७ वैशाख २०८१ शुक्रबार
खेल

न्युजिल्यान्डलाई शृंखला

क्राइसचर्च – एस सोढीले सम्हालिएको ब्याटिङ गरेपछि न्युजिल्यान्डले मंगलबार इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्ट बराबरीमा सकाउँदैे दुई टेस्टको शृंखला १–० ले जितेको छ।

इङ्ल्यान्डका बलरहरू हाबी भएको खेलमा इङ्ल्यान्डले जितका साथ शृंखला बराबरी गर्ने संकेत गरेको थियो। तर खराब प्रकाशका कारण निर्धारित समयभन्दा पहिला खेल सकिएपछि इङ्ल्यान्डको लक्ष्यले पूर्णता पाउन सकेन। इङ्ल्यान्डले पछिल्लो १३ टेस्टमा जितको स्वाद चाख्न पाएको छैन।

यसअघि गत साता सम्पन्न पहिलो टेस्ट न्युजिल्यान्डले एक इनिङ र ४९ रनले जितेको थियो।

‘नील वाग्नर र एस सोढीले उत्कृष्ट प्रदर्शन गरे,’ न्युजिल्यान्डका कप्तान केन विलियम्सनले भने, ‘उनीहरू टिक्नु र मौसमले पनि साथ दिँदा शृंखला आफ्नो पक्षमा पार्न सफल भयौं।’

जितका लागि ३ सय ८२ रनको पाएको न्युजिल्यान्डले बिनाविकेट क्षति ४२ रनमा पाँचौं दिनको खेल सुरु गरेको थियो। घरेलु टोलीलाई जितका लागि अझै  ३ सय ४० रन आवश्यक थियो।

इङ्ल्यान्डका तीव्र्र गतिका बलर स्टुवार्ट ब्रोडले पाँचौं दिनको पहिलो ओभरको सुरुआती दुई बलमा लगातार दुई विकेट लिँदै न्युजिल्यान्डलाई दबाबमा पारेका थिए।

चौथो दिन अविजित १७ रनमा खेलिरहेका जित रावललाई पहिलो बलमा मार्क स्टोनम्यानबाट क्याच गराएका ब्रोडले दोस्रो बलमा विलियम्सनलाई खाता नखोल्दै विकेटकिपर जोनी बेयरस्टोबाट क्याच गराएका थिए।

अर्का ओपनर टम लाथमले सम्हालिएको ब्याटिङ गर्दै टोलीको इनिङ उकास्ने प्रयास गरे पनि त्यसपछि ब्याटिङका लागि आएका रस टेलर, हेनरिक निकोलाज र विजे वाट्लिङले उल्लेख्य प्रदर्शन गर्न नसक्दा न्युजिल्यान्ड दबाबमा परेको थियो। समान १३ रन जोडेका टेलर र निकोलाजलाई क्रमशः ज्याक लिच र जेम्स एन्डरसनले पवेलियनको बाटो देखाएका थिए भने १९ रन जोडेका वाट्लिङलाई मार्क उडले एन्डरसनबाट क्याच गराएका थिए।

चिया सत्रअघि लाथमलाई लिचले जेम्स भिन्सेबाट क्याच गराएपछि न्युजिल्यान्ड १६२–६ को स्थितिमा आएको थियो। २ सय ७ बल खेलेका लाथमले १० चौका प्रहार गरे। अन्तिम सेसनमा जितका लागि इङ्ल्यान्ड ४ विकेट मात्र टाढा थियो। तर सातौं विकेटका लागि कोलिन डी ग्रान्डहोमसँग ५७ रनको साझेदारी गरेका सोढीले आठौं विकेटका लागि वाग्नरसँग ३७ रनको साझेदारी गर्दै इङ्ल्यान्डको जितको लक्ष्यलाई संकटमा पारिदिएका थिए।

१ सय ३ बल खेलेका वाग्नरले सोधीलाई गतिलो साथ दिएका थिए। वाग्नर जो रुटको बलमा भिन्सेबाट क्याच भएलगत्तै खराब प्रकाशका कारण समस्या आएको भन्दै अम्पायरले खेल सकिएको संकेत गरेका थिए। उक्त समय न्युजिल्यान्डको योगफल २७८–८ थियो।

१ सय ६८ बल खेलेका सोधीले ९ चौकाको मद्दतमा अविजित ५६ र ९७ बलको सामना गरेका डी ग्रान्डहोमले ६ चौका मद्दतमा ४५ रनको योगदान दिए। इङ्ल्यान्डका मार्क उड, ब्रोड र लिचले समान २ विकेट लिए। एन्डरसन र रुटले समान १ विकेट लिए।

प्रकाशित: २१ चैत्र २०७४ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App