coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पूर्वराष्ट्रपतिको मुद्दाको फैसला अदालतबाट प्रत्यक्ष प्रसारण गरिने

सोल – दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गेउन हाइमाथिको भ्रष्टाचारसम्बन्धी मुद्दामा हुने फैसलाको टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिने भएको छ।

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतले सो जानकारी दिएको बताइएको छ। भ्रष्टाचार मुद्दामा पूर्वराष्ट्रपति पार्कलाई निकै लामो समयसम्म जेल सजाय दिनसक्ने अनुमान गरिएको छ।

उनलाई दिइने उक्त जेल सजायको बारेमा दक्षिण कोरियाको रष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने तयारी भएको अदालतको भनाइ छ। उनीमाथिको कारबाहीको जानकारी प्रत्यक्ष हेर्न र सुन्न पाउने गरी प्रसारण गर्ने व्यवस्था गरिएको जानकारी अदालतको छ।  

उनलाई भ्रष्टाचारको आरोपमा थुनामा राखेर अनुसन्धान गरिएको छ। सन् २०१७ को मार्च महिनामा उनलाई नियन्त्रणमा लिइएको थियो। अहिले पनि उनी हिरासतमा रहेकी छन्।

पार्कमाथि लागेको भ्रष्टाचारको अभियोगमा कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै दक्षिण कोरियाका सरकारी वकिलहरूले गरेका थिए। सरकारी वकिलले पूर्वराष्ट्रपति पार्कले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उनलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन्।

६६ वर्षकी पूर्वराष्ट्रपति पार्क दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपतिसमेत हुन्। उनीमाथि आफू राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलिरहेको छ। सो मुद्दामा गएको करीब एक वर्षदेखि सुनुवाइ जारी रहेको छ। गत वर्षको मार्च महिनामा उनीमाथि भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको थियो। 

भ्रष्टाचारमा पार्कको संलग्नता रहेको विषयलाई दक्षिण कोरियाको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसद्मा महाभियोग लगाएर बर्खास्त गरिएको थियो। दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति पार्क दक्षिण कोरियामा महाअभियोग लगाएर निकालिएको पहिलो राष्ट्रपति हुन्। आउँदो शुक्रबार उनको मुद्दाको फैसला हुने अनुमान गरिएको छ। शुक्रबार अपराह्न गरिने सो फैसलाको पूर्णपाठ अदालतबाटै प्रत्यक्ष रूपमा सुनाइने छ। यस्तो प्रसारणको प्रचलन दक्षिण कोरियामा पहिलो पटक हुन लागेको बताइएको छ।

प्रकाशित: २१ चैत्र २०७४ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App