८ वैशाख २०८१ शनिबार
कला

थाइल्यान्डबासी नेपालीको कथाव्यथा पुस्तकमा

काठमाडौं– थाइल्याण्डमा बस्दै आएका युवा लेखक कुमार कार्कीको नयाँ कृति ‘जीवन संघर्ष’ सार्वजनिक भएको छ।

बर्मा, थाइल्याण्ड र नेपालको कथा समावेश गरिएको पुस्तकको राजधानीमा बुधबार संस्कृतिविद् सत्यमोहन जोशी, अभिनेता राजेश हमाल, पुस्तकका सम्पादक रमेश खड्का, समीक्षक तथा सञ्चारविज्ञ प्रा.डा. रामकृष्ण रेग्मी, आध्यात्मिक गुरु चिन्तामणि योगी, अभिनेत्री भुवन चन्द र लेखक कार्कीले पुस्तक सार्वजनिक गरे।

संस्कृतिविद् जोशीले पुस्तक नेपाली डायस्पोराको सांस्कृतिक चित्र रहेको बताए । ‘हामी जहाँ भए पनि हामी नेपाली हौं । यो विचारलाई पुस्तकले अनुसरण गरेको छ,’ उनले भने । समीक्षक एवं सञ्चारविज्ञ रेग्मीले पुस्तकले कार्कीको जीवन यात्रालाई फोटोझैं  छर्लंगै पारेको दाबी गरे । अर्का समीक्षक योगीले पुस्तकले बर्मामा रहेका नेपालीहरूबीच नेपालीपन बुझ्न सजिलो बनाइदिएको बताए । अभिनेता हमालले पुस्तक विश्वभरका नेपालीले नेपाली हुनुको भावना बुझ्न पढ्नै पर्ने जिकिर गरे।

अभिनेत्री चन्दले पुस्तकसँग सामिप्यता भएको अनुभव सुनाइन् । लेखक कार्कीले आफ्नो जीवनका अनुभवलाई सँगालेर जन्मभूमि र कर्मभूमिसँगै पितृभूमि नेपालप्रतिको प्रेम र सौहार्दतालाई पुस्तकमा उतारेको जनाए । कार्यक्रममा धुर्मुस–सुन्तली फाउन्डेसनलाई पुस्तकको बिक्रीबाट आएको केही रकम, लेखकको परिवार र थाई नेपाली संघको तर्फबाट पाँच लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो।

पुस्तकमा बर्मामा नेपालीहरूको प्रवेश, उनीहरूले बर्मामा बसाइँसराई, जीविकोपार्जन, नेपाली भेष, भाषा र संस्कृतिको जगेर्नालगायतका विषयहरु समेटिएको छ । बर्मामा हाल करिब तीन लाख र थाइल्याण्डमा करिब १ लाख नेपाली बसोबासरत छन्।

चार भागमा विभाजित पुस्तकमा बर्मामा नेपालीहरूको बसोबासको इतिहास, एउटा आप्रवासी कामदारका रूपमा थाइल्याण्डमा गरिएका दुःख र संघर्ष, थाइल्याण्डमा नेपालीहरूको संगठित प्रयास तथा नेपालको महाभूकम्पपछि थाइनेपाली संघको तर्फबाट भएका सेवा र सहकार्य समावेश छन्।

 

प्रकाशित: २२ चैत्र २०७४ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App