६ वैशाख २०८१ बिहीबार
खेल

क्रिकेट रंगशालाका लागि जग्गा खोज्दै हेटौंडा आइपुगे धुर्मुस

मकवानपुर– अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेसनले तिब्रता दिएको छ। फाउण्डेसनको टोलीले बुधबार ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा रंगशालाका लागि जग्गा अवलोकन गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलसहित गएको टोलीले हेटौंडा उपमहानगरपालिका ६, गौरीटारस्थित गुरुयोजनासहित निर्माणाधिन केन्द्रीय खेलकुद प्रतिष्ठानको गौरीटार रंगशालाको जग्गा हेरेको हो।

काठमाडौंको मुलपानी र कीर्तिपुर, रुपन्देहीको सैनामैना र सिद्धार्थ रंगशाला, चितवनको चित्रवन रंगशालाको अवलोकनपछि धुर्मुस सुन्तली फाउण्डेसन टोली हेटौंडा आएको हो। फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’, हाँस्यकलाकारहरु कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाडेँ’, मनोज गजुरेल, इन्जिनियर रविभुषण झा सहितको टोलीले निरीक्षण गरेको हो।

नेपालले पहिलोपटक एकदिवसीय मान्यता प्राप्त गरेपनि राम्रो क्रिकेट रंगशाला समेत नभएकाले निर्माणमा आफूहरु लागेको फाउण्डेसनका अध्यक्ष कट्टेलले बताए। ‘रंगशाला निर्माण गर्ने दायित्व सरकारकै हो, हामी अभियान्ता मात्र हौ,’ उनले भने ‘सरकारी प्रकृया ढिला हुने भएकाले बस्ती निर्माणकै शैलीमा निर्माणमा संयोजन मात्र गर्छौं।’

जग्गा छनौट समितिले जग्गा तोकेपछि थप प्रकृया चाँडै अघि बढ्ने उनले बताए। क्रिकेट एशोसिएसन अफ नेपाल(क्यान)की पूर्व सीईओ भावना घिमिरेलगायत रंगशाला निर्माण अभियानमा आबद्ध रहेको बताएपनि उनले समितिका पदाधिकारीबारे खुलासा गर्न चाहेनन्।

‘अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको मापदण्ड अनुसार रंगशाला निर्माण गर्नुपर्छ’ उनले भने ‘मापदण्ड अनुसार अन्तर्राष्ट्रिय विमानस्थल, पाँच तारे होटल, सुविधासम्पन्न अस्पताल हुनुपर्छ।’ त्यस्तो मापदण्ड काठमाडौंमा मात्र भएपनि काठमाडौंमा नै निर्माण गर्ने, नगर्नेबारे उनले बताउन चाहेनन्।

मुख्यमन्त्री पौडेलले गौरीटार रंगशालालाई खेलकुद पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएकाले धुर्मुस टोलीले बनाउन लागेको क्रिकेट रंगशालालाई जग्गा उपलब्ध गराउँदै सहयोग गर्न तयार रहेको बताए।

जग्गा अवलोकन भन्दा पहिले टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग भेट गरेको थियो। फाउण्डेसनका अध्यक्ष कट्टेलले क्रिकेट रंगशाला निर्माण योजनाबारे मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए। हाँस्यकलाकार कुमार कट्टेल ‘जिग्री’ले नेपाललाई विश्वमा चिनाउनपनि चाँडै अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्नुपर्ने बताए। ‘विदेशीले नेपाल भनेर चिन्दैनन्, अझ केहीले त भारतको कुन प्रदेशमा पर्छ भनेर सोध्छन्,’ उनले भने ‘देशको पहिचान विश्वमा देखाउनपनि  रंगशाला आवश्यक छ।’

नेपाल इन्जिनियर्स एशोसिएसनका उपमहासचिव एवम् धुर्मुस सुन्तली फाउण्डेसनका प्राविधिक रविभुषण झाले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भए क्रिकेट खेल र खेलाडीको विकासमा कोशेढुङ्गा सावित हुने जिकिर गरे। रंगशाला भए अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीसँग नेपाली खेलाडीले सहजै खेल्न पाउने र त्यसले खेलाडीमा आत्मविकास बढ्ने उनको दाबी छ।

४० हजार जनाको क्षमताको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न करिब २ अर्ब रुपैंया लाग्ने अनुमान छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाङ्करण गर्ने तयारी समेत धुर्मुस सुन्तली फाउण्डेसनको छ। क्रिकेटसहित अन्य प्रतियोगिता समेत खेल्न मिल्ने बहुउपयोगी रंगशाला निर्माण गर्ने बताउँदै फाउण्डेसनका अध्यक्ष कट्टेलले २ सयदेखि ३ सय रोपनी जग्गा आवश्यक पर्ने बताए।

संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला निर्माण गर्ने बताइसकेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालले पाएको उपलब्धि संस्थागत गर्न क्रिकेट बोर्ड गठन गरि घरेलु संरचना विकासमा ध्यान दिँदै क्रिकेट एशोसिएसन अफ नेपाल(क्यान)को विवाद चाँडै समाधान गर्नुपर्नेमा जोड दिएका छन्। नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट खेल मुस्कीलले सञ्चालन गर्न सकिने त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको मैदान मात्र रहेको बताईन्छ।

अवलोकन टोलीलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, पूर्व अध्यक्ष बालकृष्ण दाहाल, कार्यालय प्रमुख राजन दाहाल खुशराज लगायतले सहजिकरण गरेका थिए। २३ विघा क्षेत्रफल रहेको निर्माणाधिन रंगशालामा कम्पाउण्ड वाल निर्माण भइसकेको छ भने पुरुष छात्रबासको निर्माण अन्तिम चरणमा पुगेको छ। ८ वर्षअघि तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले रंगशालाको शिलान्यास गरेका थिए। रंगशालामा फुटबल रंगशाला, स्वीमिङ्ग पुल, टेनिस कोर्ट, क्रिकेट प्राक्टीस मैदान, बहुउपयोगी कभर्ड हल, महिला तथा पुरुष छात्रबास, कर्मचारी क्वाटर लगायत निर्माण गर्ने लक्ष्य राखी निर्माण भइरहेको छ।

प्रकाशित: २१ चैत्र २०७४ ०९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App