coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पेनाल्टी सुटआउटमा आर्मीलाई सफलता

मोरङ – नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नेपाल आर्मी क्लब बुधबार विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सहिद रंगशालामा सम्पन्न खेलको निर्धारित समय र अतिरिक्त समयमा समेत गोलरहित बराबरी भएपछि खेलको नतिजाका लागि पेनाल्टी सुटआउटको सहारा लिनुपरेको थियो।

पेनाल्टी सुटआउटमा आर्मीका भरत खवास, जर्ज प्रिन्स कार्की, दीपक गुरुङ र विवेक बस्नेतले गोल गरे । नेपाल पुलिसका सुमन लामा र दिनेश राजवंशीले मात्र गोल गर्न सफल भए । पुलिसका नीरकुमार राईले गरेको दोस्रो पेनाल्टी प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए भने मानबहादुर परियारले गरेको तेस्रो पेनाल्टी प्रहार अकासिएको थियो।

‘लगातरको प्रतियोगिता कारण खेलाडीहरू थकित देखिए,’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘त्यसैले स्वाभाविक खेल प्रदर्शन गर्न सकेनौं । विकेशको उत्कृष्ट प्रदर्शनमा हाम्रो अन्तिम ४ मा स्थान पक्का बन्यो । आगामी खेलमा लयमा फर्कनेमा आशावादी छाैं।’

खेलको अधिकांश समय बल नियन्त्रण राखे पनि आर्मीका गोलकिपर बाधक बन्दा पुलिसले अग्रता लिने अवसर गुमाएको थियो ।
खेलको तेस्रो मिनेटमा हेम तामाङले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा पुलिसले अग्रता लिने अवसर गुमाएको थियो।

१७औं मिनेटमा बुद्ध लामा र अविशेक रिजाले वान टु वानमा प्राप्त बलमा विकेश बाधक बन्दा पुलिस निराश बनेको थियो ।
२८औं मिनेटमा आर्मीले अग्रता लिने सुनौलो अवसर पाएको थियो । तर कान्उटर अट्याकमा प्राप्त बलमा जर्ज प्रिन्स गोल गर्न चुक्दा आर्मी निराश बनेको थियो । उनको प्रहार पुलिसका गोलकिपर शत्रुघ्न चौधलीले बचाएका थिए।

त्यस्तै ३४ र ३५औं मिनेटमा विकेशले अभिशेक र हेमका दुई खतरनाक प्रहार रोक्दै आर्मीको संकट टारेका थिए । मध्यान्तर हुन ४ मिनेट बाँकी हुँदा नवयुग श्रेष्ठ वान भर्सेस वानमा गोल गर्न चुक्दा आर्मी पुनः एक पटक निराश बनेको थियो ।त्यस्तै ७५औं मिनेटमा सुमन लामाको प्रहार पोस्टमा लागेर फर्कंदा पुलिसले अग्रताको अवसर गुमाएको थियो।

खेलमा पुलिसका रवि पासवानले म्यान अफ दी म्याच हुँदै नगद १० हजार रुपैयाँ हात पारे । प्रतियोगिताअन्तर्गत बिहीबार हुने अन्तिम क्वार्टरफाइनलमा मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २२ चैत्र २०७४ ०४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App