८ वैशाख २०८१ शनिबार
अर्थ

भन्सार र प्रहरीको मिलेमतोमा अवैध मासु भित्रिदै

नियन्त्रणमा लिएको गाडी जिल्ला प्रहरी कार्यालय चितवनको परिसरमा । तस्बिर :सविता/नागरिक

चितवन –अवैध रुपमा भित्र्याएको नौ हजार किलो कुखुराको ‘फ्रोजन मिट’ भरतपुरमा नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोस्ट चितवनले व्यवसायीको रोहवरमा उक्त मासु नष्ट गरेको हो।

त्यससँगै १५ सय किलो माछा, हरियो केराउलगायत सामग्री नष्ट गरिएको छ।अवैध मासु भित्रिँदैछ भन्ने सूचना पाएका चितवनका कुखुरा व्यवसायी आइतबार राती आफै सडकमा गाडी कुरेर नियन्त्रणमा लिएका थिए।

भैरहवा नाका हुँदै नेपाल भित्रिएको ७० बिटी १७७६ नम्बरको भारतीय कन्टेनर वाइसिएल चितवनको सहयोगमा कुखुरा व्यवसायीले नियन्त्रणमा लिएका हुन् । प्रतिबन्धित कुखुराको मासु आयात गरिएको सूचनाको आधारमा उक्त कन्टेनर नियन्त्रण लिइएको नेपाल कुखुरापालक किसान संघका अध्यक्ष झनक पौडेलले जानकारी दिए।

नवलपुरको थुम्सीदेखि गाडीलाई फलो गर्दा रामनगरको पानी ट्यांकीबाट राती १२ बजे नियन्त्रणमा लिइएको उनले बताए । ‘रोक्न खोज्दा रोक्दै रोकिएन, मान्छेलाई किच्न खोजे जसरी गाडी कुदाइयो,’ गैंडाकोटदेखि नै गाडी रोक्न खोजिएको बताउँदै उनले भने, ‘पिछा गर्दै रामनगर पुगेपछि बल्ल नियन्त्रण लिन सकियो ।’ नियन्त्रणमा लिइएको गाडी रामनगर प्रहरीको रोहवरमा पशु क्वारेन्टाइन चेक पोस्ट चितवनमा बुझाइएको थियो।

अण्डा, चल्ला, मासुलगायत सबैखाले पोल्ट्री उत्पादन आयात गर्न नै नपाइने व्यवस्थामा भएपनि यति धेरै परिमाणमा फ्रोजन मासु भित्रिनु आफैंमा शंकास्पद रहेको व्यवसायी बताउँछन् । रातको समयमा सबै गाडी तथा मोटरसाइकललाई समेत चेकजाँच गर्ने भएपनि मासु बोकेको गाडीलाई गैंडाकोटमा चेकजाँच नगरी छाडिएको कुखुरापालक किसान संघका अध्यक्ष पौडेलले बताए ।‘गाडीको पछाडिको लाइट तथा साइड लाइट पनि बल्दो रहेनछ,’ उनले भने, ‘यो भन्दा पहिले आएका कन्टेनरसहितको गाडीलाई जाँच गरियो तर यसलाई गरिएन।

’ भन्सार प्रज्ञापन पत्रअनुसार स्विट कर्न र पोट्याटो कट दुई सय झोला, फ्रेस फिस एक सय कार्टुन र एक सय झोला हरियो केराउको भन्सार कार्यालयले जगत सप्लायर्सको नाममा ४६ हजार चार सय ८५ रुपैयाँ राजस्व काटेको देखिन्छ । बाबा ग्लोबल लिमिटेड इन्डियाले पठाएको सामग्रीको आयतकर्ता सिद्धार्थनगर नगरपालिका रुपन्देहीको सरोज मण्डलको नाममा रहेको जगत सप्लायर्स रहेको प्रज्ञापन पत्रमा उल्लेख छ।

भैरहवा भन्सार कार्यालयबाट चितवन आइपुग्दासम्म गाडीबारे कतै इन्ट्री भएको नपाइएको नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेलले बताए । ‘यति धेरै मात्रामा अवैध मासु भित्रिएको छ,’ उनले भने, ‘भन्सार र प्रहरीको मिलेमतो नभई कसरी आउन सक्छ ?’ कन्टेनरमा आयात गरिएको सामग्री प्लान्ट क्वारेन्टाइन कार्यालयले जाँचपास गरेको छ।

स्विट कर्न, पोट्याटो कट, हरियो केराउले पछाडिबाट ढाकेर भित्र अवैध मासु राखेर ल्याइएको उनले बताए।अहिले भारतमा बल्र्ड फ्लुको संक्रमण फैलिएको छ । यस्ता अवैध पोल्ट्री उत्पादन भित्रिदा नेपालमा समेत जोखिम बढ्ने खतरा रहेको उनी बताउँछन् । भारतमा अहिले कुखुराको मासु प्रतिकिलोको ५७ भारतीय रुपैयाँमा कारोबार भइरहेको छ ।

उनी भन्छन्, ‘सस्तो र अवैध पोल्ट्री उत्पादन भित्रिँदा यहाँका कुखुरापालक किसान मारमा परेका छन् ।’ पोल्ट्रीका उत्पादन अवैध रुपमा भित्रिन नदिन कुखुरा व्यवसायीले नै सूचना संयन्त्र बनाएर रेखदेख गर्दै आएका छन् । नियन्त्रणमा लिइएको गाडीका चालक र सहचालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेका छन् ।  


 

प्रकाशित: २१ चैत्र २०७४ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App