मकवानपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडाको विकल्प नभएको बताएका छन्। प्रदेश नम्बर १, ६ र ७ को राजधानीको तुलनामा भौतिक पूर्वाधारसँगै हेटौंडा प्रदेशका सवै जिल्लाको उपयुक्त स्थानमा समेत रहेको उनले जिकिर गरे।
हेटौंडामा बिहिबारमा आयोजित नगरस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश राजधानीलाई राजनीतिक र ब्यक्तिगत स्वार्थको बिषय नबनाउन चेतावनी पनि दिए। ‘गृह नगर भनेर होइन, प्रदेश नम्बर ३ को सबैभन्दा उपयुक्त स्थान हेटौंडा हो,’ उनले भने ‘विगतमा मध्यमाञ्चल विकास क्षेत्रको केन्द्रमा रहेको थियो, जसकारण राजधानी हुन आवश्यक भौतिक पूर्वाधारहरु मा उपलव्ध छन्।’
अरु कुनैपनि जिल्ला वा क्षेत्रमा राजधानी राख्दा अरु कार्यालयको भवन खोस्नुपर्ने वा नयाँ निर्माण गर्नुपर्ने अवस्था रहेको भन्दै उनले क्षेत्रीय कार्यालयहरु रहेको हुँदा हेटौंडा राजधानीका लागि पूर्वाधारको दृष्टीबाट सवैभन्दा उपयुक्त रहेको दाबी गरे। ‘यातायातको सहजता र अन्य दृष्टीकोणबाट पनि हेटौंडा अत्यन्तै उपयुक्त छ’ उनले थपे।
‘प्रदेश नम्बर १, ६ र ७ का जनता प्रदेश राजधानी पुग्न कयौदिन लाग्छ, तर हेटौंडा आउन यस प्रदेशका १३ जिल्लाबाट बढीमा ५–६ घण्टामात्र लाग्छ’ उनले भने ‘काठमाडौं द्रुतमार्ग(फास्टट्रयाक), कान्तिराजपथ, हेटौंडा–चतरा सडक सञ्चालनपछि हेटौंडा अझ सहज केन्द्रको रुपमा रहनेछ।’
यसअघि प्रदेश राजधानी हेटौंडाको सट्टा भक्तपुरलाई प्रस्ताव गरिएको स्मरण गर्दै उनले भक्तपुर, बनेपा जे भनेपनि त्यो काठमाडौं उपत्यका भएको तर्क गरे। ‘काठमाडौं देशको राजधानीको साथसाथै हरेक बिषयको राजधानी जस्तो छ,’ अध्यक्ष थापाले भने ‘शिक्षा, स्वास्थ्य, रोजगारी, व्यापार, उद्योग सबैको राजधानीको रुपमा काठमाडौं उपत्यका रहेको छ।’
अव्यबस्थित बसोबासका कारण बुढानिलकण्ठबाट नजिकै रहेको सिँहदरबार आउन साँढे २ घण्टा लाग्ने भन्दै जनघनत्व र यातायातको चाप बढेको काठमाडौं उपत्यकामा प्रदेश राजधानी पनि राख्नु सर्वथा उपयुक्त मान्न नसकिने बताए। हेटौंडालाई स्थायी राजधानी घोषणा गरि प्रदेशको राजधानीको विवाद अन्त्य भएको घोषणा गर्न उनले सबै राजनीतिक दलहरु, प्रदेश सभाका सदस्यहरु, प्रदेश सरकारलाई आग्रह गरे। उनले प्रदेशको राजधानी सामान्य बिषय नभई भावीपुस्ताको भविष्यसँग जोडिएको बिषय भएकाले एकताबद्ध भएर काम गर्न हेटौंडावासीलाई आग्रह पनि गरे।
प्रकाशित: २२ चैत्र २०७४ १५:५२ बिहीबार