८ वैशाख २०८१ शनिबार
समाज

पशुपति क्षेत्र मगन्तेमुक्त घोषित

काठमाडौं – पशुपति क्षेत्रलाई मगन्ते र असहायरहित क्षेत्र घोषणा गरिएको छ। यो घोषणासँगै अब पशुपति क्षेत्रमा  मागन्ते र असहाय देख्नुपर्ने छैन।

मुलुकको प्रमुख धार्मिक पर्यटकीय गन्त्व्य पशुपति क्षेत्रलाई शान्त र सौम्य स्थलको रुपमा स्थापित गर्न यस्तो घोषणा गरिएको हो। पशुपति क्षेत्र विकास कोषसहित विभिन्न संघसंस्था र काठमाडौं महानगरपालिकाको सहकार्यमा मगन्ते र असहायको व्यवस्थापन गर्ने लक्ष्यसहित यस्तो घोषणा भएको हो। 

पर्यटन तथा संस्कृतिमन्त्री रवीन्द्र अधिकारीले मंगलबार आयोजित एक कार्यक्रममा ‘पशुपति क्षेत्र मगन्ते र असहायरहित’ अभियानको घोषणा गरे। कार्यक्रममा मन्त्री अधिकारीले भने, ‘हामीले जुन परिकल्पना गरेका छौं, त्यसको कार्यान्वयन हो यो अभियान।’ उनले यो महाअभियानमा संलग्न अभियन्तालाई बधाईसमेत दिए।

पशुपति क्षेत्रका मगन्ते र असहायको व्यवस्थापन र उद्धार कार्यमा  सत्य साई केन्द्र, मानवसेवा आश्रम, बागमती सफाइ अभियन्ता, मनोसामाजिक परामर्शदातालगायतले योगदान दिँदै आएका छन्।  विगत ६ महिनादेखि पशुपति क्षेत्रका असहाय, मगन्ते, वृद्धवृद्धा, मानसिक रोगी तथा लागू÷मादक पदार्थ सेवनकर्तालगायतको व्यवस्थित पुनस्र्थापना भइरहेको छ। पुनस्र्थापना अभियानको ६ महिनामा मानवसेवा आश्रमले  पशुपति क्षेत्रबाट ९१  जनाको उद्धार गरिसकेको छ। उसले पहिलो चरणमा २० र दोस्रो चरणमा ६१ जनाको उद्धार  गरेको हो।

उद्धार गरिएकामध्ये केहीले मानवसेवा आश्रम र केहीले  रक्षा नेपालमा आश्रय लिएका छन्। उद्धार गरिएकालाई सम्भव भएसम्म परिवारमा पुनस्र्थापना गराउने, जीविकोपार्जनका लागि सीप सिकाउने, मानसिक तथा शारीरिक स्वास्थ्य सेवा दिने कार्य भइरहेको छ। ‘सम्भव भएकालाई पुनस्र्थापना केन्द्र र नभएकालाई आश्रममै राखेर सेवा दिने कार्यक्रम छ’, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारले भने।

मानवसेवा आश्रमका लागि पशुपति क्षेत्र विकास कोषले मासिक भाडाबापत १ लाख ६७ हजार २  सय रुपैयाँ प्रदान गर्दै आएको छ। अन्य व्यवस्थापन दाताको सहयोगबाट सम्भव हुँदै आएको आश्रमले जनाएको छ। यो अभियानको उद्देश्य कुनै पनि कारणले असहाय, मानसिक रोगी, अपांगता भएका तथा अन्य कारणले सडकमा आएकाको उद्धार गरी परिवारमा पुनर्मिलन गरराउनु रहेको जानकारी पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए। ‘मानव कल्याणका लागि सञ्चालन गरिएको यो अभियानको लक्ष्या कसैले पनि खुला आकाशमुनि रात बिताउनु नपरोस् तथा बिहान–बेलुकी दुई छाक खान र एकसरो कपडा लगाउन हात फैलाएर सडक पेटीमा बस्न नपरोस् भन्ने हो’, ढकालले भने।

कोषका अनुसार यहाँ माग्ने सबैचाहिँ असहाय होइनन्। कतिपयले माग्ने कार्यलाई पेसा जस्तै बनाएको पाइएको छ। कतिपयले असहाय भएको हाउभाउ देखाएर माग्ने गरेका छन्। ‘उनीहरु दिनअनुसार जुन मन्दिरमा भक्त बढी आउँछन् त्यतै गएर माग्ने गरेको पाइएको छ। यी मगन्तेहरुलाई परिचालन गर्ने खास गिरोह  छ। ‘कतिले त बच्चाको पेटमा घाउ बनाएर मागेको पनि पाइयो’, ढकालले भने।

वर्षांैदेखि अव्यवस्थित रुपमा बस्दै आएका मगन्तेका कारण पशुपति क्षेत्रको शोभा खस्किएको मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डनले बताए। ‘नाथै–नाथको देशमा अनाथहरु बढ्ने काम भइरहेको छ, त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा हामीले चिन्तन गरेपछि यो अभियान आवश्यक देख्यौं’, उनले भने।

पशुपति क्षेत्रबाट सुरु भएको सडकपेटीबाट मगन्ते, भिखारी तथा असहायको उद्धार गर्ने अभियानलाई ०८२ सालभित्र देशभरि बनाइने घोषणा आश्रमले गरेको छ । यो अभियानका लागि अहिलेसम्म १० जिल्लामा मानवसेवा आश्रमका शाखा स्थापना भइसकेको आश्रमले जनाएको छ। आश्रमको यो अभियानप्रति समर्थन जनाउँदै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा महानगरका सडक मगन्तेरहित बनाउने प्रतिबद्धता जनाए। ‘०८२ सालसम्म नकुर्नु होला, मेरै कार्यकालभित्र महानगरका सडक मगन्तेमुक्त भइसक्ने छन्, तीव्र गतिमा अघि बढे छिट्टै लक्ष्यमा पुग्न सक्छौं’, शाक्यले भने।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले यो अभियानमा चाहिए सुरक्षाकर्मी खटाएर सहयोग गर्ने बताए। मन्त्री अधिकारीले पशुपतिलाई धार्मिक पर्यटकीय स्थलका रुपमाा विकास गर्न पर्यटन मन्त्रालय तयार रहेको बताए। ‘पशुपति क्षेत्र मगन्ते र असहायरहित हुनेबित्तिकै यसको गरिमा बढ्छ, गुरुयोजना अनुसार थप संरचना बनाउन मन्त्रालय तयार छ’, मन्त्री अधिकारीले भने। उनले थपे, ‘पशुपति आउँ–आउँ जस्तो होस्, आउनेबित्तिकै जाउँ–जाउँ जस्तो नहोस्।'

प्रकाशित: २१ चैत्र २०७४ ००:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App