६ वैशाख २०८१ बिहीबार
समाज

निर्माणाधिन वन कार्यलयको भवन तीन बर्षदेखि अलपत्र, ठेकेदार बेपत्ता

सोलुखुम्बु – तीन बर्षदेखि जिल्ला वन कार्यालय सोलुखुम्बुको निर्माणाधिन भवन अलपत्र बनेको छ। ठेकेदार कम्पनीको लापरबाहीका कारण भवन अलपत्र बनेको हो। शान्ति तथा पुननिर्माण मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गा मार्फत २०७१ साल माघ २० गते एक करोड २९ लाख रुपैयाँमा दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी भवन निर्माणको काम थालीएको थियो। निलगिरी निर्माण सेवाले जिम्मा लिएको उक्त भवन निर्माण कम्पनीको लाहापर्वाहीका कारण हाल पनि निर्माण हुन सकेको छैन।

सम्झौता अनुसार म्याद नाघेको बर्षदिन बितिसक्दा पनि निर्माण कम्पनी सम्पर्कमा नआएकाले जिल्ला वन कार्यालय सोलुखुम्बुले शहरी बिकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गालाई लिखित पत्र नै काटेर ताकेता गरेको छ। तर कुनै चासो नदिएको जिल्ला वन कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कृष्णबहादुर थापाले बताए। उनले भने, ‘अहिले कार्यालय भएको भवन भूकम्पबाट क्षति रहेको र जोखिमपूर्ण भवनबाटै सेवा दिनुपरिरहेको छ। वर्षातको समयमा पानी चुहिएर कागजपत्र भिज्ने समस्या रहेको उनले बताए।

विभिन्न फाँटका लागि समेत ठाउँको अभाव रहेको कार्यलयले जनाएको छ। समयमा नै निर्माण सम्पन्न नभएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको पहलमा २०७३ साल चैत्र मसान्तभित्र निर्माणको काम सक्ने ठेकेदार कम्पनीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको भएपनि उक्त सम्झौता कागजमा मात्र सिमित रहेको बताइएको छ। प्रतिबद्धता करार पत्रअनुसार भवन डिभिजनबाट थप २० लाख रुपियाँ भुक्तानी दिए पनि प्रगति भने शुन्य छ।

स्थानीय स्तरमा निर्माणको जिम्मा लिएका बुद्धि मगरले निर्माण कम्पनीको नाममा बजेट निकासा गरेर कम्पनीले आफुले काम गरेजति बजेट नदिएकाले काम नगरेको बताएका छन्। उनले काम लगाएका मजदुरलाई पैसा दिन नसकेपछि काम रोक्न बाध्य हुनुपरेको बताएका छन्। निर्माण कम्पनीका ठेकेदारलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको उनी बताउँछन्। भवन अलपत्र बन्दा भवनमा प्रयोग गरिएको काठ समेत कुहिन थालेको छ।

यता, भवन डिभिजन कार्यालय ओखलढुङ्गाका प्रमुख सुवास बस्नेतले निर्माण कम्पनीलाई पटक–पटक पत्राचार गर्दा समेत वास्ता नगरेपछि कानुनी प्रक्रिया सुरु गरेको जानकारी दिए। अब पनि काम अघि नबढाए यस अघि निकासा दिएको रकम फिर्ता गरी ठेक्का तोडिने बस्नेतले बताए। भवन डिभिजन कार्यालयले रनिङ बिल अनुसार ६२ लाख ५० हजार रुपियाँ भुक्तानी गरेको छ। रकम भुक्तानीलाई हेर्दा पचास प्रतिशत मात्र काम भएको देखिन्छ। उता ठेकेदार मगरले निर्माणाधिन भवनको ७० प्रतिशत काम सम्पन्न भएको दाबी गरेका छन्। काम भए अनुसारको रकम भुक्तानी दिएमा एक महिना भित्र काम सम्पन्न गर्ने मगरको दावी छ।

प्रकाशित: २२ चैत्र २०७४ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App