१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई विधेयक स्वीकृत, बोर्ड गठन गर्ने निर्णय

मकवानपुर – प्रदेश ३ को प्रदेश मन्त्रिपरिषद् बैठकले २ विधेयक स्वीकृत गर्दै एउटा बोर्ड गठन गर्न सैद्धान्तिक सहमति दिएको छ।

मन्त्रीको पारिश्रमिक एवम् सेवा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७४ को विधेयक मस्यौदालाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताए।

मंगलबार प्रदेश राजधानी हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले  प्रदेशसभा सदस्यको सेवासुविधा तर्जुमा गर्न बनेको ऐन २०७४ को विधेयक मस्यौदालाई पनि सैद्धान्तिक सहमति दिएको छ।

प्रवक्ता ढुंगेलका अनुसार बैठकले प्रादेशिक दुग्ध विकास बोर्ड गठन गर्नेसम्बन्धी सैद्धान्तिक सहमति गरेको छ भने प्रदेशसभाका सचिवको काम, कर्तव्य, अधिकार र सेवा सुविधासम्बन्धी अवधारणालाई पनि सैद्धान्तिक सहमति दिएको छ। प्रदेशसभाले अहिलेसम्म केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धी विधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थितसम्बन्धी विधेयक पारित गरेको छ।

कार्यक्रम बहिस्कार गर्ने मुख्यमन्त्रीको चेतावनी
मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय उत्पादनलाई जोड नदिए कार्यक्रम बहिस्कार गर्ने चेतावनी दिएका छन्। ६१ औं सहकारी दिवसमा मंगलबार हेटौंडामा भएको कार्यक्रममा भारतबाट आयात हुने सयपत्री फूलको मालाको प्रयोग गरेपछि उनले यस्तो आक्रोश पोखेका हुन्।

नेपालमा फूल व्यवसायको ठूलो सम्भावना रहेको भन्दै उनले चुनाव जितेपछि मात्र आपूmले १० लाखभन्दा धेरै रुपैयाँको फूलमाला लगाइसकेको बताए। सहकारीले स्थानीय माग पूरा गर्ने व्यवसायलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिदै उनले अर्को वर्ष पनि भारतबाट फूल मगाएर कार्यक्रम गरिए आपूmहरू नआउने बताए।

‘स्वरोजगार बनाउने उदेश्यले रुपैयाँ जम्मा गर्ने सहकारीको कार्यक्रममा फूल भने भारतबाट मगाउनुपर्ने अवस्था छ,’ उनले भने ‘पैसालाई अनावश्यक खर्च गर्नु भएन, बरु पातको माला बनाउनुस्, नेपालको लालुपाते फूलको प्रयोग गर्नुस्।’

सहकारीबाट ऋण झिकेर सुनको गहना बनाउने, भोज खुवाउने, लुगा किन्ने जस्ता फजुल खर्च गरेको प्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले त्यस्ता ऋण रोक्दै व्यवसायिक बनाउन सहकारीले चेतना जगाउनुपर्ने बताए।

सहकारीलाई ठूलो उद्योग खोल्न प्रदेश सरकारले आधा लगानी गरिदिने आश्वासन दिदै उनले सहकारीले ठूला उद्योगमा लगानी गरे हजारौंले रोजगारी पाउने बताए। विकासका लागि सहकारीलाई साथ लिएर अघि बढ्ने बताउँदै उनले ठूला उद्योग खोल्न सके युवा विदेशिनुपर्ने बाध्यतामा कमी आउने पनि बताए।

प्रदेशको नाम ‘नेवा–ताम्सालिङ’ राख्न माग
प्रदेश ३ को नाम ‘नेवा–ताम्सालिङ’ राख्न माग गर्दै मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाइएको छ। नेपाल तामाङ घेदुङ र नेवा देय्ः दबुःले ५ बुँदे माग राख्दै संयुक्त रूपमा मंगलबार ज्ञापनपत्र बुझाएको हो । मुख्यमन्त्री पौडेललाई तामाङ घेदुङका केन्द्रिय महासचिव बाबु घिसिङ र देय्ः दबुःका केन्द्रीय अध्यक्ष नरेशकुमार ताम्राकारले ज्ञापन पत्र बुझाएका हुन्।

मुख्यमन्त्री पौडेलले आफ्नो ध्यानाकर्षण भएको बताउँदै प्रदेशसभा बैठकमा छलफल गराउने आश्वासन व्यक्त गरे। ‘प्रदेशको राजधानी र नामकरण प्रदेशसभाको दुईतिहाइ मतले निर्णय गर्नेछ,’ उनले भने। नामकरण र राजधानी आफ्नो हातको कुरा नभएको बताउँदै मुख्यमन्त्री पौडेलले आपूmले सक्दो पहल गर्ने समेत बताए।

केन्द्रीय(संघीय) राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको जिल्लामा प्रदेश राजधानी राखिनुपर्ने माग रहेको ज्ञापनपत्रमा राजधानी हुनुपर्ने विभिन्न आधारसमेत उल्लेख छ। प्रदेशको राजधानी काभ्रेको बनेपा, धुलिखेल, पनौति नगरपालिकालगायत क्षेत्रमा राख्दा उपयुक्त हुने समेत दाबी गरिएको छ । साथै प्रदेशको सरकारी कामकाजी भाषाका रूपमा नेपाली भाषासहित तामाङ भाषा र नेपाल भाषालाई बनाउन माग गरिएको छ भने प्रदेशका विद्यालयमा मातृभाषा शिक्षा अनिवार्य विषय बनाउनुपर्ने लगायतका माग ज्ञापनपत्रमा छ।

बलात्कारीलाई जन्मकैदको माग
सिस्टर सोसाइटी मकवानपुरले बलात्कारीलाई जन्मकैदको माग गरेको छ। ६१ औं सहकारी दिवसको अवसरमा सोसाइटीले जन्मकैदको माग गर्दै मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको हो।

सोसाईटीले महिला हिंसा तथा बलात्कार गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने समेत माग राखेको छ। सोसाइटीकी अध्यक्ष राधा सिन्तानसहितको टोलिले हजारौ महिलाले गरेको हस्ताक्षर सहितको ज्ञापनपत्र पनि बुझाएका हुन्। ज्ञापनपत्रमा बलात्कारीलाई जन्मकैद हुनुपर्ने, अपराध दर्ता नगर्ने प्रहरीलाई तत्काल निलम्बन गर्नुपर्ने, बलात्कारको झुटो आरोप लगाउनेलाई १० वर्ष भन्दा धेरै कैद हुनुपर्नेलगायत माग राखिएको छ।

प्रकाशित: २१ चैत्र २०७४ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App