८ वैशाख २०८१ शनिबार
समाज

लामो समयपछि वर्षा, किसान हर्षित

सिन्धुली – लामो समयदेखि खडेरी परेर चिन्तित भएका किसान बुधबार वर्षा भएपछि हर्षित भएका छन्। लामो समयको खडेरी पछि एक्कासी बुधबार परेको पानीका कारण जिल्लाको कमलाखुँज तथा महाभारत क्षेत्रका कृषकहरू खुसी भएका छन्।

लामो समयको खडेरी पछि पानी परेको छ, साविक क्यानेश्वर गाविस निवासी धनबहादुर मोक्तानले भने –‘लामो समयदेखि पानी नपर्दा जमिन बाझै बस्ने स्थानीयलाई चिन्ता थियो।’ पानी नपर्दा खेतबारीमा बाली लगाउन समेत नपाएका किसानहरूका लागि पानीले उत्साह थपेको छ। पानी परेको छ अब बाली लगाउन पाइने भइयो उनले भने। पानी परेपछि सिन्धुली सदरमुकाममा बढेको अत्याधिक गर्र्मी मौसम बाट शीतलताको अनुभुती समेत गर्न पाएका छन् स्थानीयबासिहरूले। खडेरीपछिको पानीले किसानहलाई त फाइदा पुगेकै छ, सुनकोसी गाउँपालिका ७ का एक स्थानीयले भने–‘ दैनिक जसो लागेको डढेलो नियन्त्रणमा समेत पानीले सघाएको छ।’

लामो समय परेको खडेरीका कारण सिन्धुलीमा दैनिकजसो आगलागी भएको थियो। आगलागीकै कारण जिल्लाको बिभिन्न स्थानका सामुदायिक वनमा ठूलो क्षति पुगेको थियो उता हावाहुरी सहित आएको पानीले जिल्लामा यस वर्ष राम्रो उत्पादनको सङ्केत देखाएकोले आँप, लिची,जुनार नास्पाती जस्ता फलफूललाई भने क्षती भएको छ। पानीसँगै हावाहुरीका कारण यहाँका बगैचाका फलफूलको फुल भने झारेको छ।

जिल्लाको बिभिन्न स्थानमा व्यवसायीक रुपमा नै फलफूल खेती गर्दै आएका किसान भने चिन्तित छन्। जिल्लामा विशेष गरि जुनार लिची जस्ता फलफूल व्यवसायीक रुपमा नै खेती हुँदै आएको छ। वर्षा हुने समय भएपनि अहिलेको अवस्थामा राम्रो वर्षा भएको छैन, एक्कासी क्षतविक्षत पार्ने वर्षा मात्र हुन्छ, क्यानेश्वर गाविसकै अर्का एक शिक्षकले भने–‘कहिले फलफूलमा क्षती पुर्याउछ त कहिले विद्यालय वा अन्य भवनमा क्षती पुर्याउछ।’

महाभारतका किसान खुसी
यहाँको महाभारत क्षेत्र अन्तर्गतका दर्जनौ स्थानका बारी हालसम्म बाझै रहेको बारिमा मकै रोप्न पानीले सघाएको छ।  लामो समयदेखि पानी नपर्दा माघ पहिलो सातामै मकै रोप्नुपर्ने साविकका बिभिन्न गाविसमा हालसम्म मकै रोप्न सकिएको थिएन तर पानी परेपछि भने अब मकै रोप्न मिल्ने स्थानीय किसान बताउछन्।

महाभारत क्षेत्र अन्तर्गत जलकन्या, मझुवा, भद्रकाली लगायतका गाविसमा हालसम्म मकै रोप्न नपाउदा किसान चिन्तित थिए। लामो समयदेखि बर्षा नहुँदा माघको पहिलो साताबाटै मकै छर्न सुरु गर्ने किसानले हालसम्म बाझो बारी समेत जोत्न पाएका छैनन्। चैतको पहिलो साता वित्नै लाग्दा समेत बाझै रहेको बारीमा अब भने मकै छर्न पाइने भएपछि स्थानीय खुसी देखिएका छन् ।

प्रकाशित: २२ चैत्र २०७४ ०८:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App