coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डढेलोको चपेटामा सामुदायिक वन

धादिङको गोगनपानीमा सुख्खा रहेको सामुदायिक वन । तस्बिर : सरिता/नागरिक

धादिङ – सबैभन्दा बढी सामुदायिक वन रहेको धादिङका वनमा गत वर्षको तुलनामा यस वर्ष धेरै ठाउँमा डढेलो लागेको छ। गर्मी मौसमको सुरुवातसँगै सामुदायिक वनक्षेत्र डढेलोको चपेटामा परेका हुन्।

जिल्ला वन कार्यालय धादिङका अनुसार जिल्लामा ९२ हजार ८ सय ६४ हेक्टर वन रहेका छन्। तीमध्ये ३० हजार २ सय ४३ सामुदायिक वन, १८ हजार २७ कबुलियती वन र ६० हजार पाँच सय सरकारद्वारा व्यवस्थित वन रहेका छन्। यसमध्येमा पनि सामुदायिक वन बढी डढेलोको चपेटामा छन्। फागुन महिना सुरुसँगै वनमा डढेलो लागेको घटना बढेका छन्। सुख्खा हुनु र समयमै पानी नपर्नाले डढेलोको जोखिम बढाएको छ। गत वर्ष समयमै वर्षा भएका कारण वनमा कम मात्रै डढेलो लागेको जिल्ला वन कार्यालयले जनाएको छ। अहिले धादिङसहित देशभरका ३२ जिल्लाका एक सय ७७ वनमा आगलागीका घटना भएका छन्।

डढेलो नियन्त्रणका लागि भनेर आएका स्रोतसाधन सामुदायिक वनहरुलाई नै बाँडिदिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत श्यामबहादुर रिमालले जानकारी दिए। ‘डढेलो नियन्त्रणका लागि जिल्लामा आठवटा इलाकामा इलाकास्तरीय डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको छ,’ रिमालले भने, ‘सम्भावित आगलागीबाट बच्न आफैं सतर्क हुनु आवश्यक छ।’ विभिन्न सञ्चारमाध्यममार्फत पनि डढेलो नियन्त्रणका लागि अभियान थालिएको उनले बताए । गोठाला लगायत अन्य पशुपालन गर्ने मानिसले घाँस पलाउँछ भन्दै जंगलमा लगाएका आगोका कारण जंगल सखाप हुन्छ।

धादिङमा भने विगत केही वर्षदखि लगातार जंगलमा लागेको डढेलोका कारण जंगलमा पाइने धेरैजसो बहुमूल्य र महत्वपूर्ण जडिबुटीहरुसमेत लोप भइसकेको वन क्षेत्रमा कार्यरत विज्ञहरुको भनाइ छ। यसै गरी चराचुरुंगीको बासस्थान खतरामा पर्नुका साथै जंगलमा पाइने घस्रेर हिँड्ने जीवजन्तुको अस्तित्वसमेत संकटमा परेको छ। नेपालमा वन डढेलो प्राकृतिक कारणमात्र नभएर मानवीय कारणले पनि लाग्दै आएको छ। वन पैदावार संकलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण रहेका छन्। जलवायु परिवर्तनका कारण पृथ्वीको बढ्दो तापमानले पनि डढेलोको समस्या झन् जटिल बनाएको छ।

हरेक वर्ष वनमा डढेलो लाग्नबाट बचाउन विभिन्न सावधानी अपनाउने गरेका छन्। जिल्ला वन कार्यालय धादिङले हरेक वर्ष गर्मीयाम लाग्नेबित्तिकै डढेलो नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम भए पनि त्यसले कुनै प्रभाव पारेको छैन। दैनिकजसो धादिङका समुदायिक वनहरुमा डढेलो लागिरहँदा जिल्ला वन कार्यालयले डढेलो नियन्त्रणका लागि प्रचारप्रसारबाहेक कुनै पहल कदमी गर्न सकेको छैन।

 अहिले धादिङको कुम्पुर, गजुरी, सलाङ, सल्यानकोट, मैदीलगायतका ठूला सामुदायिक वनमा डढेलो लागेको छ।

प्रकाशित: २० चैत्र २०७४ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App