७ वैशाख २०८१ शुक्रबार
अर्थ

वाइड बडी जहाजका इन्जिनको जिम्मा रोल्स रोयसलाई

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुई महिनाभित्र ल्याउन लागेका ठूलो (वाइड बडी) आकारका दुईथान जहाजका इन्जिनको सम्पूर्ण मर्मत तथा सञ्चालनको जिम्मा इन्जिन निर्माता कम्पनी रोल्स रोयसलाई दिने निर्णय गरेको छ।

निगमले खरिद अर्डर गरेका २ सय ८० सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजका दुईमध्ये एउटा जहाज जेठ अन्तिम साताभित्र काठमाडौं आइपुग्ने छ भने दोस्रो जहाज त्यसको एक महिनापछि आइपुग्ने छ।

तिनै दुई जहाजमा रहेका चार थान इन्जिनको मर्मत, सञ्चालन तथा ‘लाइफ साइकल व्यवस्थापन’ रोल्स रोयसलाई दिने प्रक्रिया निगमले अगाडि बढाएको हो ।बेलायतको इन्जिन निर्माता कम्पनी रोल्स रोयस संसारकै सबैभन्दा ठूलो इन्जिन निर्माता कम्पनी हो । निगमले खरिद अर्डर गरेका दुइटै जहाजमा रोल्स रोयसकै इन्जिन रहनेछन्।

‘निगम इतिहासमै पहिलो पटक यस्तो निर्णय गरिएको र यसबारे प्रक्रिया अगाडि बढेको छ,’ राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने, ‘टोटल केयर प्याकेज भन्ने यस्तो सेवा रोल्स रोयसबाहेक अन्य कम्पनीले दिन नसक्ने र संसारका ९५ प्रतिशत वायुसेवा कम्पनीले रोल्स रोयससँग यस्तो सेवा लिइरहेका रहेछन्।

त्यही भएर हामी पनि रोल्स रोयसमै गएका हौं ।’कंसाकारका अनुसार इन्जिन मर्मत तथा सञ्चालनका लागि रोल्स रोयससँग १२ वर्ष अवधिबराबरको सम्झौता गरिने छ । यसबाट निगमको हवाई सुरक्षा क्षमतालाई वृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनेतर्फ आवश्यक प्रक्रिया अगाडि बढेको छ।

‘इन्जिन निर्माता कम्पनीलाई नै यसरी चारवटै इन्जिनको मर्मत र सञ्चालनको सबै जिम्मेवारी दिँदा प्रत्येक महिना ६ करोड रुपैयाँबराबरको खर्च लाग्ने अनुमान गरेका छौं,’ महाप्रबन्धक कंसाकारले भने, ‘यसबारे रोल्स रोयससँग थप वार्ता गरी केही साताभित्रै टुंगोमा पुग्ने छौं।’

उनका अनुसार चरा ठोक्किएर वा अन्य कुनै कारण इन्जिनमा खराबी आए सम्पूर्ण मर्मत खर्चदेखि जगेडा इन्जिनसमेत व्यवस्था तथा निश्चित समयमा गर्नैपर्ने मर्मतका काममा थप शुल्क लागे रोल्स रोयसले नै बहोर्ने छ।

निगमका अनुसार तोकिएको समयमै जहाज उडान (पंक्चुआलिटी) ७५.८ प्रतिशत रहेको छ । यस्तो अन्य वायुसेवा इथियोपियन एयरलाइन्सको ७४.८, स्पाइसजेट ७३.७, थाई एयर एसिया ७४.४, चाइना साउदर्न ६४.१, चाइना इस्टर्न ६१.८, एयर चाइना ६०.१, टर्किस एयरलाइन्स ७६.३, लुफ्थान्सा र एयर फ्रान्स क्रमशः ७६ प्रतिशत छ।

नेपाली उड्डयन बजारमा निगमको हिस्सा अहिले १० प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षको दाँजोमा एक प्रतिशतले कम हो । नेपालको उड्डयन बजार १ खर्ब रुपैयाँबराबरको रहेको अनुमान छ । निगम जहाजका सिट भराइ दर (अकुपेन्सी) दोहा सेक्टरमा ८८.१ प्रतिशत, हङकङमा ८५.५, क्वालालम्पुर ८३, नयाँदिल्ली ८३.४, मुम्बई ६७.८ र दुबईमा ६९.७ प्रतिशत छ।

निगमका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा जहाज थप्दै जाने योजना छ । आगामी डेढ वर्षभित्र थप ६ थान ट्विनअटर र दुईवटा ए३२०–२०० जहाज खरिद गरिने छ । सन् २०१२ मा यात्रु संख्या २ लाख थियो भने अहिले ४ लाख नाघेको छ । दुइटा वाइड बडी आएर सञ्चालन हुन थालेपछि बजार हिस्सा १६ देखि १७ प्रतिशत पुग्ने अनुमान छ।

प्रकाशित: २१ चैत्र २०७४ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App