४ वैशाख २०८१ मंगलबार
विचार

विद्युतीय व्यापार, विश्वव्यापीकरण र जनजीवन

विश्वव्यापीकरणका आर्थिक, सामाजिक, शासकीय र सांस्कृतिक आयाम भए पनि प्रमुखतः यो आर्थिक आबद्धीकरणको प्रक्रिया हो, जसलाई प्रविधिले औधी सघाएको छ। विश्वव्यापीकरणमा तीन पात्रहरु मानिस, बहुराष्ट्रिय कम्पनी र सरकार आआफ्नै सहजतामा क्रियाशील रहन्छन्। प्रविधिले त्यसको मध्यस्थता र सहजीकरण गर्दछ। विश्वव्यापीकरणको आर्थिक आयाम हेर्दा सेवा र वस्तुहरुको प्रवाह, वित्तीय तथा उत्पादन प्रक्रियाको विविधीकरण, आर्थिक संगठनहरुको गतिशीलता विस्तार र विशिष्टीकरण देखिन्छ। जहा श्रम, व्यापार, वित्त र ज्ञान सीमाहीन अन्तरक्रियामा रहन्छन्। समकालीन विश्व यही प्रक्रियामा तीव्रत्तर छ।

विश्वव्यापीकरणका प्रमुख चार चालकहरु छन् : पहिलो, सञ्चार तथा सूचना प्रविधिको तीव्र प्रयोग, दोस्रो, ब्रोडब्यानको व्यापक विस्तार, तेस्रो अंग्रेजी भाषा र चौथो अन्तर्राष्ट्रिय मञ्चहरु। यी चालकहरु अति नै गतिवान् छन्। तर यो प्रक्रिया स्वचालित छ। यस प्रक्रियाबाट कुनै पनि व्यक्ति, समाज, राष्ट्र र संस्था अपवाद रहन सक्ने अवस्था छैन। किनकि सेवा, वस्तु, सुविधा र ज्ञानको उपभोगबाट कोही पनि अछुतो छैन। त्यसका मात्रा मात्र फरक हो। समाज र अर्थतन्त्रको अवस्था एवम् स्तरअनुरुप विश्वव्यापीकरणको अवसर उपयोग भइरहेको छ। त्यसैले चाहेर पनि कोही पूर्ण अपवाद बन्छु भन्न सकिने अवस्था छैन। हामी दैनिक रुपमा बाह्य कारोबार गर्दछांै, आयात निर्यातमा संलग्न रहन्छौं, प्रविधिको प्रयोग गर्छौं, नयाँ स्वाद र सन्तुष्टिको खोजी गर्छौं। उपभोक्ता चाख र समाजको संकेतअनुसार विचार, प्रविधि र सेवा वस्तुको उत्पादन एवम् प्रसार भइरहेको छ। उपभोक्ताहरु निरन्तर नयाँनयाँ स्वादको खोजीमा छन् र त्यसैअनुसार व्यापारिक कम्पनीहरु बजार विस्तार र अन्वेषणमा कुदिरहेका छन्।

विश्वाव्यापीकरणको प्रक्रिया बढ्दै जाँदा सीमाहीन रुपमा वस्तु, सेवा र वित्तीय कारोबार हुन थालेको छ।  इन्टरनेटले सघाएको कारण भर्चुल स्टोर र भर्चुल अन्तरक्रिया सम्भव भएको छ। गोदामबिनाको व्यापार अकल्पनीय रुपमा बढेको छ। विद्युतीय सञ्चार र डिजिटल सूचनाबाट उत्पादन, उपभोग र वितरणका सम्बन्धमा नयाँ आयाम थपिन गई थप मूल्य सिर्जना (भ्यालु एडिसन) हुन थालेको छ। बजारीकरण, भुक्तानी र हिसाब मिलान पनि डिजिटल माध्यमबाट हुदा सेवा लागत उल्लेख्य रुपमा घटेको छ। विद्युतीय कारोबार (ई–कमर्स) को सर्वव्यापी पहुँच, सघनता, अन्तरक्रियात्मकता र सूचनामूलकताका कारण यसले दिनप्रतिदिन आफ्नो महत्व र औचित्य बढाउँदै छ। विद्युतीय कारोबारले व्यापार मात्र होइन, उत्पादन र स्तरीयतालाई पनि बढाएको छ। हवाई टिकट, होटेल बुकिङजस्ता यात्रा व्यवस्थापनमा यसले औधी लोकप्रियता हासिल गरिसकेको छ। वित्तीय मध्यस्थता सेवा, स्वास्थ्य र शिक्षा व्यवसायमा यसले उल्लेख्य प्रभाव पारिसकेको छ। यसले मूल्यअभिवृद्धि र व्यापारमा मात्र योगदान गरेको छैन, सामाजिक सम्बन्धको बेग्लै आयामलाई पुनर्बोधसमेत गरेको छ। पक्षहरुबीच भिडियो क्लिप, अडियो फाइल, अनलाइन कोर्स, लाइभ च्याट, सकवेभ, साइट पर्सोनालाइजेसन जस्ता डिजिटल संयन्त्रले अन्तरक्रियाका सवै अवरोध भत्काई कारोबार सहज बनाएको छ।

ई–कर्मसका फइदा मात्र होइन, केही जेखिम र चुनौती क्षेत्र पनि छन्, जसका कारण यो आलोचित पनि बन्ने गरेको छ। यसप्रति नियमनको माग भइरहेको छ। यसको प्रमुख कमजोर पक्ष भनेको ई–कमर्सले मानवीय संवेदनालाई उपेक्षा गर्दछ।

सन् १९९५ मा सुरु भएको विद्युतीय कारोबार प्रत्येक वर्ष १६ प्रतिशतले वृद्धि भई ‘ग्रोथ मार्केट बबल’ सिर्जना गरेको छ र बहुराष्ट्रिय कम्पनीहरु कर्पोरेट गुरिल्लाका रुपमा दैडिरहेका छन्। पे–पल, ई–बे, अमेजन डट कम, अलिबाबा समूहले ई–कर्मसमा अग्रणी भूमिका निर्वाह गर्दै आए पनि विद्युतीय व्यापार प्रक्रियामा हजारांै प्रविधि संस्थाहरु, बहुराष्ट्रिय निगम, बैंकिङ सञ्जाल र फ्रेन्चाइजहरु यस क्षेत्रको विकासमा अनवरत लागिपरेका छन्। अहिले पनि विचार र प्रविधिका सर्जकहरु ई–कमर्सका नयाँनयाँ क्षेत्रमा आविष्कार, पुनर्आविष्कार र नवप्रवर्तन गरिरहेका छन्। औद्योगिक मुलुकहरु डिजिटल व्यवहारलाई प्रोत्साहन गर्ने उत्प्रेरक बनेका छन् र राष्ट्रिय कार्यसूचीमा यसलाई प्राथमिकतासाथ जोड दिइरहेका छन्। व्यावसायिक क्षेत्र निकै उत्साही एवम् आक्रामक छ र निरन्तर उत्पादन, बजारीकरण, वितरण संगठन एवम् उपभोग व्यवहार बदलिरहेको छ। ई–कमर्सले कुल व्यापारमा युरोपमा ३४, अमेरिकामा २९, एसियामा २७ र अन्य मुलुकमा करिब १० प्रतिशत हिस्सा ओगटेको छ। त्यसैले कतिपयले भन्ने गरेजस्तो यो भूमण्डलीकरणको प्रक्रिया हो। यस प्रक्रियाले आफंैले सीमा र गन्तव्य निर्धारण गर्दै आएको छ, र यो अनन्त पनि छ।

विद्युतीय व्यापार र व्यावसायिक अन्तरक्रियाका क्षेत्र धेरै छन्। विशेषतः व्यापारबाट व्यापार (बी टु बी), व्यापारबाट उपभोक्ता (बी टु सी), उपभोक्ताबाट व्यापार (सी टु बी), व्यापारबाट व्यापार हुँदै उपभोक्ता (बी टु बी टु सी), व्यापारी समुदाय र शासकीय तह (बी टु जी), मोबाइल कमर्स, लोकेसन कमर्स, इन्ट्राविजनेस र एक्सचेन्ज टु एक्सचेन्जमा सघन अन्तरव्यवहार बढ्दै गएको छ। यसले क्रयविक्रयमा शीघ्रता, न्यून कारोबार लागत, २४/७/३६५ को कारोबार, सीमाहीन पहुँच, धेरै चयन विकल्प, भौतिक मुखामुख अन्तरक्रियाको सट्टा डिजिटल अन्तरक्रिया, साझा मूल्य स्थापना र समावेशी समाज निर्माण गर्न सजिलो, सस्तो र स्तरीय सेवाको प्राप्ति सहज गरेकाले ई–कमर्सले ख्याति कमाएको छ। लागत, संरचना, सीमाविहीनता, पहुँच र वैयक्तिक आग्रहभन्दा परको व्यवहारका कारण यसले जीवनपद्धतिलाई प्रभाव पारेको हो। यसको प्रभाव सार्वजनिक क्षेत्रमा पनि पर्न थालेको छ। शासकीय व्यवहार (सरकारी बजार) मा डिजिटल प्रविधिको उपयोग (ई–गभर्नेन्स) ले सेवा व्यवहार, सरकार नागरिक अन्तरक्रिया र पृष्ठपोषण सहज हुन थालेको छ। पहुँच, पारदर्शिता र प्रभावकारिता यसले छाडेका उपलब्धि हुन्।

ई–कर्मसका फइदा मात्र होइन, केही जेखिम र चुनौती क्षेत्र पनि छन्, जसका कारण यो आलोचित पनि बन्ने गरेको छ। यसप्रति नियमनको माग भइरहेको छ। यसको प्रमुख कमजोर पक्ष भनेको ई–कमर्सले मानवीय संवेदनालाई उपेक्षा गर्दछ। प्रदाता र उपभोक्ता पक्षहरुबीच भौतिक सम्बन्ध अलग्याउँछ। साथै वस्तुको पूर्व परीक्षणमा कठिनाइ ल्याउँछ। स्तरीय उत्पादन हुन्छ भन्ने अनुमानमा उपभोक्ता रहन्छन्, अनुमान सही साबित नभएमा उपभोक्ता ठगिन्छन्, जनस्वास्थ्यमा असर पर्छ। धेरै कारोबार क्रेडिट÷डेबिट कार्डबाट हुने हुँदा यसको सुरक्षण प्रणाली दरिलो नभएमा ठगी र अपचलन रहन सक्छ। नियमन कार्य पनि जटिल छ। पक्षहरुबीच भर्चुअल मुद्रा (विट क्वाइन) कारोबारको नियमनमा ल्याउन सकिँदैन।

अल्पविकसित मुलुकहरु करको आधार गुमाउन पुग्छन्। धनसम्पत्ति वितरणमा असमानता आउन सक्छ। मानवीय पुँजीको उपेक्षा हुन्छ। केन्द्रीय मौद्रिक पदाधिकारी (राष्ट्र बैंकजस्ता संस्था) को क्षमता र राज्यका अन्य निकायको शक्ति क्षयीकरण हुन्छ। अवसर र साधनको केन्द्रीकरण हुन्छ। नेपालजस्ता मुलुकका लागि खर्चिलो र प्राविधिक जोखिम पनि छ । जस्तो कि कम्म्युटर संयन्त्र, इन्टरनेट पूर्वाधारजस्ता पक्षहरु खर्चिला हुन्छन् । सेवावस्तु उपभोगभन्दा पूर्वाधार लागतको राशि ठूलो हुन्छ। वार्षिक अर्बौं रुपैयाँ इन्टरनेट सेवाको भुक्तानी हुन सक्छ। व्यक्तिगत तहमा पनि यसको असर ओजनदार छ। वैयक्तिक पहिचानको अदृश्य रहन्छ। श्रमप्रधान मुलुकहरु ज्ञानप्रधान प्रविधिका उपभोक्ता बन्दछन् र अर्थतन्त्र महँगो हुन्छ। त्यसै त कम प्रतिस्पर्धा क्षमता भएका मुलुकहरु अन्तर्राष्ट्रिय ब्रान्ड र उत्पादनका पारखी हुन्छन्। व्यापार तथा आपूर्ति प्रणालीमा ठूला ब्रान्ड र केही कम्पनीहरुको आधिपत्य स्थापित हुन सक्छ। युवापुस्ता ई–व्यवहारको नशामा मुग्ध हुन्छन् र वृत्ति चयनका क्षेत्रमा अल्मलिन सक्छन्।

प्रविधिले लागत दक्षता मात्र बढाएको छैन, जनजीवनका हरेक पक्षलाई पनि प्रभाव पारेको छ। पुस्ता, प्रविधि र व्यवहारबीच अभूतपूर्व तालमेलले विद्युतीय व्यवहार जीवन पद्धति बन्दैछ। यसबाट हच्किने वा डराउने होइन, पूर्वाधार, शिक्षा र सावधानीमार्फत फाइदा लिनुको विकल्प छैन।

(mainaligopi@gmail.com)

प्रकाशित: २१ चैत्र २०७४ ०६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App