७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजपा संसदीय दलको बैठक आज

काठमाडौं – चुनाव सकिएको लगभग पाँच महिनापछि राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको पहिलो औपचारिक बैठक बिहीबार बस्दै छ।

संसदीय दलको बैठक बस्न ढिलो भएकाले राजपाले अझैसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन। बिहीबार बस्ने संसदीय दलको बैठकमा पार्टीको संसदीय दलको विधान र नियमावलीमाथि छलफल हुने पार्टीका अध्यक्ष मण्डलका सदस्य शरतसिहं भण्डारीले बताएका छन्। बुधाबार बसेको राजपाको अध्यक्ष मण्डलबैठकले आगामी बैशाख ७ मा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ। यसैगरी बैशाख ८ गते पार्टीको रानजीतिक समितिको बैठक बस्ने निर्णय गरेको छ। पार्टी स्थापना दिवसको अघिल्लो दिन बैशाख ६ गते अध्यक्ष मण्डलको अर्को बैठक बस्ने निर्णय पनि बुधबारको बैठकमा गरिएको छ। बैशाख ८ मा बस्ने राजनीतिक समितिको बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने नेताहरूले जनाएका छन्।

बुधबारको अध्यक्ष मण्डलको  बैठकमा पार्टीको पहिलो महाधिवेशनको तिथि तय गर्नेबारे छलफल भएको थिए तर तिथि तय गर्ने निर्णय भने भएन। अघिल्लो साल बैशाख ७ गते राजपाको घोषणा हुँदा एक वर्षभित्र पहिलो महाधिवेशन गर्ने घोषणा गरिएको थियो तर पार्टी निर्माण भएको एक वर्ष पुग्नै लाग्दा पनि  अझैसम्म महाधिवेशनको तिथि तय हुन सकेको छैन। बुधवार राजपाले जारी गरेको प्रेस विज्ञप्तिमा महाधिवेशन तयारीका विषयमा कुुरा उठाइएको पनि कहिले गर्ने भन्नेबारे केही बोलिएको छैन। विज्ञप्तिमा पार्टीको  महाधिवेशन सम्पन्न गर्न पार्टीको विधान,नियमावली,निर्देशिकालगायत आवश्यक कागजात तयार गरी अध्यक्ष मण्डलको आगामी बैठकमा पेश गर्ने भनिएको छ।

संसदीय दलको नेता ठाकुर कि महतो?
राजपा संसदीय दलको नेता महन्थ ठाकुर कि राजेन्द्र महतो हुने भन्ने चर्चा र बहस राजपाभित्र सुरू भएको छ। दुवै नेताले औपचारिक रूपमा केही बोलेका छैनन्।

ठाकुर निकट नेताहरू ठाकुरको  पक्षमा र महतो निकट नेताहरूले महतोका पक्षमा लबिङ गर्न थालेका छन् भने ठाकुर निकट नेताहरूले राजपालाई बलियो बनाउन अध्यक्ष मण्डलका संयोजकलाई बलियो बनाउनुपर्ने तर्क राख्छन। अध्यक्ष मण्डलका संयोजकलाई बलियो बनाउन संसदीय दलको नेता ठाकुर नै हुनुपर्ने तर्क राजपाका सहमहामन्त्री डा. सुरेन्द्र झाले बताए।

यसैगरी महतो निकट नेताहरू राजपामा परिर्वतन ल्याउन संसदीय दलको नेतामा महतोलाई विजयी बनाउनुपर्ने तर्क राख्छन्। महतो संसदीय दलको नेता राजपाको संसदीय दल बलियो हुने उनीहरूको तर्क छ। तर सकेसम्म सहमतिबाटै संसदीय दलको नेता चयन गर्ने राजपाका नेताहरूको भनाइ छ।

राजपाबाट प्रतिनिधिसभामा  प्रत्यक्ष्यतर्फ चुनाव जितेका ११ सांसदमध्ये  ५ सांसद  पुरानो सद्भावना पार्टीमा आवद्ध हुन् भने २ सांसद पुराना तमलोपामा आवद्ध रहेका सांसद  हुन।  पुरानो सद्भावनामा आवद्ध रहेको कारणबाट महतोसँग निकट मानिएका ५ सांसदमध्ये महतो,लक्ष्मणलाल कर्ण,रेशम चौधरी, प्रमोद साह र चन्द्रकान्त चौधरी छन्। यसैगरी पुराना तमलोपामा आवद्ध रहेका कारणठाकुरसँग निकट मानिएका ठाकुर र एकबाल मिया  छन्।  बाँकी ४ सांसद  शरतसिहं भण्डारी,महेन्द्र यादव, अनिल झा र राजकिशोर यादव राजपाको अध्यक्ष मण्डलका सदस्य हुन् ।यी मध्ये राजपाको संसदीय दलको नेताचयन गर्न  ठाकुर र महेन्द्र यादवको भूमिका निर्णायक मानिन्छ।

यसैगरी प्रतिनिधिसभामा समानुपातिकतर्फ ६ सांसद सदस्यमध्ये २ ठाकुरको पक्षमा र २ महतोको पक्षमा छन्। ठाकुरको पक्षमा चन्दा चौधरी र दुलारी देवी खाँण रहेका छन् भने महताको पक्षमा अमृता अग्रहरि र नरमाया ढकाल रहेका छन्। बाँकी२ सांसदमध्ये  निर्जला राउत पुरानो राष्ट्रिय मधेस समाजवादी पार्टी र रानी मण्डल पुरानो नेपाल सद्भावना पार्टीमा आवद्ध रहेकी नेतृ हुन्। राजपा गठन हुदा पार्टीको नेतृत्व दुई/दुई महिनामा चक्रिय प्रणालीबाट फेरिने सहमतिभएको थियो तर महतोले अध्यक्ष मण्डलको संयोजकमा दाबी नगरेपछि ठाकुर नै हालसम्म अध्यक्ष मण्डलको संयोजक कायम रहेका छन्। चक्रिय प्रणालीबाट नेतृत्व  फेरिएको भए ठाकुर पछि महतो अध्यक्ष मण्डलका संयोजक हुने थिए तर महतोले अध्यक्ष मण्डलको संयोजकमा चाहना नराखेको स्रोतको भनाइ छ। तर पुराना तमलोपाका नेताहरू भने ठाकुरको निष्ठा र व्यक्तित्वको कारण पार्टीको नेतृत्वमा अरू कसैले दाबी नगरेको बताउँछन्।

प्रकाशित: २२ चैत्र २०७४ ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App