coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बंगुरको मासु नखाँदा जागिर गयो

कोहलपुर – सेनाको भान्सामा पकाएको बंगुरको मासु नखाएकै कारण एक सेनाका प्युठको जागिर गएको छ। नेपाली सेनाको ४ नम्बर बाहिनी बाँकेको राँझामा कार्यरत प्युठ मोहम्मद जाबिर खानको चैत १ गते जागिर गएको हो। सेनाको १४ वर्षे जागिरे जीवनमा मासुकै विषयमा विवादका कारण जागिर गएको खानको आरोप छ।

ब्यारेकभित्रै मासुको विवादमा जागिर गएको भन्दै खानले मानवअधिकार आयोग, सैनिक अदालत, प्रधानसेनापति कार्यालय, रक्षा मन्त्रालयदेखि जिल्ला प्रशासनसम्म निवेदन गरेका छन्। विवादका बीच गएको कार्तिक ८ गते राजीनामा दिएपनि पुनः माघ १० गते सेनाको अदालत, १७ गते आर्मी ब्यारेक राँझा र २३ गते पृतना कार्यालय बुटवलमा रोक्काका लागि निवेदन दिएपनि जवरजस्त उपदान दिएर बर्खास्त गरिएको उनले बताए।

‘राजीनामा रोक्कापछि लिखित स्पष्टीकरण दिँदापनि बाहिनीले जागिरबाट हटाउनका लागि उपदान दिलाएको हो,’ उनले भने, ‘बंगुरको मासु नखाएकै कारण मलाई तनाव, डर धम्की दिएर राजीनामा लिई जागिर खाने काम भयो।’ आफूमाथि अन्याय भएको भन्दै उनले जागिर पुनःबहालिका लागि सैनिक अदालत, प्रधानसेनापति, रक्षा मन्त्रालयमा निवेदन दिएको बताए। यस्तै छानबिन र सत्यतथ्य सार्वजनिका लागि राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज र सुरक्षाका लागि भन्दै जिल्ला प्रशासनमा निवेदन समेत दिएको खानले बताए। 

सहायक बाहिनीपति रामचन्द्र केसीको दबावबाट आफ्नो जागिर गएको उनको आरोप छ। गएको कार्तिकमा ब्यारेकमा बंगुरको मासु नखाने विषयमा केसीसँग विवाद पर्दा डर, धम्की र यातना दिएर राजीनामा दिन लगाएको उनले बताए। २७ दिन ब्यारेकको भान्सामा खाना नखाएर बाहिरै खाँदापनि डर, धम्की आउन थालेपछि बाध्य भएर राजीनामा दिए उनले बताए।

राजीनामा रोक्का निवेदनपछि नियमीत जागिरमै रहेका खानलाई फागुन ३० गते मध्यपश्चिम सैनिक तालिम केन्द्र कौशिलानगरबाट बोलाएर उपदानको पत्र थमाएको थियो। समय समयमा बंगुरको मासु खुवाउने प्रयास गरेपछि मासु नखाएको भन्दै सहायक बहिनीपति रामचन्द्र केसीले जागिरबाट एकाएक उपदान दिएको आरोप छ।
 
नेपाली सेनाको ४ नम्बर बाहिनी बाँकेको राँझाका सूचना अधिकारी सेनानी भिमसेन ढुगांनाले खानको जागिरबाट उपदान प्रक्रियागत भएको बताए। पहिला नै जागिरबाट राजीनामा दिएको कारण नेपाली सेना मुख्यालयबाटै स्वीकृत भएरै आएको बताउँदै उनले यसमा ब्यारेकको कुनै संग्लनता नरहेको भने। खानले स्वईच्छाले राजीनामा दिएको उनको भनाई छ।

मानवअधिकार आयोगले बाहिनीपतिसँग लिखित रुपमा जवाफ पेश गर्न पत्र काटेको छ। जागिर पुनबहालीका लागि उनले चैत ५ गते आर्मी मुख्यालय, चैत ७ गते प्रधानसेनापति, रक्षामन्त्री र चैत १३ मा मानवअधिकार आयोग र २० गते जिल्ला प्रशासनमा गुहारेका थिए। 

प्रकाशित: १९ चैत्र २०७४ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App