coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अंक दूरी घटाउँदै एट्लेटिको

सेभिया – एट्लेटिको मड्रिडले आइतबार डेपोर्टिभो ला कोरुनामाथि १–० को जित हासिल गर्दै स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग दूरी ९ अंकमा झारेको छ। शीर्ष टोली बार्सिलोनालाई सेभियाले २–२ को बरबरीमा रोकेपछि एट्लेटिकोले अंक दूरी कम गर्ने मौका पाएको थियो । जसलाई टोलीले पूर्ण रूपमा सदुपयोग गर्यो।

घरेलु वान्डा मेट्रोपोलिटियानो मैदानमा सम्पन्न खेलको  ३४औं मिनेटमा केभिन गामेरियाले पेनाल्टीमा गरेको गोल एट्लेटिकोलाई तीन अंक एकतर्फी पार्न पर्याप्त बन्यो । डेपोर्टिभोका पेड्रो मोस्क्वराले साउल निग्वेलमाथि खराब फाउल गरेपछि एट्लेटिकोले पेनाल्टीको अवसर पाएको थियो।

यस जितपछि ३० खेलमा ६७ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा यथावत् छ । जुन शीर्ष स्थानको बार्सिलोनाभन्दा ९ अंक कम हो । समान खेलमा ६३ अंक जोडेको रियाल तेस्रो स्थानमा रहँदा ६२ अंकका साथ भ्यालेन्सिया चौथो र ४७ अंक जोडेको भिल्लारियाल पाँचाैं स्थानमा छन्।

रेलिगेसनको चर्को दबाब झेलिरहेको डेपोर्टिभो २० अंकमा सीमित हुँदै १९औं स्थानमा छ । सिजनका आठ खेल मात्र बाँकी रहँदा टोली सुरक्षित क्षेत्रभन्दा आठ अंकले पछि छ। आइतबारै सम्पन्न अर्को खेलमा भ्यालेन्सियाले लेगानेसलाई १–० को नतिजामा पराजित गर्यो । भ्यालेन्सियाको जितमा ड्यानियल पारेजोको पासमा रोड्रिगोले गरेको गोल पर्याप्त बन्यो।

त्यस्तै मालागाले भिल्लारियाललाई १–० को नतिजामा हराउँदा गोन्जालो क्यास्ट्रोले पेनाल्टीमा गोल गरे । भिल्लारियालका सर्जियो एसेन्जोले डिएगो रोलानमाथि खराब फाउल गरेपछि मालागाले पेनाल्टीको अवसर पाएको थियो । स्पेनिस ला लिगाअन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा रियाल सोसिडाड र एइबार तथा स्पानियोल र आल्भेसले गोलरहित बराबरी खेले।

प्रकाशित: २० चैत्र २०७४ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App