७ वैशाख २०८१ शुक्रबार
अर्थ

निर्माण व्यवसायीद्वारा सुरक्षा माग

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रलाई अस्तव्यस्त पार्ने गरी भइरहेका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघको टोलीले बुधबार सुरक्षा माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसमक्ष ज्ञापनपत्र बुझाएको हो । महासंघले निर्माण व्यवसायी र व्यवसायीका उपकरणको पूर्ण सुरक्षा दिन माग गरेको छ ।धरान–सिन्धुली–चतारा सडकखण्ड अन्र्तगत सिन्धुलीको हरिहरपुरगढी–५ मा रहेको अस्थायी क्याम्पमा राखिएका सवारीसाधनमा अज्ञात समूहबाट गत सोमबार बम प्रहार गरी ठूलो क्षति पुर्‍याएको महासंघले जनाएको छ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको उक्त सडकखण्ड रेन्केन–कालिका–स्वछन्द प्रालिले निर्माण कार्य गरिरहेको छ । महासंघका अनुसार बमको छर्रा लागेर निर्माणस्थलमा कार्यरत विक्रम गुरुङ घाइते भएका छन् । सोही दिन गोरखाको लिवेलमा सूर्य कन्स्ट्रक्सन फर्मको नाममा रहेको एक्साभेटर अज्ञात समूहबाट जलाइएको महासंघले जनाएको छ।

महासंघले बुझाएको ज्ञापन पत्रमा सडक निर्माण आयोजनामा प्रयोग भइरहेका ट्रिपर, रोड रोलर, लोडर, बोलेरो जीपलगायत  सवारीसाधनमा बम प्रहारका कारण करोडौं मूल्य बराबर क्षति भएको महासंघले जनाएको छ ।

‘स्थायी सरकारको गठनसँगै आर्थिक समृद्धिको परिकल्पना गरिरहेको महासंघ यस्ता आततायी घटनाको कडा शब्दमा भत्र्सना गर्दछ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘सिंगो निजी क्षेत्रसहित मुलुक निर्माणमा क्रियाशील निर्माण व्यवसायीलाई पेसाबाट नै पलायन पार्ने गरी भएको यस किसिमको घटनाले मुलुकको शान्ति सुरक्षाको अवस्था कति फितलो छ भन्ने प्रमाणित गरेको छ ।’निर्माण व्यवसायी र उनीहरुका उपकरणलाई सुरक्षाको पूर्णप्रत्याभूति दिन यसअघि पटक–पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराए पनि यस्ता घटनामा कमी आउन नसकेको महासंघको भनाइ छ।

घटनाको छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गरी बम प्रहार तथा आगजनीबाट सम्बन्धित निर्माण कम्पनीलाई भएको नोक्सानीको उचित क्षतिपूर्तिको व्यवस्था मिलाइदिन महासंघले सरकारसमक्ष माग गरेको छ ।मन्त्री महासेठले व्यवसायीका समस्याप्रति आफू गम्भीर रहेको बताए ।

परिसंघबाट दुःख व्यक्त
नेपाल उद्योग परिसंघले कालिका कन्स्ट्रक्सनको निर्माण कार्यस्थल सिन्धुलीमा भएको बम विष्फोटको घटनाप्रति दुःख व्यक्त गरेको छ । परिसंघले उक्त विस्फोटको घट्नाले व्यवसायीको सुरक्षामाथि प्रश्न खडा भएको जनाएको छ।

‘आर्थिक समृद्धिलाई अंगीकार गरी लगानी प्रवर्द्धन गर्ने, विदेशी लगानी भित्र्याउने सरकारको नीतिमा परिसंघबाट निरन्तर सहयोग भइरहेको छ । तर, निर्माण कार्यमा प्रत्यक्ष असर पार्ने तथा स्वदेशी एवं विदेशी लगानीकर्तामा प्रतिकूल सन्देश फैलाउने यस प्रकारका घटनाक्रम दोहोरिरहनु चिन्ताको विषय हो,’ परिसंघद्धारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।

परिसंघले यस्ता गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । पीडित व्यवसायीलाई क्षतिपूर्तिसहित कामदार-कर्मचारी एवं उद्योग प्रतिष्ठानको सुरक्षाको प्रत्याभूति दिनसमेत परिसंघले माग गरेको छ ।

प्रकाशित: २२ चैत्र २०७४ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App