coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेल्सन मन्डेलाकी पूर्वपत्नी विन्नी मन्डेलाको निधन

विन्नी मादीकिजेला मन्डेला।

जोहान्नेसबर्ग– दक्षिण अफ्रिकाका रंगभेद विरोधी नेता नेल्सन मन्डेलाकी पूर्वश्रीमती रंगभेद विरोधी अभियानकी अभियन्ता विन्नी मादीकिजेला मन्डेलाको ८१ वर्षको उमेरमा निधन भएको उनको निजी सहयोगीले जानकारी गराएका छन्।

अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मन्डेलाकी पूर्वपत्नी विन्नी मन्डेला पनि रंगभेद विरोधी अभियानकी सक्रिय अभियन्ता रहेकी थिइन् । २७ वर्ष जेल जीवन बिताएर बाहिरिदाँ नेल्सन मन्डेला र विन्नी मन्डेलाको जोडीले हात समाएर हिँडेको विश्व चर्चित दृश्य रंगभेदविरुद्धको लगभग तीन दशक लामो संघर्षको एउटा संकेतका रूपमा आज पनि विश्वले हेरिरहेको छ ।रंगभेदविरुद्धको सक्रिय आन्दोलनमा सहभागी भएपनि पछिल्ला वर्षहरुमा भने विन्नी मन्डेलाले कानुनी तथा राजनीतिक समस्या भोगिरहेकी थिइन्।

‘लामो समयदेखिको बिरामीका कारण उनको मृत्यु भएको छ । बिरामीकै कारण उनी यस वर्षको सुरुवातदेखि नै अस्पतालमा रहेकी थिइन्,’ विन्नी मन्डेलाको पारिवारिक प्रवक्ता भिक्टर द्लामिनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।‘पारिवारिक सदस्य र उनलाई माया गर्ने मानिसका बीच उनले सोमबार दिउँसो शान्तिपूर्वक आफ्नो देह त्याग गरिन्,’ विज्ञप्तिमा जनाइएको छ।

सन् १९३६ मा पूर्वी केपमा जन्मिएकी विन्नी मन्डेला सन् १९५० को दशकमा नेल्सन मन्डेलालाई भेट्नु अघि सामाजिक कार्यकर्ताका रूपमा काम गर्ने गर्थिन् । उनीहरुले कुल ३८ वर्ष वैवाहिक जीवन बिताए जसमा नेल्सन मन्डेलाको लगभग तीन दशक लामो जेल जीवन पनि रहेको छ । नेल्सन मन्डेला जेल परेपछि उनले सञ्चालन गरिरहेको रंगभेदविरोधी अभियान विन्नी मन्डेलाले सम्हालेकी थिइन् ।

नेल्सन मन्डेला जेल परेको पाँच वर्षपछि विन्नीलाई पनि अल्पसंख्यक गोरा नेतृत्वमा रहेको सरकारले बन्दी बनाएको थियो । कुनै समय संघर्षको प्रतिमाका रूपमा लिइने विन्नी मन्डेला पछिल्ला समय भने विवादमा तानिएकी थिइन् । सन् १९८० को दशकमा उनले संदिग्ध सूचनादाताको घाँटीमा बलिरहेको टायर राखेको र आतंकको सिर्जना गरेको आरोप खेपेकी थिइन्।

एक जना १४ वर्षे लडाकु स्टमपी सेइपेईलाई अपहरण गरी हत्या गरेको अभियोगमा उनलाई ६ वर्ष जेल सजायसमेत तोकिएको थियो । उनले जहिले पनि उक्त आरोप अस्वीकार गर्दै आइन् र उक्त सजाय क्षतिपूर्तिमा घटाइएको थियो । उनीमाथि लागेको आरोपमा सधैं उनको साथमा उभिएका नेल्सन मन्डेला सन् १९९० को फ्रेबुअरी महिनामा जेलमुक्त भएका थिए।

तर त्यसको दुई वर्षपछि नै उनीहरुको वैवाहिक जीवन कमजोर हुँदै गयो र सन् १९९६ मा उनीहरुले सम्बन्धविच्छेद गरे । नेल्सन मन्डेलासँग सम्बन्धविच्छेद गरे पनि उनले मन्डेलाको थर कायम नै राखिन् र उनीसँगको व्यक्तिगत सम्बन्धलाई पनि कायम नै राखेकी थिइन् ।


 

 

प्रकाशित: २० चैत्र २०७४ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App