coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

माग उच्च, प्रोत्साहन शून्य

साखेजुङमा आयोजित कार्यक्रममा चिया किसान र उद्योगीका समस्या राख्दै चिया उद्यमी मिलनकुमारी खत्री। तस्बिरः नागरिक

साखेजुङ (इलाम) – चिनियाँ राजदूत यु होङले इलामका चिया कारखानामै आएर चीनसहित तेस्रो मुलुकमा नेपाली चियाको बजार सम्भावना उच्च रहेको बताएपनि किसानले चाहिँ अर्गानिक उत्पादनमा प्रोत्साहन नै नभएको गुनासो गरेका छन्। किसानले अर्गानिक चियामा सहुलियत पाए विश्वमा यसको माग धानिनसक्नुको रहेको पनि जनाए।

साखेजुङस्थित कञ्चनजंघा अर्गानिक चिया प्रशोधन उद्योगकी सञ्चालिका मिलनकुमारी खत्रीले उद्योगले धान्नेभन्दा निकै बढी तयारी अर्गानिक चियाको माग आएपनि सरकारले उत्पादनमा प्रोत्साहन भने नगरेको बताइन्। ‘मेरो उद्योगमा बर्सेनि ९ लाख किलो अर्गानिक चियाको माग आएको छ तर उद्योगको उत्पादन त्यसको एक तिहाई पनि छैन,’ उनले भनिन्, ‘अर्गानिक मलखाद, विषादीलगायतको अभावले उत्पादन पुर्याउने सकिएको छैन।’ उनले तयारी चिया विदेश निर्यातमा दर्जनौं झन्झट रहेको भन्दै ती झन्झट हटाउन स्थानीय सरकारले पहल गर्नुपर्ने बताइन्।

अहिलेसम्म किसान र उद्योगीको प्रयास र केही गैरसरकारी संस्थाको सहयोगले मात्रै अर्गानिक चियाको बजार विश्वसम्म पुगेको उनले जनाइन्। ‘चियाखेती दीर्घकालीन बनाउन अरूको भर परेर हुँदैन, स्थानीय सरकारले किसान र उद्योगीलाई अर्गानिक उत्पादनमा प्रोत्साहन गर्नेगरी नीति बनाउन आवश्यक छ।’

किसानले अर्गानिक चियाको माग अहिले जिल्लाका उद्योगले धान्न नसकेपनि सरकारको सहयोग चाहिँ शून्यझैं रहेको बताए। बर्सेनि २ हजार किलो उत्पादन हुने कारखानामा २ लाख किलोसम्म तयारी चियाको माग आइरहेको भन्दै किसानले अबको बजार अर्गानिक उत्पादनकै रहेको जनाए। अर्का चिया किसान केशवप्रसाद दाहालले स्थानीय सरकारहरूले स्थानीय कृषि उत्पादनको सम्भावना हेरेर त्यसैलाई प्रोत्साहन गर्नुपर्ने बताए। ‘इलाम चियाकै राजधानी हो भनिन्छ, अर्गानिक चियाको राजधानी इलामलाई नै बनाउन पनि सकिन्छ,’ उनले भने, ‘तर, स्थानीयदेखि तीनै तहका सरकारले यसबारे ठोस योजना बनाएको चाहिँ कतै देखिँदैन।’

भारतले केही वर्षअघि नेपालको अर्गानिक बाहेकको चिया आयात प्रतिबन्ध लगाउने जनाउ दिएपछि यहाँका हजारौं किसान र उद्योगी झस्किएका थिए। केही उद्योगले अर्गानिक चिया उत्पादन गरिरहेपनि निरन्तरता दिन सकेका थिएनन्। दुई दिनअघि इलामका चिया कारखानाको निरीक्षणमा आएकी चिनियाँ राजदूत होङले चीनमा मात्र नभई नेपाली चियाको बजार अन्य देशमा समेत राम्रो रहेको बताएपछि किसान र उद्योगी हौसिएका छन्। तर, अर्गानिक चिया उत्पादनमा चाहिँ सरकारले विभिन्न सहुलियतका कार्यक्रम ल्याउन र झन्झटिलो निर्यातप्रक्रिया सहज बनाउन नसकेको किसान र उद्योगीको गुनासो छ।

चिया किसान तथा उद्योगी टंक दाहालले उद्योगलाई चाहिने आधारभूत आवश्यकता विद्युत्, सडकजस्ता पूर्वाधारकै अभावले किसान र उद्योगीलाई समस्या भइरहेको बताए। ‘चिया क्षेत्रको प्राविधिकदेखिका सेवाको जिम्मेवारी कृषि विकास कार्यालयको नभई चिया विकास बोर्डको देखिन्छ तर बोर्डले सबै किसानसम्म पुगेर सेवा दिन सकेको छैन,’ उनले भने, ‘किसानका वास्तविक समस्या के छन् भन्नेबारे नजिकैको स्थानीय सरकार वा चिया विस्तार आयोजनाले ख्याल गर्नुपर्छ र किसानलाई सहयोग गर्नुपर्छ।’

अर्का किसान पर्शुराम घिमिरेले पनि स्थानीय तहले अर्गानिक उत्पादनका लागि बेग्लै नीति बनाउनुपर्ने माग गरे। ‘अहिलेसम्म त हाम्रो चिया विदेशमा बिक्दैछ, ननअर्गानिक नै बनाइरहने हो भने केही वर्षदेखि हाम्रो चिया विदेश जानै छाड्छ,’ उनले भने, ‘त्यसैले स्थानीय तहले अर्गानिक कृषि उत्पादनको बेग्लै व्यवस्था गर्नुपर्छ।’ उद्योगहरूले किसानलाई हरियो पत्तीको मूल्य फरक–फरक दिने गरेको भन्दै मूल्यमा एकरूपता कायम गराउन पनि किसानले स्थानीय सरकारसमक्ष मागसमेत गरे। ‘एउटै गुणस्तरको चियाको मूल्य उद्योगहरूमा किन फरक परेको हो भन्ने अनौठो लाग्छ,’ चिया किसान श्यामबहादुर थापाले भने, ‘मूल्य समायोजन गर्नुपर्छ र किसानलाई निमेक उठ्ने मूल्य दिनुपर्छ।’

देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेलले चिया किसानले गुणस्तरभन्दा परिणाममा ध्यान दिएका कारण मूल्य पाउन नसकेको बताए। ‘हामी थोरैलेबाहेक अन्यले अहिलेसम्म गुणस्तरमा ध्यान दिएनौं, अब यसको बजार र माग राम्रो रहेकाले अर्गानिक उत्पादनलाई नै प्राथमिकता दिने हाम्रो योजना छ,’ सामुदायिक रेडियो प्रचारक संघ (अकोर्याब) र स्थानीय इलाम एफएमले साखेजुङमा आयोजना गरेको किसानसँगको सबाल–जवाफमा प्रमुख पोख्रेलले भने, ‘विश्व बजारमा माग र उच्च सम्भावना भएको चिया क्षेत्रका लागि अब स्थानीय तहले नै जिम्मेवारीसाथ काम गर्नेछ।’

उनले इलामलाई अर्गानिक उत्पादनकै जिल्लाका रूपमा चिनाउने सम्भावना पनि रहेकाले स्थानीय तहको ध्यान त्यतातिर जानुपर्ने बताए। इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले चियाको गुणस्तर वृद्धि, जैविक उत्पादन, चिया मजदुरको हकहीत र चिया पर्यटनबारे नगरापालिकाले योजना बनाउने प्रतिबद्धता गरे। ‘नगरपालिकाले कृषिलाई उच्च प्राथमिकतामा राखेको छ, त्यसमा पनि चियाका लागि बेग्लै र स्पष्ट नीति बनाउन जनप्रतिनिधि प्रतिबद्ध छन्,’ उनले भने।

प्रकाशित: २२ चैत्र २०७४ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App