coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

महानगरको कर वृद्धि समय सापेक्ष : मेयर दाहाल

चितवन – भरतपुर महानगरपालिकामा गरिएको कर वृद्धि समय सापेक्ष रहेको महानगरपालिकाकी मेयर रेणु दाहालले बताएकी छन्। सोमबार महानगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा रहेको करको दर र दायरा वर्तमान समयमा अव्यवहारिक र अवैज्ञानिक देखिएकाले समय सान्दर्भिक बनाउन करको दर बढाइएको उनले बताइन्।

भरतपुर महानगरपालिकाको गत पुस २३ गते भएको पहिलो नगरसभाले पारित गरेको करको दर तथा सेवा शुल्क स्थानीय जनप्रतिनिधि, संघीय र प्रदेशसभाका सांसद, राजनीतिक दल, व्यवसायी तथा सरोकारवालासँग विस्तृत छलफल गरेर नै तय गरिएको मेयर दाहालको दाबी छ। जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा त्यति धेरै कर नबढाइएको उनले बताइन्। 

‘आम जनतालाई प्रत्यक्ष प्रभाव पार्ने कर तथा शुल्कमा खासै वृद्धि गरिएको छैन,’ उनले भनिन्, ‘’स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्थालाई नै आधार बनाएर करका दर समय सापेक्ष बनाइएको हो। जिल्लामा ठूलो लगानीका व्यवसाय पनि भित्रिएकाले तिनीहरूलाई समेट्न करको दायरा समेत फराकिलो बनाइएको उनले बताइन्। व्यवसायिक कर भने व्यवसायको लगानी र कारोबारका आधारमा व्यवसायलाई वर्गीकरण गरेर लिइनेछ।

करको दर बढाउन महानगरपालिकाले गत कात्तिकबाटै प्रारम्भिक छलफल थालेको थियो। राजस्व परामर्श समितिका विभिन्न ६ वटा विषयगत समितिमा छलफल गरेर मात्र करको दर तोकिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताए। करको दायरा बाहिर रहेका व्यवसायीलाई समेत समेट्न पुँजीगत लगानी र आर्थिक कारोबारको आधारमा व्यवसाय वर्गीकरण गरेर कर संकलन गरिने उनी बताउँछन्।

महानगरपालिका हुन आन्तरिक आय कम्तीमा एक अर्ब हुनुपर्ने भएकाले पनि करको दर वृद्धि गरिएको उनको भनाइ छ। यसअघि ११५ वटा शीर्षकमा व्यवसायलाई वर्गिकरण गरेर कर संकलन गर्दै आएकामा यस वर्षबाट २०८ शीर्षकमा कर संकलन हुँदैछ । होटल, रिर्सोट, अस्पताल, दाना उद्योग लगायतलाई यस वर्ष समेटेर दायरा फराकिलो बनाईएको उनले बताए। गत आर्थिक वर्षमा भरतपुर महानगरपालिकाको आन्तरिक आय २३ करोड ९८ लाख रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षमा ६३ करोड आन्तरिक आय र ७ करोड राजस्व बाँडफाँटबाट संकलन गर्ने लक्ष्य राखिएको छ। आन्तरिक आयमध्ये १० करोड रुपैयाँ व्यवसायिक करबाट संकलन गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिए। महानगरपालिकामा करिब १० हजारको संख्यामा व्यवसायी करदाता रहेका छन्। व्यवसाय वर्गीकरण गर्न तथा करको दायराभन्दा बाहिर रहेका व्यवसायीलाई समेट्न महानगरको राजस्व टिम जाँदा चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ चितवनका प्रतिनिधि पनि सहभागी हुन सक्ने उनले बताए।

महानगरपालिकाले व्यवसाय वर्गीकरण तथा कर संकलनका लागि सात टिम बनाएको छ। महानगरका व्यवसायीले करको दर धेरै भएको र व्यवसाय वर्गीकरणका आधार स्पष्ट नभएको भन्दै महानगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए। व्यवसायीले राखेका समस्या समाधान गर्न महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ।

कार्यदलमा उद्योग वाणिज्य संघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महानगरपालिकाका वडा नंं. १ र १० को वडा अध्यक्ष, चितवन उद्योग संघका प्रतिनिधि र राजस्व कार्यालय चितवनका प्रतिनिधि सदस्य छन्। कार्यदलको बैठकले दिएको जिम्मेवारी अनुसार उद्योग वाणिज्य संघ चितवनले व्यवसाय वर्गीकरण आधारको खाका तयार गर्नेछ। संघले प्रस्तुत गर्ने खाका अनुसार व्यवसाय वर्गिकरणको बारेमा कार्यदलमा छलफल गरेर निर्णय गरिनेछ।

पत्रकार सम्मेलनमा मेयर दाहालले महानगरपालिकाले अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बनाउन जग्गा उपलब्ध गराउने घोषणा समेत गरिन्। धुर्मस सुन्तली फाउण्डेशनले स्टेडियम बनाउन जग्गा खोजिराखेको समयमा खेलकुदको लागि चितवन पायक पर्ने ठाँउ भएकोले महानगरपालिका जग्गा उपलब्ध गराउन तयार रहेको उनले बताइन्। महानगरपालिका वडा नम्बर २० मा चित्रवन रंगशाला निर्माणका लागि छुट्याइएको १० विगाह जमिन रंगशाला निर्माणका लागि उपलब्ध गराउने उनी बताउँछिन्। चितवनमा रंगशाला बनाउन फाउण्डेशनलाई आग्रह गर्दै उनले भनिन्, ‘यसबारे पत्रमार्फत नै आग्रह गर्छौं, चितवनमा रंगशाला बनाइँदा आवश्यकता अनुसारको सहयोग गर्छौं।’

प्रकाशित: २० चैत्र २०७४ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App