८ वैशाख २०८१ शनिबार
राजनीति

गणेशलामालाई हातहतियार तथा खरखजना मुद्दा

काठमाडौं – हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत हातहतियार तथा खरखजना मुद्दा चलाइने भएको छ।

काठमाडौं गौशलास्थित पशुपति भिजन होटल अगाडिबाट गत फागुन ३० गते स्वचालित पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ परेका लामामाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ, बिहीबारसम्म जिल्ला प्रशासनमार्फत मुद्दा चलाउने तयारी छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले भने।  प्रहरीले दुई पटक १०÷१० दिन म्याद थपेर लामामाथि अनुसन्धान गरिरहेको छ। सुरुमा चैत १ गते जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धान पूरा नभएको भन्दै पुनः १० दिन म्याद थपेको थियो।

पहिलो पटक १० दिन म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीले लामाको वयान लिन तथा हतियार परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाएको थियो। प्रयोगशालाको रिपोर्ट आइसकेको र लामाले बोकेकै पेस्तोलबाट गोली चलेको पुष्टि भएको एसएसपी विश्व पोखरेलले जानकारी दिए। ‘लामाकै पेस्तोलबाट गोली चलेको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको छ,’ पोखरेलले भने।

लामाले हतियार आफ्नो नभएको बताउँदै आएका छन्। उनले प्रहरीलाई हतियारका विषयमा वयान दिनसमेत अस्वीकार गरिरहेका छन्। लामामाथि जिल्ला प्रशासन कार्यालयबाट ६ महिनादेखि एक वर्षसम्म जेल सजाय र ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रहरीले जनाएको छ।

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार निकट मानिने लामामाथि २०६६, २०६७ र २०७० मा काठमाडौं प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाएको थियो। त्यस्तै २०६८ मा लामामाथि बैंकिङ कसुरमा समेत मुद्दा चलाइएको थियो। काठमाडौं बाहिरका ललितपुर काभ्रे लगायतका जिल्लामा पनि उनीविरुद्ध विभिन्न मुद्दा चलेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०७४ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App