coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

गुम्यो फ्य्रांकफर्टको मौका

बर्लिन – गोलकिपर लुकास र्याडेकीको गल्तीका कारण आइतबार वेर्डेर ब्रेम्यानसँग २–१ को नतिजामा पराजित भएपछि इन्ट्य्राक्ट फ्य्रांकफर्टले जर्मन बुन्डेसलिगाको शीर्ष चारमा फर्किने मौका गुमाएको छ।

गोलकिपर र्याडेकीले आफ्नै टोलीका रक्षक डेभिड अब्राहमबाट आएको बललाई सही जज गर्न नसकेपछि खेल सकिन ११ मिनेट बाँकी रहँदा गोल खाएपछि ब्रेम्यान विजयी भएको थियो । अब्राहमले हेडबाट दिएको पासलाई सही जज गर्न नसकेपछि बल सोझै गोलमा परिणत भएको थियो।

‘त्यो स्पष्ट रूपमा मेरो गल्ती  हो । मैले बलको गति र अवस्था भेउ पाउन सकिनँ,’ फिनल्यान्डका अन्तर्राष्ट्रिय गोलकिपर र्याडेकीले भने, ‘मेरो कारण टोलीले पराजय भोग्नुपर्यो । म टिम र समर्थकसँग माफी माग्न चाहन्छु ।’ यसअघि ज्लाट्को जुनुजोभिचको गोलमा २८औं मिनेटमा ब्रेम्यानले अग्रता लिएको थियो । थोमस डेलानीको क्रस माकोटो हासेबेलाई डिफ्लेक्ट हुँदा प्राप्त बललाई जुनुजोभिचले गोलमा परिणत गरेका थिए।

एक गोलले पछि परेको अवस्था उल्टाउँदै शीर्ष चारमा उक्लिने लक्ष्यमा फ्य्रांकफर्टले पहिलो हाफको बाँकी समय काउन्टर अट्याकमा थुप्रै अवसर सिर्जना गरेको थियो । तर ब्रेम्यानका गोलकिपर जिरी पाभलेन्काले उत्कृष्ट बचाउ गर्दै फ्य्रांकफर्टलाई निराश पारे । तथापि ५४औं मिनेटमा लुका जोभिचले बराबरी गोल गर्दै भ्रमणकारी फ्य्रांकफर्टको खेलमा फर्किने आधार बनाएका थिए।

ब्रेम्यानले पनि रक्षात्मक खेल्दै काउन्टर अट्याकमा गोल गर्ने रणनीति प्रभावकारी बनाउँदा फ्य्रांकफर्टका गोलकिपर र्याडेकी पूरा खेलअवधिभर व्यस्त रहे । जर्मन बुन्डेसलिगामा आइतबारै सम्पन्न अर्को खेलमा बोरुसिया मोन्चेनग्लाडबाचले रेलिगेसनबाट बच्न संघर्षरत मेइन्जसँग गोलरहित बराबरीमा चित्त बुझायो।

प्रकाशित: २० चैत्र २०७४ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App