coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एक लाख लघु, घरेलु तथा साना उद्योग बन्द

काठमाडौ – विभिन्न समस्याले गर्दा मुलुकमा दर्ता भएका एक लाखभन्दा धेरै लघु, घरेलु तथा साना उद्योग बन्द भएका छन्।

सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्षसम्ममा एक लाख १५ हजारभन्दा धेरै यस्ता उद्योग कि बन्द भएका छन् कि नवीकरण नगरी राखिएको छ ।   आर्थिक वर्ष ०७२-७३ को औद्योगिक तथ्यांक अनुसार मुलुकमा तीन लाख ४८ हजार आठ सय ७० वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । तीमध्ये दुई लाख ३३ हजार पाँच सय ९२ उद्योगमात्र नवीकरण भएको देखिन्छ । अहिलेसम्म दर्ता भएकामध्ये एक लाख १५ हजार हाराहारी यस्ता उद्योग बन्द वा नवीकरण नभएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ।

‘विभिन्न कारणले लघु, घरेलु तथा साना उद्योग नवीकरण भएका छैनन्,’ महासंघका महासचिव धर्मप्रसाद रेग्मीले भने, ‘ती उद्योग कि बन्द भएका छन् कि नवीकरण नगरी बसेका छन्।’

आवश्यक तयारी नगरी उद्योग दर्ता गर्ने र पछि सञ्चालन गर्न नसकेर बन्द गर्ने समस्याले गर्दा कतिपय उद्योग नवीकरण नभएको रेग्मीले बताए । लगानीको तयारी गर्ने तर व्यावसायिक ज्ञान र आवश्यक प्रविधिमा पहुँच नहुँदा लघु, साना तथा घरेलु उद्योग बन्द हुने गरेका छन्।

त्यसैगरी, राम्रो उत्पादन गरेर बजारमा प्रतिस्पर्धा गर्न आवश्यक प्राविधिक तालिम समेत व्यवसायीमा छैन । ‘बजारको पहुँच, कच्चा पदार्थ अभाव र बजारको अध्ययन नहुँदा उद्योग बन्द हुने समस्या छ,’ रेग्मीले भने, ‘आवश्यक प्रविधि नहुँदा लघु, घरेलु तथा साना उद्योग सञ्चालन हुन सकेका छैनन् ।’रेग्मीका अनुसार कतिपय साना उद्योगले सरकारी प्रक्रिया छल्न नवीकरण नगरेका हुन् । दर्ता गरेर उद्योग चलाउँदा सरकारलाई कर तिर्नुपर्ने हुँदा यो बाटो अपनाइएको हो।

कर तिर्नुपर्छ भनेर नवीकरण नगरी वा बिनादर्ता उद्योग चलाउँदा व्यवसायीलाई नै घाटा हुने रेग्मीको भनाइ छ । ‘दर्ता नगरी सञ्चालन गर्दा राज्यबाट पाउने सुविधाबाट वञ्चित हुन्छन्,’ रेग्मीले भने, ‘कतिले त यो ज्ञान नभएर पनि दर्ता गरेका छैनन् ।’ दर्ता नगरी सञ्चालित लघु, घरेलु तथा साना उद्योग ठूलो संख्यामा छन् । दर्ता गरेर सञ्चालन गर्नुपर्छ भन्ने जानकारी सम्बद्ध व्यवसायीमा छैन।

तीन वर्षअघि गएको भूकम्पका कारण पनि कतिपय लघु तथा घरेलु उद्योग बन्द भएका छन् । भूकम्पपछि ब्युँतिन नसक्दा यस्ता उद्योग बन्द भएको रेग्मीले बताए । ‘कतिपय उद्योग अहिलेसम्म ब्युँतिन सकेका छैनन्,’ रेग्मीले भने, ‘मुलुकभर घरघरमा यस्ता घरेलु उद्योग सञ्चालनमा छन्।’

दर्ता भएकामध्ये दुई लाख १७ हजार ६ सय ७७ वटा लघु तथा साना र १५ हजार नौ सय १५ वटा घरेलु उद्योग छन् । यी उद्योगमा ३१ हजार नौ सय ३३ करोड लगानी भएको छ । यिनले २३ लाख ३७ हजार तीन सय ७३ जनालाई रोजगारी दिएका छन् । १० करोडसम्मको लगानी भएका उद्योग साना तथा घरेलुमा पर्छन्।

मुलुकको आर्थिक अवस्था सुधार गर्न सक्ने क्षमता भएका लघु, घरेलु तथा साना उद्योग समस्याग्रस्त भई बन्द हुँदा बेरोजगारी बढ्दै गएको छ । घरघरमा परम्परागत रुपमा घरेलु उद्योग सञ्चालन गर्दै आएका परिवारका सदस्य रोजगारी खोज्दै विदेश पलायन हुने क्रम जारी छ।

पछिल्लो २५ वर्षमा मुलुकको व्यापार घाटा ४२ गुणाले बढेको छ । यस अवधिमा मुलुकको प्रमुख आर्थिक गतिविधि हुने लघु, घरेलु तथा साना उद्योग पनि संकुचित हुँदै गएको कारणले मुलुकको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान १५ प्रतिशतबाट घटेर पाँच प्रतिशतमा सीमित भएको छ।

मुलुकमा सञ्चालन भएका लघु तथा घरेलु उद्योगको स्तरोन्नति तथा नयाँ उद्योग थप्न प्रत्येक पालिकामा साना उद्योग ग्राम स्थापना गर्ने र यस्ता उद्योगमा प्रविधि प्रतिस्थापन गर्न सरकारले अनुदान दिनुपर्ने व्यवसायीको माग छ ।

त्यसैगरी, उद्योगमा पुँजी पहुँचका लागि बैंकिङ तथा वित्तीय क्षेत्रको विपन्न वर्ग कर्जा र प्राथमिकता प्राप्त क्षेत्र कर्जाको लगानी प्रतिशत बढाई एउटै बास्केट फन्डमा राखेर उत्पादनमूलक उद्यम, व्यवसाय र उद्योगमा सहज लगानी गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने महासंघको भनाइ छ ।उद्योगका मिल, मेसिनरी र जेनेरेटर जस्ता ठूला उपकरण दर्ता गरी स्वामित्वको प्रमाणपत्र दिने र सो स्वामित्वको प्रमाणपत्र धितोमा कर्जा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि महासंघले माग गरेको छ ।

प्रकाशित: २२ चैत्र २०७४ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App