coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चौध पुलको निर्माण सम्झौता हुन बाँकी

नारायणगढ–मुग्लिन सडक खण्डमा दासढुंगामा रहेको पुल। तस्बिर : सविता/नागरिक

चितवन – सडक विस्तारको काम भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डका सबै पुल दुई वर्षभित्र नयाँ बनाउने योजना रहे पनि अझै १४ वटा पुल निर्माणको सम्झौता भएको छैन। सडक खण्डमा १८ वटा पुल छन्। यस सडकखण्डमा पर्ने चारवटा पुलको मात्र निर्माण सम्झौता भएर काम अघि बढेको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए।

दासढुंगा, मौरी, खानी र जलविरे पुलको मात्र निर्माण कार्य सुरु भएको छ। सडकलाई तीन खण्डमा विभाजन गरेर तीन फरक कम्पनी बाटो विस्तारको काममा सहभागी छन्। सडक निर्माणको जिम्मा पाएका दुई निर्माण कम्पनीले नै २१ महिनाभित्र सम्पन्न गर्नेगरी चारवटा पुल निर्माणको जिम्मा पाएका छन्।

लामा कन्स्ट्रक्सन कम्पनीले दासढुंगा, मौरी, खानी पुल निर्माणको जिम्मा पाएको छ। २ अगस्ट २०१९ सम्म सक्नेगरी निर्माण सम्झौता गरिएको ३ पुलको लागत १३ करोड ६५ लाख रहेको छ। ८० मिटर लामो जलविरे पुल निर्माणको जिम्मा सुप्रिम–रौताहा जेभीलाई दिइएको छ। १३ करोड ९५ लाख रुपैयाँ लागतमा बन्ने पुल २२ जुलाई २०१९ सम्म सम्पन्न गर्नेगरी निर्माण सम्झौता गरिएको सूचना अधिकारी खनालले बताए।

नारायण–मुग्लिन सडक खण्डमा १८ वटा पुल छन्। यस सडकखण्डमा पर्ने चारवटा पुलको मात्र निर्माण सम्झौता भएर काम अघि बढेको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए।

यस सडकखण्डमा रहेका १८ वटा पुलको लम्बाइ ४ सय ८४ मिटर रहेको छ। प्रायः पुल २० मिटरभन्दा लामा छन्। पुल पुरानो हुनुका साथै सडकको तुलनामा ज्यादै साँघुरो भएकाले नयाँ बनाउन लागिएको हो। चीन सरकारको सहयोगमा २०३६ सालमा नारायणगढ–मुग्लिन सडक बनाइएको थियो। त्यस समय बनाइएका प्रायः पुल ६ मिटर चौडा छन्। इन्टरमिडियट लेनको पुलमा दुइटा गाडी मुस्किलले एकैपटक कट्न सक्ने खनालले बताए।

पुल विस्तार गरेर नयाँ बनाइँदा ११ मिटर चौडाइको बनाइनेछ। ७ मिटर गाडी गुड्ने भाग र दुईतर्फ डेढ/डेढ मिटर फुटपाथ हुने खनालले बताए।  सडक विस्तारको काम सुरु गर्दा सडक र पुल निर्माणको कामलाई सँगै राखिएको थिएन। त्यसैले छुट्टाछुट्टै सम्झौता गरेर मात्र पुल निर्माणको काम अघि बढ्ने भएको छ।

बाटोसँगै पुल विस्तारको काम नहुँदा बाटो ठूलो र पुल साँघुरो भएपछि झन् समस्या हुने देखिएको छ । गाडी तीव्र गतिमा आउँछ अनि पुलमा आएर थुप्रिने समस्या हुन्छ।  यही कारणले अहिले मुग्लिनतिर जाम भइरहेको छ। निर्माण सम्झौता हुन बाँकी रहेका पुलको सडक विभागले डिजाइन तयार गरिसकेको छ । प्रक्रिया पु-याएर निर्माण सम्झौता गर्ने तयारी विभागले गरेको सूचना अधिकारी खनालले बताए।

चैत १८ गतेसम्म सडक विस्तारको काम ८५.४७ प्रतिशत सम्पन्न भएको छ। नारायणगढको आँपटारीदेखि मुग्लिनसम्मको ३३.२ किलोमिटर सडकमध्ये २७.४ किलोमिटर सडक पहिलो तहको कालोपत्रे भएको छ। बाँकी ६ किलोमिटरमध्ये ३ किमि कालोपत्रे गर्न तयार भइसकेको छ। बाँकी ३ किलोमिटर पनि वैशाख १५ गतेसम्म पहिलो तहको कालोपत्रे गरिसक्ने सूचना अधिकारी खनालले बताए।

तीन तहमा कालोपत्रे गरिने सडकखण्डमा २३.२ किलोमिटर दोस्रो तहको र ३.४ किलोमिटर सडकमा तेस्रो तहको कालोपत्रे गरिएको छ। ‘पहिलो तहको कालोपत्रे महत्वपूर्ण हुन्छ।  माटो ग्राभेल गरेर कालोपत्रे  लागि तयार गर्न नै समय लाग्छ। त्यसपछि दोस्रो र तेस्रो तहको गर्नका लागि धेरै सहज हुन्छ। पहिलो तहको कालोपत्रे गरेपछि धुलो र खाल्डाखुल्डीको समस्या नहुने खनाले बताए।

प्रकाशित: २१ चैत्र २०७४ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App