । पछि किराँत समुदायको जनसंख्या बढेसँगै कालो बंगुरको मासु परिवारको भान्छाबाट रेस्टुराँ छिर्‍यो।

योसँगै धरानो कालो बंगुरले काठमाडौंको पकवान बजारमा छुट्टै पहिचान बनाएको हो । यही क्रममा खोटाङ थातथलो भएका प्रेमबहादुर राईले पनि सेकुवा घर खोलेका हुन् । अनामनगरमा १० वर्षपहिले उनले ‘धराने सेकुवा कर्नर’ नाममा पोर्क सेकुवा बेच्न थालेका हुन् । राई भन्छन्, ‘पहिले सीमित समुदायले मात्र खाने पोर्क अहिले सबैले खाने भएको छ । घरमा खान नसक्नेहरू यहाँ आएर खान्छन् ।’

धराने कालो बंगुरको परिकार काठमाडौंमा पनि निकै लोकप्रिय बन्दै गइरहेको छ । किराँत समुदायको घना बसोबास रहेको ललितपुरको ताल्छीखेल, धोलाहिटी, नख्खिपोटलगायत क्षेत्रमा धराने कालो बंगुरको मासुको व्यावसायिक सफलताको नमुना देख्न सकिन्छ । कालो बंगुरको विभिन्न खालका परिकार बन्न सक्छ । तर, काठमाडौंमा धेरै खाइने परिकारमा पर्छ, पोर्क सेकुवा । धराने कालो बंगुरको नाम सुनेरै धेरै जना सेकुवा खान आउने गरेको ‘सेकुवा मोड’ का सेफ टकबहादुर राना मगर  बताउँछन्।

धराने कालो बंगुरको बजार बढेसँगै परिकारमा पनि विविधता बढेको छ । धराने सेकुवा कर्नरका कर्मचारी आनन्द पुन भन्छन्, ‘रायोको सागसँग बनाएर खाइने टिपिकल तरिकाबाट परिमार्जित भएर अब धेरै परिकार बन्छन् ।’ परिकारको मोडिफिकेसनसँगै आधुनिक पुस्तालाई समेत आकर्षित गर्न सकेको उनी बताउँछन् ।

धराने सेकुवा कर्नरले हालै ललितपुरको धोलाहिटीमा पनि शाखा खोलेको छ । यसको चेन रेस्टुराँको सफलताले पनि धराने कालो बंगुरको बढ्दो लोकप्रियता प्रमाणित हुन्छ।

धराने सेकुवा कर्नरले पोर्कलाई सेकुवामा मात्र सीमित राखेको छैन । धराने पोर्कका दर्जनौ परिकार उसको मेनुमा समावेश छन् । पोर्क सेकुवा, रोस्टेड पोर्क बेली, पेरीपेरी पोर्क चप, मेक्सिकन स्वीट एन्ड सावर पोर्क, पोर्क फहिता, पोर्क बोइल, पोर्क बेकन, पोर्क कसौडी खाजा सेट, पोर्क चिली, पोर्क ससेज, पोर्क खाना सेट, पोर्क मम, पोर्क चाउमिन, पोर्क फ्राइड राइस, पोर्क थुक्पालगायत विभिन्न परिकार बनाइएका छन् ।धराने सेकुवाका सेफ कृष्णबहादुर श्रेष्ठका अनुसार काठमाडौंमा धराने बंगुरका यति धेरै परिकार पस्कने ठाउँ अरु छैन।

पोर्क फहिता दिउँसोको खाजाका रूपमा निकै लोकप्रिय रहेको सेफ श्रेष्ठ बताउँछन् । निकै नरम र रसिलो हुने गरी नेपाली स्वादमा बनाइएको हुन्छ । पोर्कको बोनलेस थ्री लेयर पार्ट्सको बनाइने भएकोले खाँदा रसिलो र स्वादिलो हुने उनी बताउँछन्।

सलाद खान रुचाउनेका लागि उपयुक्त डिस हो, पेरिपेरि पोर्क चप । सलादसहित म्यारिनेटेट पोर्क चपलाई ग्रिल गरेर दिइन्छ । बंगुरको (टेन्डर पार्ट) मेरुदन्डको भागको मासुको प्रयोग गरी पेरिपेरि पोर्क चप बनाइने सेफ श्रेष्ठले बताए । भन्छन्, ‘पोर्कको मजा लिनलाई निकै उपयुक्त परिकार हो, पेरिपेरि पोर्क चप । हातैले लुछेर खाने हो।’

धराने सेकुवा कर्नरको अर्काे लोकप्रिय परिकार हो, पोर्क बेली । यसलाई खाजाको रूपमा खान सकिन्छ । म्यारिनेट गरिएको पोर्कको बेल्ली पार्टलाई रोल गरी बेक गरेर बनाइन्छ । बेक गरिएको पोर्कलाई स्लाइस गरी आकर्षक सिजनिङसहित पोर्क बेली पस्किन्छ । यसबाहेक पोर्क चिली, पोर्क मम, पोर्क बेकन, पोर्क खाजासेट पनि धेरैले मन पराइएको सेफ श्रेष्ठले बताए । धेरैले हिजोआज पोर्क पकवान टेक अवेको रूपमा पनि लैजाने गरेको सेफ श्रेष्ठ बताउँछन् । यस्तो नयाँ पुस्ताले मन पराउने विभिन्न परिकारहरूको पोर्क भर्जन चाख्न धेरै जना त्यहाँ पुग्ने गरेका छन्।

भैंसेपाटी बस्ने पवन थापा बुधबार दिउँसो धोलाहिटीको सेकुवा मोडमा भेटिए । मासुलाई उनी आफ्नो प्रिय परिकार मान्छन् । बोसो भएको मासु खान मन पराउने उनी बंगुरको मासु निकै मन पराउने बताउँछन् । महिना–दुई महिनामा एक पटक आफू बंगुरको सेकुवा खाने गरेको उनले बताए । ‘बंगुरको मासु मलाई एकदम मन पर्छ । त्यसमा पनि धराने कालो बंगुरको मासु धेरै स्वादिलो लाग्छ,’ उनले भने । घरमा परिवारका सबै सदस्यले पोर्क मन नपराउने हुनाले आफू सधैं रेस्टुराँमै खान जाने गरेको उनले बताए।

धराने कालो बंगुरको मासुको परिकार बेच्ने रेस्टुराँले पूर्वका विभिन्न जिल्लाबाट ल्याइएको बंगुरको मासु पकाउँछन् । धराने सेकुवा कर्नरका आनन्द पुन भन्छन्, ‘धरानलगायत विभिन्न ठाउँबाट जिउँदै बंगुर ल्याइन्छ । बंगुरलाई यातना नहुने गरी बध गरिएको मासु हामी पकाउँछौं।’  

अन्य बंगुरभन्दा धराने कालो बंगुरको मासु फरक हुने पुन बताउँछन् । उनका अनुसार धराने बंगुर घरमा पालिएको सामान्यतः सानो आकारको कालो रङको हुन्छ । यसको मासु कमलो र रसिलो हुने भएकाले धराने कालो बंगुर मिठो मानिने उनी बताउँछन् । धराने कालो बंगुरको मासु पकाउँदा बासो छिटो पग्लिने पुनले बताए । भन्छन्, ‘धराने पोर्कलाई पकाउँदा वा डिप फ्राइ गर्दा ‘फ्याट’ धेरै घट्छ।

त्यसकारण मासु रसिलो र कम बोसोयुक्त हुन्छ ।’ बोसो कम भएको पोर्क खान मन पराउनेका लागि धराने कालो बंगुर उपयुक्त रहेको उनी बताउँछन् । पुन भन्छन्, धराने कालो बंगुरको मासुलाई बोसो घटाउन उसिन्नु जरुरी छैन । पकाउँदा चारतिरबाटै मज्जाले पाक्ने भएकाले यो खाँदा पनि स्वादिलो हुने उनी बताउँछन् । बंगुरको शरीरका सबै भागको परिकार बन्छ।

सामान्यतः पोर्क बोसोयुक्त मासु हुने भएकाले यसलाई दिनहुँ नखान सुझाव दिन्छन्, धराने सेकुवा कर्नरका सेफ कृष्णबहादुर श्रेष्ठ । ‘मन पर्छ भन्दैमा दिनदिनै वा हप्ताको दुई तीन पटक नखान सुझाव दिन्छु,’ उनी भन्छन्, ‘खाँदाखेरि कति मात्रामा खाने भन्ने कुरा पनि ध्यान पुर्‍याएर खानु राम्रो हुन्छ ।’ पोर्क खाँदा अन्य न्युट्रिएन्ट्सको सन्तुलन पनि मिलाउनुपर्ने उनको सुझाव छ।

धराने कालो बंगुरको मासु रेस्टुराँमा मात्र खाइने होइन । काँचो मासु घर लगेर पकाएर खानेको संख्या पनि धेरै रहेको बताउँछन्, ललितपुरको नख्खुस्थित देवी मिट स्टोरकी सञ्चालक बिमला श्रेष्ठ । उनको पसलमा ९ वर्षदेखि धराने कालो बंगुरको मासु बिक्री हुँदै आएको छ । उनी भन्छन्, ‘विशेष गरी युवाहरू धराने बंगुरको मासु खोज्दै आउँछन् । पहिले राई लिम्बुले धेरै पोर्क खोज्थे।

अहिले सबै समुदायले लिन आउँछन् ।’ कम्तीमा १२ घन्टा डिप फ्रिज गरिएको पोर्क खानुपर्ने उनले सुझाइन् । त्यस्तै मज्जाले पकाइएको पोर्क मात्र खानुपर्ने उनको सुझाव छ । धराने कालो बंगुरको नाम सुनेकै भरमा पनि मासु किन्नका लागि ग्राहक आउने गरेको उनले बताइन्।

प्रकाशित: २३ चैत्र २०७४ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App