७ वैशाख २०८१ शुक्रबार
विचार

खोलो उल्टो बगेपछि...

हास्य कलाकार जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरेले एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने घोषणा गरेपछि अहिले देशमा ठूलो तरङ्ग पैदा भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि कट्टेल र घिमिरेको भावना बोलेको थियो, ‘अब अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनै पर्छ।’

दलका नेताहरू कुर्चीमा पुगेपछि दिने फोस्रा अश्वासन, निर्वाचनका बेला मतदातामाझ बाँडिने पपुलर अजेन्डा जो निर्वाचनसँगै विलीन हुन्छन्, प्रशासनिक ढिलासुस्ती, झाङ्गिँदो भ्रष्टाचार, नातावाद, स्वार्थप्रेरित नेतृत्व, अस्थिरता आदिका कारण राज्यप्रति आजित सर्वसाधारण त्यो घोषणा सुन्दा उत्साहित हुनु स्वाभाविक थियो ।  

आफू झन्डावाला गाडीमा सवार हुँदा खेलकुदलाई लगानीको दृष्टिले अनुत्पादक क्षेत्र ठान्ने पूर्वमन्त्रीहरू पनि धुर्मुसको नम्बर डायल गर्ने होडमा तँछाड–मछाड गरिरहेका छन्। सम्बद्ध निकायका जिम्मेवार नेतृत्वको यो हानथापले देशमा राज्यको नेतृत्वमा केही हुन्छ भन्ने आशा समाप्त पारेको छ। 

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यो घोषणालाई स्वागत गर्नु र सहयोगको वाचा गर्नुलाई पनि अस्वाभाविक मान्न मिल्दैन । तर रंगशाला मात्र नभई सम्पूर्ण देश बनाउने जिम्मेवार केन्द्र सरकारका मन्त्रीदेखि प्रधानमन्त्री, विभिन्न प्रदेशका मन्त्रीहरूदेखि मुख्यमन्त्रीरू, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव र स्थानीय तहका जनप्रतिनिधिहरूसमेतको लावालस्कर पनि रंगशाला बनाइदिऊन् भनेर कट्टेल र घिमिरेको पछि लाग्नुचाहिँ दुर्भाग्यपूर्ण छ । यो खोला उल्टो बगेजस्तो भयो । सरकारकै सरोकारवाला निकाय जसको काम नै यस्तै पूर्वाधार बनाउने हो, यस्तै पूर्वाधारको लागि बजेट निर्माण गर्ने हो, उनीहरूसमेत कलाकारको पछि लाग्नुले ‘हामी सक्दैनौँ । हामी निकम्मा भयौँ । अब तिमी बनाइदेऊ । यहाँ हामी आफैँ सञ्चालकलाई यो राज्य संयन्त्रप्रति विश्वास छैन । तिमीहरू आऊ । रक्षा गरिदेऊ’ भन्ने नै अर्थ लाग्छ। 

दुई दशकभन्दा लामो समयदेखि कीर्तिपुरको मैदानले नेपाली क्रिकेटलाई सेवा प्रदान गरिरहे पनि त्यसको स्तरोन्नतिमा राज्यबाट कुनै माखो मारिएको छैन। मूलपानीको बहुचर्चित क्रिकेट रंगशाला शिलान्यास भएको १२ वर्ष बितिसक्यो । प्रत्येक सरकारको योजनामा रहने गरे पनि अझैसम्म सानो जग्गा विवादमा सरकारबाट प्रभावकारी निर्णय नहुँदा मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान अलपत्र अवस्थामा छ । भुइँचालोले चिरा पारेको देशकै एकमात्र बहुउद्देश्यीय दशरथ रंगशाला भर्खर भत्काउन थालिएको छ । महेन्द्रनगर, धनगढीको फाप्ला, कोहलपुर, दाङ, भैरहवा, चितवन, मकवानपुरको गौरीटार, वीरगन्ज रंगशाला, जनकपुरको प्रस्तावित रंगशाला, मोरङको बैजनाथपुर पूर्वाधार निर्माणको पर्खाइमा रहेका उपयुक्त जग्गाका केही उदाहरण हुन् । राज्य र राज्य चलाउनेहरूले यी सबै जग्गामा रंगशाला बनाउने घोषणा गरेको वर्षौं बितिसक्यो । तर काममा सिन्को भाँचिएको छैन । जग्गा समस्या होइन, काम गर्ने प्रतिबद्धता र इमानदारीको खाँचो हो । जुन राज्यमा अहिले पनि देखिएन।

लगानी पनि समस्या होइन ।प्रत्येक वर्ष काम नभइकनै करोडौँ सरकारी बजेट फ्रिज भइरहेको छ । धनगढीको फाप्लामा ड्रिम फाप्ला प्रोजेक्टअन्तर्गत निजी–सरकारी साझेदारी मोडलमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउन धनगढीका युवाहरूले गरेको प्रस्ताव सरकारी निकायका कुनै दराजमा थन्किएको वर्षाेंै भइसक्यो । सरकारले स्पष्ट नीति बनाएर निजी क्षेत्रलाई आह्वान गरेमात्र पनि थुप्रै पूर्वाधार बन्ने देखिन्छ अथवा ड्रिम फाप्लाको प्रस्तावमा सरकारले सम्झौता मात्र गरिदिएको भए रंगशालाको जग उहिल्यै उठिसकेको हुन्थ्यो।

जग्गा खोज्न चाँगु नारायण पुग्ने मुख्यमन्त्रीदेखि सरकारी लगानीमै आधाभन्दा बढी काम भइसकेको र सामान्य जग्गा विवादका कारणमात्र रोकिएको मूलपानी रंगशालामा धुर्मुसलाई घुमाउने सदस्यसचिव, समृद्धिको सपना बाँडेर भोट लिने प्रधानमन्त्रीदेखि विकासको आश्वासन दिँदै मेयर हुने रेणु दाहालसम्मले सोझै ‘हामी सक्दैनौँ । धुर्मुसहरू आउनुस् र बनाउनुस्’ भने बरू इमानदारी हुन्थ्यो। 

धुर्मुसको उपनामबाट चिनिने कट्टेल र उनकी जोडी घिमिरे (सुन्तली) ले रंगशाला बनाउने घोषणा गर्नेबित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै बोलाएर ‘तपार्इंहरू रंगशाला बनाउनुस्, सरकारले सहयोग गर्छ’ भनेको खबर सार्वजनिक भयो । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल त धुर्मुसलाई लिएर हराएको सामान जसरी जग्गा खोज्न चाँगुनारायणको डाँडोमा पुगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । देशभरको खेलकुद विकास गर्ने जिम्मा पाएको राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी प्रमुख केशवकुमार विष्टले पनि मूलपानीको निर्माणाधीन क्रिकेट रंगशालामा धुर्मुसलाई भ्रमण गराएर पोज–पोजका फोटो खिचाउन रमाइलो माने । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले धुर्मुसलाई जग्गा दिने घोषणा गरिन् । पोखरा, भैरहवालगायतका ठाउँबाट पनि आफैँमाथि विश्वास नभएका खेल नेतृत्व र जनप्रतिनिधिहरूले धुर्मुस–सुन्तलीलाई रंगशाला बनाइदिन गुहारे । आफू झन्डावाला गाडीमा सवार हुँदा खेलकुदलाई लगानीको दृष्टिले अनुत्पादक क्षेत्र ठान्ने पूर्वमन्त्रीहरू पनि धुर्मुसको नम्बर डायल गर्ने होडमा तँछाड–मछाड गरिरहेका छन्।

सम्बद्ध निकायका जिम्मेवार नेतृत्वको यो हानथापले देशमा राज्यको नेतृत्वमा केही हुन्छ भन्ने आशा समाप्त पारेको छ । सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि धुर्मुस–सुन्तलीको घोषणा र राज्यपक्षको लाचारीले लामै ‘बिजिनेस’ दिएको छ । 

धुर्मुस–सुन्तली खासमा सानो पर्दाका लोकप्रिय हास्य कलाकार हुन् । मुख बङ्ग्याएर होस कि कुप्रो परेर, ग्रामीण जनजीवनका दरिद्रता देखाएर होस् वा सामाजिक सन्देश दिएर किन नहोस् यो जोडी लोकलाई हँसाउन सफल भएकै थियो । व्यावसायिक रूपमा राम्रो गरिरहेको थियो। 

२०७२ वैशाख १२ र २९ गतेका महाविनाशकारी भूकम्पले केही समयका लागि सम्पूर्ण नेपालीलाई आआफ्नो पेसाबाट टाढा पु¥यायो । महाभूकम्पबाट ज्यान जोगाउन सफल सबै नेपाली पीडितको उद्धार, राहत र पुनर्निर्माणको काममा समर्पित भए । अस्थायी रूपमा देशभित्र र विदेशमा रहने नेपालीसमेत सामाजिक अभियन्ताका रूपमा सक्रिय भए । समयक्रमले भूकम्पको घाउ बिर्साउँदै लग्यो । जनजीवन सामान्यीकरणतर्फ उन्मुख भयो । अस्थायी सामाजिक अभियन्ताहरू पनि आ–आफ्नो पेसामा फर्किन थाले। 

तर धुर्मुस र सुन्तलीको मन मानेन । भुइँचालोबाट घरबारविहीन भएकाहरू अझै पालमै कष्टकर जीवन बिताइरहेका थिए । धेरैको भाग्यमा गतिलो पालसमेत थिएन । पुस–माघको ठिही भोग्ने पीडितले बर्खाको पानी थेग्न सक्ने छानेको आशामा थिए । त्यो पनि पूरा भइरहेको थिएन । दिन, महिना, वर्ष बित्ने क्रम चलिरहेको थियो । तर ठूलठूला घोषणा गरे पनि प्रक्रियाको साङ्लोमा अल्झिएको राज्य राहत परै जाओस् झन् घाउ कोतर्न मस्त थियो। 

धुर्मुस–सुन्तली त कलाकार न परे, भावुक मनका । त्यसैले धेरै अस्थायी अभियन्ताहरू पेसामा फर्किए पनि यिनको भावुक मनले पूरा देश रोइरहेको बेला मुख बिगारेर लोकलाई हसाउने व्यर्थ प्रयास गर्न अनुमति दिएन । त्यसैले सिन्धुपाल्चोकबाट सुरु भएको नमुना बस्ती बसाउने यिनको अभियान काभ्रेपलाञ्चोक हुँदै महोत्तरीको मुसहर बस्तीसम्म पुग्यो ।अर्बौंको राज्यकोषका साथै विदेशी सहयोगको समेत सुविधा रहेको पुनर्निर्माण प्राधिकरणलाई निकम्मा साबित गर्दै धुर्मुस–सुन्तलीले उदाहरणीय काम गरेका थिए। 

राज्य आफैँ इमानदारी र प्रतिबद्धतामा विश्वास गर्न लायक नभएको अवस्थामा उदाहरणीय अभियान चलाउने धुर्मुस–सुन्तली नेपाली समाजका आदर्श बन्नु स्वाभाविक थियो, बने । जनस्तरमै विश्वसनीयता आर्जन गर्न सफल धुर्मुस–सुन्तलीको अभियानलाई देश–विदेशबाट अपेक्षा गरेभन्दा बढी साथ सहयोग मिल्यो । सामान्य हास्य कलाकारबाट देशकै आदर्श अभियन्ताका रूपमा परिचय फेर्न उनीहरूलाई समय लागेन। इमानदारी, निष्ठा, प्रतिबद्धता, पारदर्शिताको खडेरी परेको देशमा हरेक नागरिक यस्तै आदर्श व्यक्तिको खोजीमा रहिरहेको हुन्छ । नेपाली समाजले पनि आफ्नो खोजीको आदर्श नायक धुर्मुस–सुन्तलीमा पायो । कुनै पनि समाजले यस्तो आदर्श नायक पाउनु समाजशास्त्रीय दर्शनले ठीक भन्न सक्ला, नयाँ पुस्ताले यस्तै आदर्शलाई पछ्याउने अपेक्षामा। 

प्रशासनको नालायकीका कारण धुर्मुस–सुन्तलीको लोकप्रियता जसरी बढ्दै थियो, राज्यप्रतिको विश्वास त्यति नै घट्दो थियो । किनकि पुनर्निर्माणको जिम्मा सरकारको थियो । धुर्मुस–सुन्तली वा उनीहरूजस्तै थुप्रै अभियन्ताहरूको काम सरकारलाई सहयोग पु¥याउने मात्र हो । तर सरकारले भूकम्पपछि उद्धार, राहत र पुनर्निर्माणमा विश्वासलाग्दो नेतृत्व गर्न नसकेपछि समाजले धुर्मुस–सुन्तलीजस्ता अभियन्ताको निरन्तरता अपेक्षा ग¥यो । धुर्मुस–सुन्तलीले पनि आफ्नो पेसा स्थगनमा राख्दै यही अभियानमा आफूलाई समर्पित गर्दै गए । अपेक्षा गरेभन्दा कैयौँ गुणा बढी चासो, साथ र सहयोग पाउँदा उनीहरू उत्साहित हुनु स्वाभाविक थियो । परिणाम राज्य संयन्त्र आफैँमा कमजोर थियो, जनतालाई राज्यप्रति विश्वास थिएन, स्वयं सरकार र त्यसका निकायहरूलाई पनि आफूमाथि विश्वास रहेनछ । आफ्नै इमानदारी, प्रतिबद्धता, पारदर्शितामा विश्वास रहेनछ । धुर्मुस–सुन्तलीले एउटा रंगशाला बनाउँछु भन्दा अहिले प्रधानमन्त्रीदेखि पियनसम्मको लस्कर उनीहरूको पछि लाग्नुले यही प्रमाणित गरेको छ ।

प्रकाशित: २२ चैत्र २०७४ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App