७ वैशाख २०८१ शुक्रबार
समाज

बढ्दो बलात्कारका घट्ना न्यूनीकरण गर्न प्रहरीको यस्तो कार्ययोजना

खोटाङ – बढ्दो बलात्कार एवं महिला हिंसाका घट्ना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ।

जिल्ला प्रहरी कार्यालयमा मंगलबार आयोजित जवरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिबाट प्राप्त सुझावका आधारमा तीन महिने अभियान सञ्चालन गर्ने कार्ययोजना बनाइएको खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। तीन महिनाको अवधिमा करणी, हिंसा लगायतका अपराध बढ्नुको कारण पत्ता लगाउँदै अपराध न्यूनीकरणको उपाय खोजिने जनाइएको छ।

अपराध र रोकथाम तथा न्यूनीकरणका लागि चेतना जगाउन सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, महिला तथा बालबालिकाको शिक्षामा जोड दिने, लैङ्गकि आधारमा हुने हिंसा तथा विभेदको अन्त्यका लागि मौजुदा कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिने, स्थानीय तहसँग समन्वय गरी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तयार पारिने डिएसपी थापाले बताए।

महिला तथा बालबालिकालाई डर–त्रास, धाक–धम्की देखाई, ललाई फकाई, प्रेम विवाहको बहानामा जबरजस्ती करणी र करणी उद्योगका घटना घटाउने गरेको पाइएको प्रहरीले जनाएको छ। जिल्लाका सबैभन्दा बढि दिप्रुङ गाउँपालिकाको टेम्मा, साकेला गाउँपालिकाको रतन्छा र बाझेच्यानडाँडा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बलात्कारको घटना बढी हुने गरेको प्रहरी प्रतिवेदनले देखाएको छ। प्रहरीका अनुसार अधिकांश पीडित १६ देखि २५ वर्षका छन्। त्यसमध्ये पनि सबैभन्दा बढी १० वर्षदेखि २० वर्ष उमेरका बालिका तथा युवती पीडित भएको पाइएको डिएसपी थापाले बताए।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७२–७३ मा ६ महिलामाथि जबरजस्ती करणी भएको र ५ वटा जबरजस्ती करणी उद्योगको घटना दर्ता भएको थियो। यस्तै, २०७३–७४ मा बलात्कारका १३ वटा घटना र बलात्कार प्रयासका ७ वटा घटना दर्ता भएकामा २०७४–०७५ मा ५ वटा बलत्कार तथा २ जना बलत्कार प्रयासबाट पीडित बनेको प्रहरीले जनाएको छ। पीडितमध्ये १० देखि २० वर्ष उमेर समूहका १७ जना र २० देखि २५ वर्ष उमेर समूहका ११ जना महिलामाथि यौन हिंसा भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०७४ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App