coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किंदै

कराची – पाकिस्तानले कराचीस्थित राष्ट्रिय रंगशालामा ९ वर्षपछि सम्पन्न पहिलो अन्तर्राष्ट्रिय खेलमा आइतबार पाहुना टोली वेस्ट इन्डिजमाथि फराकिलो जित हासिल गरेको छ। ट्वान्टी–२० स्वरूपमा सम्पन्न खेलमा विश्व नम्बर एक ट्वान्टी–२० टिम पाकिस्तानले समस्याग्रस्त वेस्ट इन्डिजमाथि १ सय ४३ रनको जित निकाल्दै शृंखलामा विजयी सुरुआत गर्यो।
पाकिस्तानले यसअघिको आफ्नै कीर्तिमानसँग बराबरी गर्दै पूरा २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रनको उच्च योगफल तयार गरेको थियो । ठीक विपरीत वेस्ट इन्डिज भने आफ्नै इतिहासको सबभन्दा न्यून स्कोरमा सीमित हुने क्रममा टोलीले १३.४ ओभरमा ६० रन मात्र बनाउन सक्यो।

नियमित कप्तान कार्लोस ब्रेथह्वाइटलगायत स्टार खेलाडीहरू क्रिस गेल र किरन पोलार्डबिना मैदान उत्रिएको वेस्ट इन्डिजले विविधतायुक्त पाकिस्तानी बलिङ आक्रमणको खुलेर सामना गर्न सकेन । मार्लोन सामुइल्सले १८, रियाद इम्रिटले ११ तथा किमो पाउलले १० रन बनाउनुबाहेक वेस्ट इन्डिजका अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन्।

पाकिस्तानले ट्वान्टी–२० क्रिकेटमा दोस्रो ठूलो अन्तरको स्कोरले वेस्ट इन्डिजलाई हराउँदै इतिहास रच्यो । यसअघि जोहानेसबर्गमा श्रीलंकाले २००७ मा केन्यालाई १ सय ७२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । ट्वान्टी–२० क्रिकेटमा यसअघि २००८ मा पाकिस्तानले ५ विकेट गुमाएर २ सय ३ रन बनाएपछि बंगलादेशलाई १ सय २ रनले पराजित गरेको थियो।

वेस्ट इन्डिजको इनिङलाई सस्तैमा सीमित गर्न पाकिस्तानका मोहम्मद आमिर, मोहम्मद नवाज र सोएब मलिकले समान २–२ विकेट लिए। पाकिस्तानी कप्तान सरफराज अहमदले उद्घाटन खेलमा विजयी भएपछि टोलीका सबै सदस्यको प्रशंसा गरे ।

‘उत्कृष्ट खेल प्रस्तुत गर्यौं,’ अहमदले भने, ‘दोस्रो खेल महत्वपूर्ण छ । दोस्रो खेल पनि जित्दै शृंखला हात पार्न चाहन्छौं।’
ट्वान्टी–२० स्वरूपमा वेस्ट इन्डिजका नयाँ कप्तान जेसन मोहम्मदले हारको कारण फितलो ब्याटिङ भएको बताए।

‘कठिन दिन थियो । अन्तिम दुई ओभर बाँकी रहँदासम्म हामीले बलिङमा राम्रो गरेका थियौं । विकेट पनि लिएका थियौं। तर अन्तिम दुई ओभरमा किफायती बलिङ गर्न नसक्नुको मूल्य पनि चुकाउनुपर्यो,’ मोहम्मदले भने ।
सन् २०१० मा पोर्ट अफ स्पेनमा जिम्बाब्वेविरुद्धको खेलमा बनाएको ७९–७ को स्कोर यसअघि वेस्ट इन्डिजको सबभन्दा न्यून स्कोर थियो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय ३ रन जोडेको थियो । पाकिस्तानका लागि हुसेन तालतले ३७ बल सामना गर्दै १ छक्का र दुई चौकासहित सर्वाधिक ४१ रन बनाएर ‘डेब्यु’ सफल पार्दा कप्तान सरफराज अहमदले २२ बलमा १ छक्का र ४ चौकासहित ३८ रनको योगदान गरे । ओपनर फकर जमानले ३९ तथा सोएब मलिकले ३७ रन बनाए।

३३ हजार क्षमता भएको रंगशालामा १८ हजार दर्शकले ९ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेलको मजा लिएका थिए ।
‘पाकिस्तान अन्तर्राष्ट्रिय खेलका लागि सुरक्षित भूमि हो भनेर हामी साबित गर्न चाहन्छौं,’ एक स्थानीय गृहिणीले भनिन् ।
अर्का एक विद्यार्थी अफताब खानले आगामी दिनमा अन्तर्राष्ट्रिय खेल पाकिस्तानको भूमिमा हुने अपेक्षा गरे । खानले भने, ‘अन्तर्राष्ट्रिय खेलाडीलाई हाम्रो देशमा स्वागत गर्न पाउँदाको क्षणलाई बयान गर्ने शब्द मसँग छैन । सबै खेलाडी पाकिस्तान आएर खेल्नुपर्छ । किनकि पाकिस्तानमा अब अशान्ति छैन।’

वेस्ट इन्डिजविरुद्धको ट्वान्टी–२० शृंखलाले पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट पुनस्र्थापना गर्न ठूलो सहयोग मिल्ने विश्वास लिइएको छ । यसअघि सन २००९मा भ्रमणमा रहेको श्रीलंकाको राष्ट्रिय टोली चढेको बसमाथि आतंककारी हमला भएपछि पाकिस्तानमा कुनै पनि ठूला अन्तर्राष्ट्रिय टिमले भ्रमण गरेका थिएनन्।

यसअघि यसै वर्ष पाकिस्तानको चर्चित पाकिस्तान सुपर लिगको फाइनल खेल अघिल्लो आइतबार कराचीमै भएको थियो । ‘पाकिस्तान अन्तर्राष्ट्रिय खेलका लागि सुरक्षित भूमि हो भनेर हामी साबित गर्न चाहन्छौं।’

प्रकाशित: २० चैत्र २०७४ ०४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App