७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया लम्बिँदै

काठमाडौं – संवैधानिक परिषद्को बैठक बस्न नसक्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया लम्बिँदै गएको छ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्ले पूर्णता पाइसके पनि बैठक बस्न सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली यसै साता भारत भ्रमणमा जाने भएकाले तत्कालै बैठक बस्ने छनक देखिंँदैन।

सर्वोच्चमा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको बर्हिगमनपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशीले कार्यसम्पादन गर्दै आएका छन्। वरिष्ठताका आधारमा जोशी नै प्रधान न्यायाधीश हुने लाइनमा छन्। न्यायपरिषद्बैठक बसी वरिष्ठताका आधारमा तीनजना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ। पहिलो नम्बरमा जोशीको नाम रहेको छ।

संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संवैधानिक परिषद्ले सिफारिस गरेपछि संसदीय समितिमा सुनुवाइका लागि पठाउनुपर्ने व्यवस्था छ।

तर, संघीय संसदमा सुनुवाइ समिति गठन हुन सकेको छैन। संवैधानिक समितिको बैठक बसी पत्र पठाएमा संयुक्त नियमावली बनाएर सुनुवाइ समिति गठन हुनसक्ने व्यवस्था छ ।तत्कालै सुनुवाइ समिति गठन हुनसक्ने अवस्था देखिँदैन।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङका अनुसार प्रधानन्यायाधीश नियुक्तिका लागि आफूले प्रक्रियामा लगेको बताए। बाँकी काम संवैधानिक परिषद्ले गर्ने भएकाले प्रधानमन्त्रीको भारत भ्रमणपछि परिषद्को बैठक बसेर नियुक्तिको सिफारिस गर्ने बताए। सुनुवाइ समिति नभएकाले सिफारिस गरेर मात्र नहुने उनले बताए।

‘संसद् कार्यविधिको भरमा चलेको छ । कार्यविधिमा संसदीय सुनुवाइको व्यवस्था गरेको छैन। संसद् चलाउनका लागि नियमावली अझैसम्म बनेको छैन,’ मन्त्री तामाङले भने। संसदीय सुनुवाइका लागि राजनीतिक तहमा परामर्श भैरहेको तामाङले बताए। ‘राज्यले धेरै नियुक्ति गर्नुपर्नेछ,’ मन्त्रीले भने,‘समितिबाटैसुनुवाइ भएर संवैधानिक निकायका पदाधिकारी समेत नियुक्ति हुने गर्छ।’

आगामी वैशाख १५ सम्म सुनुवाइ समिति गठन हुने उनको दाबी छ। सुनुवाइ समितिको आन्तरिक परामर्श लागिरहेको उनले बताए। प्रधानन्यायाधीशको नियुक्ति हुन नसक्दा राजनीतिक तथा भ्रष्टाचारसम्बन्धी महत्वपूर्ण मुद्दा पेशी सूचीमा चढ्न सकेका छैनन्। सर्वोच्च स्रोतका अनुसार राजनीतिक विषयका मुद्दा, भ्रष्टाचार सम्बन्धी मुद्दा कामु प्रधान न्यायाधीश हुँदाताका पेशीमा चढ्ने गरेका छैनन्।

प्रधानमन्त्री व्यस्त भएकाले संवैधानिक परिषद्को बैठक बस्न नसकेको प्रधानमन्त्री स्रोतले जनाएको छ। ‘भारत भ्रमणपछि बस्न सक्छ,’ स्रोतले भन्यो, ‘विदेश भ्रमण जाँदा पूर्वप्रधानमन्त्रीहरू छलफल गर्नेलगायत चटारोका कारण  अन्य काम थाती रहनेछन्।’

प्रकाशित: २० चैत्र २०७४ ०३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App