काठमाडौं – यातायात व्यवसायीले सरकारले यातायात क्षेत्रलाई सुधार्न ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको विरोध गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कार्यसम्पादन सचिवालयको आकस्मिक बैठकले यातायात व्यवस्था विभागले महासंघसँग समन्वय नगरी ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका र संगीत रोयल्टी लागू गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले संस्था दर्ता ऐन २०३४ अनुसार संघ/समितिमार्फत सञ्चालित सार्वजनिक सवारी साधनका रुट इजाजत नवीकरण नगर्ने निर्णयको विरोध जनाउँदैे निर्देशिकाको सम्बन्धमा प्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ध्यानाकर्षण गर्ने निर्णय भएको महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले बताए। ‘पहिलोचरणमा सम्बन्धित निकायसँग ध्यानाकर्षण गर्ने कार्यक्रम छ। सरकार कुन रुपमा प्रस्तुत हुन्छ सोहीअनुसार रणनीति बनाएर विरोधमा उत्रिनेछौं,’ उनले भने।
यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधी तथा मापदण्डमा कार्यान्वयनमा ल्याएर सार्वजनिक यातायातमा गीतसंगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने व्यवस्थाको पनि व्यवसायीले विरोध गरेका छन्।
विभागले चैत १८ गतेदेखि सार्वजनिक सवारीमा गीतसंगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेकोमा महासंघले एकतर्फी रुपमा निर्देशिका लागू गरिएको बताउँदै संगीत रोयल्टी एंव मनोरञ्जन कर हाललाई नबुझाउन तथा अर्काे निर्देशन नभएसम्मका लागि सम्पूर्ण व्यवसायी एवं मजदुरले सार्वजनिक सवारीसाधनमा गीतसंगीत नबजाउन प्रेस विज्ञप्ती जारी गरेको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले लामो समयको अध्ययनपछि मात्रै यातायात व्यवस्थापन कार्यविधी ल्याइएको बताउँदै व्यवसायीले विरोध गर्दैमा कार्यविधीबाट पछि नहट्ने बताए। उनले भने, ‘यातायात क्षेत्रमा मौलाउँदै आएको सिन्डिकेट अन्त्य गर्न कार्यविधी ल्याइएको हो।’
प्रकाशित: २१ चैत्र २०७४ ००:५५ बुधबार