काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उचित समयमा आएपछि पार्टी एकता हुने बताएका छन्। एमाले मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा एमाले पार्टी एकीकरण ढिलाइ वा हतारमा गर्ने दुवै पक्षमा नरहेको बताए।
‘पार्टी एकताका विषयमा विभिन्न हल्ला आएका छन्। हल्लाका पछि नलाग्न अनुरोध गर्छु। एमाले र माओवादी केन्द्र्र तुरुन्तै एकताबद्ध हुनेछन्,’ ओलीले भने, ‘केहीले भनेका छन् एकता भारत भ्रमणभन्दा अघि कि पछि ? एकता गर्न सके कि सकेनन्? एकता एउटा प्रक्रियाबाट हुने कुरा हो। भारत भ्रमणअघि पनि हुनसक्छ पछि पनि हुनसक्छ। यो हतार र ढिला गर्ने विषय होइन। ठिक समयमा पार्टी एकता हुन्छ।’ तर उनले ठिक समय कहिले हो भन्नेबारे केही बताएनन्। तर उनले भारत भ्रमणसँग एकताको विषय जोड्न नमिल्ने बताए्।
नेकपा माओवादी केन्द्रले यसअघि प्रधानमन्त्रीको भारत भ्रमणअघि नै पार्टी एकता गर्ने निर्णय गरेको थियो। तर दुवै पक्षबीच विभिन्न कमिटीहरुको सदस्यहरुका भागबन्डा नमिल्दा एकता प्रक्रिया टुंगो लाग्ने दिन अन्योलमा परेको छ।
कार्यक्रममा ओलीले समाजवाद उन्मुख विकास गर्ने भन्दा गरिबले खान पाउने भए भने कोही कोही अत्ताल्लिएको बताए।
‘समाजवाद उन्मुख विकास भन्दा कोही कोही साथीहरु अब गरिबले खान पाउने भए भनेर अत्तालिएका छन्। नेपालमा अझै ३६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन्,’ ओलीले भने, ‘यसलाई शून्यमा पु-याउने भए भन्ने ठानेर अत्तालिएका हुन्। गरिबहरुले धनीसमान गाडी चढेर हिँड्न नहुने? बल्नेहरुको चुलो बेलेकै, चुलो नबल्नेहरुको पनि बल्नुपर्छ भन्दा चुलो बल्नेहरुलाई पिर किन?’
कार्यक्रममा पत्रकार कमल कोइरालालाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो। प्रत्येक वर्ष मदन भण्डारीको जन्मदिनका छेको पारे जेठमा प्रदान गरिने पुरस्कार मंगलबार प्रदान गरिएको हो। ‘स्थानीय चुनाव र प्रतिनिधिसभा तथा प्रदेशसभाका चुनावका कारण पुरस्कार वितरण कार्यक्रम धकेलिँदै आयो,’ एमाले प्रचार विभागका प्रमुख तथा केन्द्रीय सचिव योगेश भट्टराईले भने। पुरस्कारको राशि ५० हजार ५ सय ५५ रहेको छ।
प्रकाशित: २० चैत्र २०७४ ०२:५२ मंगलबार