coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चितवनको विकास मोडेल सिंगो देशले हेर्न चाहेको छः दाहाल

बखान राष्ट्रिय सहकारी संग्राहलयको शिलान्यास कार्यक्रममा बोल्दै पुष्पकमल दाहाल। तस्बिरः सविता/नागरिक

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको  आर्थिक विकास मोडेल सिंगो देशले हेर्न चाहेको बताएका छन्। ६१ औं सहकारी दिवसका अवसरमा बखान बहुउद्देश्यीय सहकारी संस्थाले शारदानगरमा निर्माण गर्न लागेको बखान राष्ट्रिय सहकारी संग्राहलयको शिलान्यास कार्यक्रममा अध्यक्ष दाहालले हरेक दृष्टिकोणले चितवन नमुना बनाउनुपर्ने बताए।

प्राकृतिक साधनस्रोतको दृष्टिकोणका साथै धार्मिक तथा पर्यटनका हिसाबले  पर्याप्त संभावना भएको ठाउँ चितवनबाट निर्वाचनमा उम्मेदवार बन्दा राखेका प्रतिवद्धता योजनावद्ध ढंगले कार्यक्रम लिएर जाने उनले बताए। ‘नयाँ र विकसित चितवनमा बदल्ने परिकल्पना गरिरहेका छौं,’ उनले भने, ‘देशकै जेठो सहकारीलाई देशभरिबाट आउने, हेर्ने सिकेर जाने ठाउँ बनाउनुपर्छ।’

कार्यक्रममा अध्यक्ष दाहालले देश विकासका निम्ति संविधानले नै सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई विकासको खम्बा मानेर सहकार्यमा जोड दिएको बताए। सहकारी अभियानमार्फत निजी क्षेत्रलाई पनि आर्थिक समृद्धिमा पर्याप्त स्थान दिन चाहेको उनको भनाइ छ।

‘संविधानको प्रस्तावनामा नै अबको नेपाल समाजवाद उन्मुख राज्य हुनेछ भनिएको छ,’ उनी भन्छन्, ‘सबै नेपाली समृद्ध हुनुका साथै र सबै जातजाति, क्षेत्र, वर्ग, समुदायको सन्तुलित विकास, समान प्रतिनिधित्व र समान हैसियत प्राप्त गर्ने संविधान बनाएका छौं।’ तीनवटै तहको निर्वाचन गर्नुका साथै सरकार गठन प्रक्रियालाई सफल पारेर अहिले देशमा राजनीतिक स्थिरता कायम गर्नमा लागेको उनले बताए।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक रवीन्द्र केसीले संग्राहलय देशभरकै ३६ हजार सहकारीबारेअध्ययन गर्ने केन्द्र र सहकारीको अभिभावक बन्नुपर्ने बताए। सांस्कृतिक र सामाजिक परिवर्तनका लागि टेवा प्रदान गरेको सहकारीका कारण समाजले फड्को मारेको उनी बताउँछन्। देशभरका सहकारीले वार्षिक सात अर्ब रुपैयाँको कारोबार गर्ने बताउँदै उनले भने, ‘देशभर ६५ हजार नेपाली सहकारीका सदस्य छन्, करीब पाँच लाखले रोजगारी पाएका छन्।’

बखान सहकारीले चार विघा जग्गा सहकारीको लागि छुट्याएको छ। अहिले ५ करोडको लागतमा दुई तले भवन बनाउन लागिएको सहकारीका अध्यक्ष मोहनसिंह लामाले बताए। आगामी बैशाख २ गते भवन निर्माण लागि ग्लोवल टेण्डर खोलिने छ। सहकारी संग्राहलयमा संस्थापक अध्यक्ष बखानसिंह गुरुङको हातबाट लेखिएको तमसुक, २०११ सालमा राप्ती दून परियोजनाका लागि ढड्डी फाँड्न प्रयोग गरिएको औजार उपकरण, ऐतिहासिक पुराना पैसा, अन्य बहमुल्य सामानसँगै देशभरका सहकारीका बारेमा जानकारी राखिनेछ।

२०१३ साल चैत २० गते स्थापना गरिएको सहकारी २०१९ सालदेखि २०४६ सालसम्म कर्मचारीको नियन्त्रणमा राखिएको थियो। सहकारीलाई साझामा परिणत गर्दा विनासकै अवस्थामा पु¥याएकाले पुरानो सहकारी भएरपनि माथि उठ्न नसकेको बखानसिंहका नाति चन्द्रध्वज गुरुङले बताए। कृषिको विकासमा क्रियाशील बखान सहकारी तेल उत्पादन, तोरी, धानको बीउ उत्पादनमा क्रियाशील छ। भरतपुर महानगरपालिका १९, शारदानगरमा रहेको सहकारीमा ३६२ जना सेयर सदस्य छन्।

प्रकाशित: २१ चैत्र २०७४ ०१:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App