coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

दैनिक ४ सय उडान, नौ रिफ्युलर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन बोकेर धावनमार्गतर्फ जाँदै रिफ्युलर । फाइल तस्बिर /नागरिक

काठमाडौं–  नेपाल आयल निगमसँग हवाई इन्धन (एटिएफ) भर्ने रिफ्युलर कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन व्यवस्थापन गर्न कठिनाइ भएको छ।

आन्तरिक र अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान भर्ने विमानको चाप बढेपछि निगमलाई इन्धन व्यवस्थापन गर्न हम्मे परेको हो । विमानस्थलमा रहेको हवाई इन्धन डिपोमा रिफ्युलर नहुँदा समयमै इन्धन भर्न नपाएपछि जहाजको उडानमा समेत ढिलाइ हुने गरेको छ । समयमा उडान नभएपछि त्यसको प्रत्यक्ष मार यात्रुलाई पर्छ।

दैनिक चार सय उडान हुने विमानस्थलमा सातवटा रिफ्युलरले एटिएफ भर्दै आएका छन् । प्रत्येक साढे दुईदेखि तीन मिनेटमा विमानले उडान भर्ने भएकाले एटिएफ व्यवस्थापन गर्न कठिनाइ भएको निगमको हवाई इन्धन डिपो प्रमुख मनोज ठाकुरले बताए । ‘नयाँ विमान कम्पनीले उडान थपेको–थप्यै छन्,’ ठाकुरले भने, ‘हामीसँग रिफ्युलरको कमी छ।’निगमले सन् २००९ यता एउटा पनि रिफ्युलर थपेको छैन । विमानस्थलमा १४ वटा रिफ्युलर आवश्यक पर्ने भए पनि निगमले आधा कम (सातवटा)ले काम चलाउँदै आएको छ।

निगमको विमानस्थल डिपोमा नौवटा रिफ्युलर रहे पनि सातवटाले मात्र सिधै जहाजमा इन्धन भर्न मिल्छ । निगमसँग २७ लिटरका दुई, १६ हजार लिटरका चार र ११ हजार लिटरको एक रिफ्युलर रहेको छ । दुईवटा पुरानो मोडलका रहेकाले सिधै रिफ्युल गर्न मिल्दैन । इन्धन ट्रान्सफरमा मात्र प्रयोग हुन्छ । हवाई इन्धन डिपोबाट एटिएफ लगेर विमानमा भर्ने उपकरण रिफ्युलर हो।

नयाँ विमान कम्पनी, उडान तालिका वृद्धि र एयर ट्राफिक बढ्दै गएपछि हवाई इन्धनको खपत पनि बढ्दै गएको छ । ‘एयर ट्राफिक बढेपछि इन्धनको खपत पनि बढ्छ,’ ठाकुरले भने, ‘त्यसको लोड हामीलाई पर्छ ।’ विमान कम्पनीले आफ्नो समयमा उडान भर्न नपाउँदा त्यसको असर पर्ने गरेको छ।

त्रिभुवन विमानस्थलमा अहिले ७६ लाख ४० हजार लिटर (७६ सय ४० केएल) हवाई इन्धन भण्डारण क्षमता छ । लामो समयदेखि भौतिक संरचना थप गर्न नसकेको निगमका अधिकारी स्वीकार गर्छन् । ‘सरदर १० दिनलाई पुग्नेमात्र इन्धन भण्डारण क्षमता रहेको छ,’ ठाकुरले भने, ‘अन्तर्राष्ट्रिय अभ्यासअनुसार कम हो।’

विमानस्थलमा अहिले दैनिक करिब ६ लाख लिटर इन्धन खपत हुन्छ । एटिएफ अन्य हवाई इन्धनजस्तो नभई अत्यन्त संवदेनशील भएकाले विभिन्न चरणमा फिल्टर गर्नुपर्छ। रिफ्युलरको लागि चाहिने उपकरण सजह रुपमा उपलब्ध नहुँदा पनि खरिद प्रक्रिया लम्बिएको हो । चेसिस पार्ट यहाँ पाइए पनि रिफ्युलरको ८० प्रतिशत उपकरण अमेरिकाबाट ल्याउनुपर्ने भएकाले तत्काल मर्मतसम्भार गर्न पनि कठिन छ । ‘भारतमा पनि रिफ्युलरका पार्ट बन्दैनन्,’ ठाकुरले भने, ‘अमेरिकाबाट मगाउनुपर्ने भएकाले भन्झटिलो छ।’

सार्वजनिक खरिद ऐनअनुसार किन्नका लागि भन्झट भएकाले पनि रिफ्युलर किन्न नसकेको निगमका अधिकारी बताउँछन् । पुराना रिफ्युलरको कार्यक्षमता पनि घटेको ठाकुरले बताए । ‘नयाँ जस्तो पुरानाले काम गर्न पनि सक्दैन,’ उनले भने । ‘टर्किस एयरले एकैपटक ५५ हजार लिटर इन्धन भर्छ,’ ठाकुरले भने, ‘एउटै विमानमा एउटा रिफ्युलरले मात्र भर्न मिल्दैन । यस्तो अवस्थामा ट्रान्सफर गर्न पुरानो प्रयोग गर्छौं ।’ बिहानदेखि मध्यरातसम्म निरन्तर इन्धन भर्नुपर्ने भएकाले मर्मतसम्भार गर्ने समय नभएको निगमका कर्मचारी बताउँछन्।

विमानस्थलमा हवाई इन्धन आपूर्तिको व्यवस्थापन गर्न कठिन भएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पनि स्वीकारे । ‘रिफ्युलरको संख्या कम हुँदा मुस्किलले धानिरहेका छौं,’ भट्टराईले भने, ‘समयमै खरिद गर्न नसक्दा जटिलता आएको हो।’२७ हजार लिटरका चारवटा रिफ्युलर खरिदका लागि टेन्डर गरिसकेको निगमले जनाएको छ । २७ हजार लिटरको रिफ्युलरलाई कम्पनी अनुसार साढे दुईदेखि तीन करोड रुपैयाँ पर्छ । तत्काल समस्या सुल्झाउन इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग रिफ्युलर सापटी मागेको भट्टराईले बताए।

‘नयाँ खरिद नहुँदासम्म आइओसीबाट ल्याउने विषयमा छलफल भइरहेको छ,’ भट्टराईले भने, ‘अल्पकालीन र दीर्घकालीन समस्या समाधानको खोजीमा छौं।’
त्रिभुवन विमानस्थलमा २८ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले ५० देखि ६० उडान भर्ने गरेका छन् । करिब एक दर्जन आन्तरिक वायुसेवा कम्पनीले दैनिक साढे दुई सयदेखि तीन सय उडान भर्छन् ।गत वर्ष निगमले २७ किलोलिटरका चारवटा, १६ किलोलिटरका ६ वटा, १२ किलोलिटरका चारवटा रिफ्युलरका लागि टेन्डर गरे पनि पछि रद्द भएको थियो ।

प्रकाशित: २२ चैत्र २०७४ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App