coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘जलवायु परिवर्तनका कारण फिजीको अस्तित्व खतरामा’

यसै साताको सुरुवातमा जोसी नामक चक्रवातका कारण आएको बाढी। तस्बिर : रोयटर्स

सुभा – जलवायुमा आइरहेको विश्वव्यापी परिवर्तनका कारण आफ्नो अस्तित्व संकटमा परेको फिजीका प्रधानमन्त्री फ्र्यांक बाइनिमारामाले बताएका छन्।

जलवायु परिवर्तनका कारण आउने लगभग स्थिर खतरनाक चक्रवातका कारण प्रशान्त टापु राष्ट्र बाँच्नका लागि संघर्षरत रहेको प्रधानमन्त्री बाइनिमारामालाई उधृत गर्दै बिबिसीले जनाएको छ। कडा मौसमका कारण फिजी ‘डरलाग्दो नयाँ युग’मा प्रवेश गरेकाले त्यसविरुद्ध तत्काल सामना गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन्।

आइतबार फिजीको मुख्य टापु भिती लेभूमा आएको जोसी नामक चक्रवातले ल्याएको बाढीमा परी केही फिजियन नागरिकको मृत्यु भएपछि प्रधानमन्त्री बाइनिमारामाका यस्तो भनाइ आएको हो। सन् २०१६ मा आएको एउटा चक्रवातका कारण फिजीमा ४४ जनाको मृत्यु भएको थियो भने देशको एक तिहाई आर्थिक उत्पादन ध्वस्त भएको थियो। यसै साताको सुरुवातमा आएको जोसी चक्रवातले ल्याएको बाढीका कारण चार जना फिजियन नागरिकको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

‘मौसममा आएको विभिन्न घटनाका कारण अहिले हामी आतंकको एउटा स्थिर अवस्थामा रहेका छौं,’ प्रधानमन्त्री बाइनिमारामाले मंगलबार बताए। फिजी क्षेत्रमा आउने शक्तिशाली चक्रवात जलवायु परिवर्तनका कारण भएको पनि उनले बताए। ‘हामीले यो समस्यको तत्काल समाधान गर्नेबारेमा समग्र विश्वलाई ठूलो र प्रष्ट सन्देश दिनुपर्ने बेला भएको छ,’ प्रधानमन्त्री बाइनिमारामाले बताए। डर लाग्दो युगको प्रतिक्रियास्वरुप एउटा देशको रूपमा प्रतिरोध क्षमता विकास गर्नुपर्ने जिम्मेवारी पनि आएको उनको कथन रहेको छ।

गत नोभेम्बर महिनामा जर्मनीको बोन सहरमा आयोजना भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा प्रधानमन्त्री बाइनिमारामाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

पृथ्वीको मौसम समयसँगै लगातार परिवर्तन भइरहे पनि पछिल्ला केही वर्ष पृथ्वीको तापक्रममा अत्यन्तै तीब्र गतिमा वृद्धि भइरहेको छ। जलवायु मौसममा आइरहेको परिवर्तनका कारण विश्वभर स्वच्छ पिउने पानीको अभाव हुनसक्ने, खाद्य उत्पादनमा कमी आउनसक्ने र बाढी, पहिरो, आँधीहुरी, तातो हावा र अनिकालका कारण मानिसको मृत्युमा वृद्धि हुनसक्ने चेतावनी विश्वका विभिन्न वातावरणविद्ले दिँदै आएका छन्।

प्रकाशित: २१ चैत्र २०७४ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App