लन्डन – २८ वर्षको पर्खाइपछि स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई पराजित गर्ने लक्ष्यले पूर्णता पाएपछि टोटेनह्यामका प्रशिक्षम माउरिसियो पोचेटिन्होले डेले अलीको प्रशंसा गरेका छन्।
आइतबार सम्पन्न खेलमा टोटेनह्यामले चेल्सीलाई ३–१ को नतिजामा पराजित गरेको थियो । टोटेनह्यामसँगको हारसँगै शीर्ष ४ मा बसेर अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने चेल्सीको लक्ष्य थप कठिन बनेको छ ।
३१ खेलमा ६४ अंक जोडेको टोटेनह्याम चौथो स्थानमा यथावत् छ । जुन पाँचाैं स्थानको चेल्सीभन्दा ८ अंक बढी हो । समान खेलमा ८४ अंक जोडेको म्यानचेस्टर सिटी पहिलो, ६९ अंकका साथ म्यानचेस्टर युनाइटेड दोस्रो, ६६ अंकका साथ लिभरपुल तेस्रो र ५१ अंक जोडेको आर्सनल छैटौं स्थानमा छन् ।
३०औं मिनेटमा गोलकिपर ह्युगो लोरिसको गल्तीमा अल्भारो मोराटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । भिक्टर मोसेसको क्रसलाई लोरिसले ठम्याउन नसक्दा मोराटाले सहजै गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा बेन डेभिसको पासमा क्रिस्टियन इरिक्सनले गोल गर्दै टोटेनह्यामलाई खेलमा फर्काएका थिए।
दोस्रो हाफमा ४ मिनेटको अन्तरमा दुई गोल गर्दै अलीले टोटेनह्यामको जित पक्का गरेका थिए । ६२औं मिनेटमा इरिक डायरले दिएको लामो पासमा चेल्सीका गोलकिपरसँग वान भर्सेस वानको अवस्थालाई गोलमा परिणत गरेका अलीले ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए।
‘अली उत्कृष्ट खेलाडी हुन् । यसमा कुनै दुबिधा छैन । उनी युवा छन् र धेरैभन्दा धेरै अवसरका लागि सक्षम पनि छन्,’ पोचेटिन्होले भने, ‘पहिलो हाफमा १–० ले पछि पर्दा टोली दबाबमा परेको थियो । तर टोलीले अन्तिमसम्म हार मानेन र जित पक्का ग¥यो । त्यसमा अली नायक रहे।’
‘२८ वर्षपछि चेल्सीलाई उसकै घरेलु मैदानमा पराजित गर्नु महत्वपूर्ण उपलब्धि हो,’ टोटेनह्याममा पहिलो उपाधिको पर्खाइमा रहेका पोचेटिन्होले थपे, ‘यो क्लब, खेलाडी र समर्थक सबैका लागि खुसीको दिन हो।’
चेल्सीका प्रशिक्षक एन्टोनीयो कोन्टेले अधिंकांश समय बल नियन्त्रणमा राख्दै अग्रता समेत लिए पनि पहिलो हाफको अतिरिक्त समयमा टोटेनह्यामका इरिक्सनले गोल बराबरी फर्काउनु खेलको नतिजा परिवर्तन गर्न मुख्य कारक बनेको बताए।
‘अग्रता जोगाउन नसक्दा दोस्रो हाफमा टोलीको मनोबल घट्यो । जुन हाम्रो प्रदर्शनमा स्पष्ट देखिन्थ्यो । हामीले पहिलो हाफमै अग्रता २–० मा पुर्याउने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनाैं । यो फुटबल खेल हो र यहाँ यस्ता नतिजा आइनै रहन्छ,’ कोन्टेले भने ।
‘आजको हारपछि हामीले टोटेनह्यामसँगको दूरी घटाउने अवसर गुमायाैं,’ शीर्ष ४ मा बस्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना समाप्त नभइसकेको भन्दै कोन्टेले भने, ‘लिग समाप्त हुन अझै ७ खेल बाँकी छ । हामी उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन्स लिगमा स्थान पक्का गर्नेमा आशावादी छौं।’
‘पहिलो हाफमा १–० ले पछि पर्दा टोली दबाबमा परेको थियो । तर टोलीले अन्तिमसम्म हार मानेन र जित पक्का गर्यो। त्यसमा अली नायक रहे।’
प्रकाशित: २० चैत्र २०७४ ०४:२९ मंगलबार