७ वैशाख २०८१ शुक्रबार
अर्थ

दोस्रो सहकारी महासम्मेलन सुरु

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारी  मन्त्रालय र राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा बुधबारदेखि राजधानीमा दोस्रो सहकारी महासम्मेलन सुरु हुँदैछ ।
सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्।

दुई दिन सञ्चालन हुने सम्मेलनमा नेपालभरका ७३ जिल्लाका सहकारी प्रतिनिधिसहित भारत, चीन, जापान, कोरिया, मलेसिया, सिंगापुर, श्रीलंका, पाकिस्तान र इन्डोनेसियाका सहकारी अगुवाको सहभागिता हुने राष्ट्रिय सहकारी महासंघ नेपालले जनाएको छ।सम्मेलनमा नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी वकास बैंकलगायत संस्थाहरुको पनि सहभागिता रहने जनाइएको छ।

सम्मेलनले सहकारी क्षेत्रको साझा समस्या पहिचान गरी भावी कार्यदिशा तय गर्न सहकारी सघाउ पुग्ने महासंघका अध्यक्ष केशवप्रसाद बडालले बताए । ‘सम्मेलनको सम्पूर्ण तयारी भइसकेको छ,’ बडालले भने, ‘करिब एक हजार सहकारीकर्मी सहभागी हुन्छन् ।’६१औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरिएको सम्मेलनमा विज्ञहरुले करिब एक दर्जन कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएका छन्।

सम्मेलनमा नेपालको सहधारी अभियान : २०२२ सम्मको कार्यदिशा, सहकारीको प्रवद्र्धनमा सरकारका विभिन्न तहको भूमिका, दीगो विकास लक्ष्य र यसको कार्यान्वनयमा सहकरीको भूमिकाको विषयमा छलफल हुनेछ।

त्यस्तै वित्तीय सहकारी, चुनौती र सम्भावना, सहकारीमा महिला र युवाको सहभागिता, सहकारीमार्फत दिगो विकास लक्ष्य प्राप्तिका लागि विकास साझेदारको रणीनितिक संलग्नता, सहकारीबीचको व्यवसायिक मोड, चुनौती र सम्भावना, सुशासनः सहकारीको दिगोपनालगायत विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने तयारी छ।

सम्मेलनले दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीको योगदान वृद्धि हुने, सहकारी क्षेत्रमार्फत औद्योगीकरणमा योगदान हुने, सहकारीमा देखिएका समस्या पहिचान भई समाधानका लागि प्रतिबद्धता जाहेर हुने अध्यक्ष बडालले बताए । ‘सरकार, निजी क्षेत्र र सहकारीबीच सम्बन्ध विस्तार गर्न पनि सम्मेलनले टेवा पुग्नेछ,’ बडालले भने, ‘सम्मेलनले पाँच वर्षको कार्यदिशा तय हुनेछ।’

सम्मेलनमा सहकारी अभियानका हालसम्मका उपलब्धिको समिक्षा, सन् २०३० सम्मको दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी क्षेत्रको सहभागिता र योजनाबारे समिक्षा हुने प्रचार समितिका संयोजक चन्द्रप्रसाद ढकालले बताए । सहकारीले कृषि, गैर कृषि क्षेत्रको विकास, पुँजी निर्माण, सामाजिकीकरण, नेतृत्व विकास, लैगिक समानता, उद्यमशीलताको विकास र गरिबी न्यूनीकरणमा योगदान पुर्‍याएको छ।

सम्मेलनले मार्गदर्शन दिने कृषि, भूमि व्यवस्था तथा सहकारी  मन्त्रालयका सचिव गोपी मैनालीले बताए । ‘सहकारी क्षेत्रलाई व्यवस्थापन गर्न नयाँ ऐन आइसकेको छ,’ मैनालीले भने, ‘निमयमावलीको प्रारम्भिक मस्यौदा तयार गरेको छ।’

मुलुकभर अहिले ३४ हजार पाँच सय सहकारी छन् । सहकारीले सर्वसाधारणबाट तीन खर्ब २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेका छन् । सहकारीमा ६३ लाख पाँच हजारजना सदस्य र करिब ६० हजारले रोजगारी पाएको महासंघले जनाएको छ । यसअघि प्रथम सहकारी महासम्मेलन २०७० मा सम्पन्न भएको थियो।  

 

 

प्रकाशित: २१ चैत्र २०७४ ०१:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App